भर्खरै :

कर्मचारीहरूले जनताको सेवाका साथै सहयोगी भावना विकास गर्नुपर्ने

कर्मचारीहरूले जनताको सेवाका साथै सहयोगी भावना विकास गर्नुपर्ने

भक्तपुर, २ मङ्सिर । नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका समितिको आयोजनामा क्यान्सर पीडित र मुटुरोग पीडित नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारीहरूबाट एक दिनको तलब बराबरको सङ्कलित सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले सङ्कटको समयमा सहयोग गर्नु असल मानवीय गुण भएको बताउनुभयो । “कर्मचारीहरूले एक दिनको तलब जम्मा गरी पीडितहरूलाई सहयोग गर्ने कामले तिनीहरूको आत्मबल बढ्ने विश्वास व्यक्त गर्दै उहाँले भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्य उपचार सहजरूपले गर्न ख्वप अस्पताल स्थापना उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सहयोग कार्यक्रमले पीडितहरूको हौसला बढ्ने भएकोले कर्मचारीहरू हरेक क्षेत्रमा नमुनाको रूपमा सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नबाट बच्न सचेत हुन स्वास्थ्यसम्बन्धी अध्ययन गरी व्यवहारमा उतार्नु राम्रो हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुर नगरपालिकाका कर्मचारीहरू नगरवासीहरूको सेवा र कर्मचारीहरूको सहयोगको लागि सधँै तत्पर रहेको बताउनुभयो । उहाँले सामूहिक सहयोगको भावनाबाट प्रेरित भई कर्मचारीहरूबाट सहयोग सङ्कलन गरी सदाचार पद्धतिको पारदर्शिताअनुरूप क्यान्सर पीडित र मुटुरोग पीडित कर्मचारीहरूलाई सहयोग हस्तान्तरण कार्यक्रम गरेको बताउनुभयो । कार्यक्रममा एशोसियसनका सहसचिव विकास प्रजापतिले पनि पीडितहरूको स्वास्थ्य लाभको कामना गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *