भर्खरै :

शासकहरू जिम्मेवार नहुँदा देशको स्थिति दयनीय

शासकहरू जिम्मेवार नहुँदा देशको स्थिति दयनीय

विश्वमा शान्तिको सन्देश छर्न साम्राज्यवादी देश अमेरिका र विस्तारवादी देश भारतका जनता नै जाग्नुपर्छ, उठ्नुपर्छ र सङ्घर्षमा जुट्नुपर्छ । संसारका स्वतन्त्र र सार्वभौम मुलुकमा विध्वंस मच्चाउने, नरसंहार गर्ने र सामुदायिक भवन खरानी पार्ने काममा संरा अमेरिका र त्यसको पछि लाग्ने इजरायलजस्ता अरू साम्राज्यवादी देशहरू अगाडि छन् । अरू देशलाई कङ्गाल बनाउने, भोकमरी बढाउने र अर्थतन्त्र तहसनहस गर्ने कामका दोषी साम्राज्यवादी देशहरू नै हुन् । साम्राज्यवादी देश संरा अमेरिकाले क्युवा र प्रजग कोरियामा गरेको नाकाबन्दी फिर्ता लिएको छैन । दर्जनौँ देशमा शस्त्रअस्त्रसहित अमेरिकी सेना तैनाथ गरिएको छ । यसकारण, अमेरिकाकै कारण संसारका मुलुकमा अशान्त भइरहेको हो† अर्थतन्त्र ध्वस्त भइरहेको हो । गरिबी देश बढिरहेको हो । अहिले नेपालमा पनि एसियाकै गरिब देश बनेको समाचार सञ्चारमाध्यममा आइरहेको छ ।
विदेशी शक्ति राष्ट्रको उठबसमा नेपालका शासकहरू बसे† उनीहरूसँग असमान सन्धि सम्झौता गरे । नेपालको प्रगति गर्न आफ्नो बुद्धि, विवेक प्रयोग गरिएन । देशको स्रोत र साधन प्रयोग गरी कलकारखाना खोल्ने, रोजगारी दिनेतर्फ कहिल्यै ध्यान दिइएन । शासक या ठूला दलका नेताहरू सत्ताको वरिपरि घुमिरहे या सत्ताकेन्द्रित राजनीतिमा लागिरहे । देशको विकासमा बाधा हाल्ने देशको पछि नेपालका शासकहरू लागेकै कारण नेपाल विकासमा पछि परेकोमा शङ्का छैन । प्रजातन्त्र स्थापना भएको लामो दशकसम्म नेपालले किन प्रगति गर्न सकेन ? जनतालाई राहत हुने काम किन गर्न सकेन ? लामो समयसम्म सरकारमा रहेका दलहरूले किन एउटा राम्रो या उल्लेखनीय काम गर्न सकेनन् ? के यो देशको विडम्बना होइन ? हालसम्मका सत्तासीन दलहरू पद र पैसामुखी राजनीतिमा लागेको कारण देशले यो दुर्दशा भोग्नुपरेको हो ।
देशमा आर्थिक असमानता बढिरहेको छ, गरिबी घटेको छैन । बेरोजगारी समस्या उस्तै छ । आन्तरिक उत्पादन बढेको छैन । स्वदेशी रकम विदेसिरहेको छ । देशको बजेट विदेशी ऋणमा चलेको छ । राष्ट्रिय पुँजीपतिवर्गलाई परिचालन गरेर देशका उद्योगधन्दा तथा योजनामा लगानी बढाउनुपर्नेमा विदेशी लगानी बढाउने प्रयास सरकारले गरिरहेको छ । विदेशी लगानी भित्याएर विदेशी ऋण लिएर देश कसरी आत्मनिर्भर हुन्छ ? जनताको जीवनस्तर कसरी बढ्छ ?
देशलाई जोगाउने, विकास गर्ने जिम्मा शासकहरूको हो । शासकहरू जिम्मेवार नहुँदा देशको स्थिति दयनीय अवस्थामा पुगेको हो । विश्वका कमजोर आर्थिक अवस्था भएका सय राष्ट्रहरूको सूचीमा नेपाल ४२ औँ स्थानमा परेको जानकारी प्रकाशमा आएको छ । देशमा सरकारले राम्रो या असल काम किन गर्न सकेन ? यसका बाधक को को हुन् ? कसका कारण देशले काँचुली फेर्न सकेन ? के यसका दोषी सत्तारूढ दलहरू होइनन् ? यसकारण, मुलुकको नेतृत्व गर्ने सत्तासीन दलका नेताहरू सच्चिनुपर्छ । सत्तासीन दलका नेता र मन्त्रीहरूले विगतको कमी कमजोरी सुधारेर अघि बढ्नुपर्छ । भागबन्डाको राजनीतिमा नलागी मुलुकको विकासमा ध्यान दिनुपर्छ । देशमै आन्तरिक उत्पादन बढाउन नसकेसम्म सत्तारूढ नेता र मन्त्रीहरू सक्षम, योग्य, इमानदार, असल, दूरदर्शी, देशभक्त र जिम्मेवार नभएसम्म देशको मुहार फेर्न सकिँदैन । मुलुक गरिबको सूचीबाट मुक्त हुन सकिँदैन । के अब पनि शासकहरू भ्रष्टाचारकेन्द्रित राजनीतिमै अल्झिरहने ? द्रव्य स्वार्थको यो मनोरोग शासक दलहरूमा हट्ने कहिले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *