भर्खरै :

नेपाली जनता प्रतिगामीको पक्षमा छैनन्

नेपाली जनता प्रतिगामीको पक्षमा छैनन्

कुनै पनि सच्चा कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीका नेताहरू अन्त्य भएको निरङ्कुश पञ्चायती व्यवस्था या ‘राजतन्त्र’ पुनःस्थापना गर्न चाहँदैनन्, पुनः स्थापना गर्न लाग्दैनन् । कुनै बेला कुनै कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई धोका दिएर राजतन्त्रको पक्षमा लागेको आधारमा र कुनै कम्युनिस्ट भनिने एक दुईजना नेताहरूले ‘राजा’ को पाउ मोल्दैमा सबै कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीका नेताहरूलाई उही दृष्टिले हेर्नु दृष्टिदोषबाहेक अर्को हुनेछैन । समाजवादी व्यवस्था स्थापनाको निम्ति कम्युनिस्ट पार्टी खोलेका सच्चा कम्युनिस्ट नेताहरूलाई ‘राजावादी’ को सूचीमा राख्नु या ‘राजा’ ल्याउन चाहन्छन् भनी फुक्नु झूट हो । पार्टी स्थापनादेखि सामन्तवादको अन्त्य गर्न लागेका कम्युनिस्ट नेताहरूलाई देशमा ‘राजा’ ल्याउन चाहन्छन् भनी जनमत तयार गर्ने काम गर्नु बेइमानी नै हो ।
कुनै पनि दलका नेता, राजनीतिक विश्लेषक, लेखक, विज्ञ या अभियन्ताले आफ्नो स्वार्थ पूरा गर्न, आन्दोलन सफल पार्न झूटको खेती गर्नु जनतालाई धोका दिनु हो । झूटको खेती गरेर आन्दोलनमा मान्छे जुटाउने प्रयास एकक्षणको लागि विश्वासिलो भए पनि त्यो अन्ततः झूट रहेछ भन्ने कुरा जनताले थाहा पाउनेछन् र झूटको खेती गर्ने व्यक्तिहरू जनताबिच उदाङ्गिने छन् । व्यक्तिको नेतृत्वमा भएको आन्दोलनले देशलाई ठाउँमा पु¥याउन सक्दैन, देश विकास गर्दैन । पटक पटक सरकारको नेतृत्व गर्ने ठूला दलहरूले देशलाई दिशा निर्देश गरेर जनतालाई राहत दिन नसकेको स्थितिमा व्यक्तिको नेतृत्वमा भएको आन्दोलनले देश र जनताको निकास दिन सक्दैन । व्यक्तिको नेतृत्वमा भएको आन्दोलन निष्कृय बनाउन, असफल बनाउन या प्रतिकार गर्न कुनै दलको वर्गीय सङ्गठनले अर्को आन्दोलन गर्नुपर्ने स्थिति नभएको भनाइ पनि छ ।
सरकारलाई सही ठाउँमा ल्याउन चाहने, सरकारको कमी कमजोरी औँल्याएर खबरदारी गर्ने कुनै अभियन्ता या अभियन्ताको नेतृत्वमा भएको कुनै प्रदर्शनकारीहरूले आपत्तिजनक आरोप लगाउँदैनन् । ‘गणतन्त्रवादीहरूलाई लखेट्नुपर्छ’, ‘गणतन्त्रवादीहरू चोर हुन्’ जस्ता नारा लगाएर राजतन्त्र पुनःस्थापना हुँदैन या गणतन्त्र अन्त्य हुँदैन । सामन्तवाद या राजतन्त्र जनताले फालेका हुन् । जनताले फालेको राजतन्त्रलाई व्यक्तिले नेतृत्व गरेको आन्दोलनले फर्काउने कुरा दुःसाहस नै हो । व्यक्तिले नेतृत्व गरेको अभियानमा अनेक सोच र विचारका मानिस सहभागी हुने हुँदा आन्दोलन संयमित नहुन सक्छ या आन्दोलनलाई निश्चित दिशामा लान सकिँदैन । राजतन्त्र फर्काउने कुरा प्रतिगामी कदम हो । नेपाली जनता प्रतिगामीको पक्षमा छैनन् ।
वर्तमान सरकार ढाल्न चेतावनी दिने युवा सङ्घ आबद्ध दलले पनि देशमा पटक पटक सरकारको नेतृत्व गरेकै हो । तर, यहाँ भ्रष्टाचार अन्त्य भएन, भ्रष्टाचारी या अपराधीहरू कारबाहीमा परेनन्; सुशासन भएन, विधिको शासन भएन । यो कुरा नेपाली जनतासामु छर्लङ्गै छ । कुनै दल या सरकारले कमजोरी गरेको छ भने त्यसको विरोध गर्नुपर्छ, निन्दा गर्नुपर्छ र खबरदारी गर्नुपर्छ । तर, त्यसको दोष सरकारमा सामेल नभएका दल र दलका नेताहरूलाई दिनु उपयुक्त होइन । कुनै गणतन्त्रवादी दलले धोका दियो, बेइमानी ग¥यो, सही ढङ्गले देश चलाएन भनेर सबै गणतन्त्रवादीको विरोध गर्नु बुद्धिमानी होइन । कुन दलको के सिद्धान्त र विचार हो, कुन वर्गका जनताको प्रतिनिधित्व कुन दलले गरिरहेको छ भन्ने कुराको कुनै ख्यालै नगरी आँखा चिम्लेर टिप्पणी गर्नु ठीक होइन । कुनै सिद्धान्त र विचारबाट निर्देशित नभएका आन्दोलनकारीहरू आक्रोशित हुँदैमा, मनपरी बोलेर सडकमा उफ्रँदैमा न आन्दोलन सफल हुन्छ, न व्यवस्था ढल्छ न त गणतन्त्र नै अन्त्य हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *