भर्खरै :

डकर्मीहरूमाझ अन्ना लुइस्ट्रङबारे अन्तरक्रिया

डकर्मीहरूमाझ अन्ना लुइस्ट्रङबारे अन्तरक्रिया

भक्तपुर, ७ मङ्सिर । नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा साम्राज्यवादविरोधी, शोषितपीडित जनताको न्यायपूर्ण आन्दोलन र क्रान्तिको सत्यतथ्य समाचारलाई विश्वभर प्रचारप्रसार गर्ने अन्ना लुइस्ट्रङको १३८ औँ जन्म दिवसको अवसरमा डकर्मी मजदुरहरूमाझ अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका प्रतिनिधि एन.बी. ले समाजवादी क्रान्तिकारीहरूको निम्ति अन्ना लुइस्ट्रङ एक प्रेरणाको स्रोत हुनुहुन्थ्यो भन्नुभयो ।
उहाँले अन्नाको योगदानबारे चर्चा गर्दै भन्नुभयो, “तत्कालीन समाजवादी देश सोभियत सङ्घ (यूएसएसआर) रूस तथा जनवादी गणतन्त्र चीनले गरेको द्रुत्ततर परिवर्तनबारे युरोप र अमेरिकालगायत विश्वका जनतामाझ पु¥याउने कार्य उहाँले गर्नुभयो । विश्व सर्वहारा वर्गका महान् नेता लेनिनले सन् १९१८ दिनुभएको भाषण २० हजार प्रति भन्दा बढी अङ्ग्रेजी भाषामा प्रकाशित गरी अमेरिकी महादेश र पश्चिम युरोममा प्रचार गर्नुभयो । चिनिया कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङले यनानमा बसी जापान र कोमिङताङविरूद्ध सङ्घर्ष गरी कसरी चीनमा समाजवादी क्रान्ति गर्नुभयो भन्नेबारे युरोप, अमेरिका महादेशलगायत विश्वसामु प्रचार गर्ने कार्य अन्ना लुइस्ट्रङले गर्नुभयो ।”
अन्ना लुइस्ट्रङले एक अमेरिकी नागरिक भएर पनि अमेरिकी साम्राज्यवादले गरिब तथा साना देशहरूमाथि आक्रमण गरी त्यस देशका जनताको हत्या, हिंसा र अत्याचारको विरोध गर्नुभएको उहाँले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका सदस्य विक्रम ढुकुछुले पुँजीवादी गणतन्त्रमा कामदार जनताको हित नहुने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा डकर्मी सङ्घ जिल्ला समितिका पुण्यराम न्हुछे, रामसुन्दर सुवाल र सुनिल राजचलले अन्ना लुइस्ट्रङको योगदानबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *