सामाजिक भनिने इन्टरनेट सञ्जालबाट समाजमा धेरै थरी परिवर्तन आएका छन् । संवाद र सञ्चारको निम्ति एक दसकअघि जति प्रतिकूलताहरू थिए, छोटो कालखण्डमा प्रविधिको विकासले आपसी संवादमा धेरै सहजता ल्याएको छ । सञ्चारमा आएको यो फड्कोले मानिसको चिन्तन र जानकारीको तहमा पनि ठूलो बदलाव निम्त्याएको छ । सूचना सञ्चारका हिसाबमा संसार निकै साँघुरो बनिसकेको छ । संसारका धेरै नउघारिएका पाटा तिनै सञ्जालमार्फत संसारले थाहा पाए । भौतिक रुपमा देख्न नसकिए पनि संसारका धेरै ठाउँ, रहस्य र ज्ञान तिनै सञ्जालमार्फत मानिसले साक्षात्कार गरे ।
तर, ती सञ्जालहरू आजभोलि अपराध र असामाजिक गतिविधिको थलो पनि बनिरहेका छन् । अपराधमा आजभोलि कुनै न कुनै रुपमा इन्टरनेट जोडिएर आउने गरेका छन् । अपराध अनुसन्धानको एउटा अपरिहार्य क्षेत्र मोबाइल र इन्टरनेट सञ्जाल बनेका छन् । विद्युतीय सञ्जालको प्रयोगले आफूलाई क्रमशः एक्लो र असामाजिक बनाउँदै लगेको अनुभूति धेरै प्रयोगकर्ताले गरेको अनुुसन्धानहरूले देखाएका छन् । त्यसले मानिसलाई अपराध गर्न उत्पे्ररित गरेको अनुसन्धानको निचोड छ ।
राजनीतिक क्षेत्रमा पनि इन्टरनेट सञ्जालले धेरै प्रकारका प्रभाव पारेका छन् । अमेरिकामा भएको वाल स्ट्रिट कब्जा आन्दोलनदेखि अरब देशमा भएका आन्दोलनहरूमा कुनै न कुनै रुपमा ती सञ्जालले भूमिका खेलेका छन् । नेपालमै पछिल्लो दसकमा भएका राजनीतिक घटनाक्रममा इन्टरनेट सञ्जालको भूमिकालाई कसैले निकार्न सक्दैन । हालै गायक पशुपति शर्माको गीत पनि सञ्जालहरूमार्फत व्यापक प्रचारमा गएपछि सत्तासीन दलका युवाले त्यसमा रोक लगाए अर्थात् विद्युतीय सञ्जालमा शक्ति भएको कुरा आज कसैले अस्वीकार गर्नसक्दैन । त्यही शक्तिकै कारण आज केही देशका सरकारले आफ्नो प्रतिकूलका सञ्जालहरूलाई निषेध गर्दै आएका छन् । अमेरिका र युरोपेली देशले आफ्नो देशबाट चल्ने सञ्जालमार्फत अन्य देशको तथ्याङ्क चोरी गर्दै आएका छन् । शक्ति देशहरूबीच सञ्जालमार्फत डाटा चोरी गरेको भन्दै आपसमा आरोप प्रत्यारोप पनि हुने गरेका छन् । त्यसकारण इन्टरनेट सञ्जालको आयाम विदेशिएको परिवारका सदस्यसँग प्रत्यक्ष कुराकानी गर्नु वा कसले के के गरिरहेका छन् भन्ने कुरामा मात्र सीमित रहेको देखिंदैन । संसारमा कसको प्रभाव बलियो बनाउने भन्ने प्रश्नसँग आज ती सञ्जाल जोडिएका छन् ।
प्रविधिको विकाससँग मानव समाजले हासिल गरेको यो उपलब्धिलाई अब नकार्ने तहमा कोही पनि जान सक्दैन । त्यस्तो विचार आफैं प्रतिगामी सोच हो । तर, इन्टरनेट सञ्जाल आफैं सञ्चार र संवादसँग मात्र सीमित नभई विश्व शक्तिको प्रतिस्पर्धा, सामाजिक मनोविज्ञान र राजनीतिसँग जोडिएको हुनाले यसको प्रयोगमा संवदेनशीलता अपरिहार्य छ । इन्टरनेट सञ्जाललाई मानव समाजको प्रगतिको निम्ति, वैयक्तिक ज्ञानको घेरा फराकिलो बनाउन र रचनात्मकताको लागि प्रयोग गर्नुले समाजलाई अग्रगति दिनेछ । तर, गैरजिम्मेवार तरिकाले त्यसको प्रयोगले समाजमा नकारात्मक प्रभाव पार्नेछ ।
कुनै पनि सरकारले इन्टरनेटको जिम्मेवार र रचनात्मक प्रयोगको लागि नागरिकलाई उत्प्रेरित गर्नुपर्छ । तर, अभिव्यक्ति स्वतन्त्रताको निहित भावनालाई कुनै पनि सरकारले बन्देज लगाउन मिल्दैन । हिजो निरङ्कुश सत्ताले जसरी अखबार प्रकाशन गर्न र राजनीतिक दल खोल्न प्रतिबन्ध लगाउने गथ्र्यो, आजको इन्टरनेट सञ्जालमा रोक लगाउन खोज्नु समान प्रकृतिको चिन्तनको उपज हो । नेपाल सरकारले इन्टरनेट सञ्जाल सञ्चालनसम्बन्धी विधेयक संसदमा ल्याएको छ । विधेयकको उद्देश्य जनताको अभिव्यक्ति स्वतन्त्रतामाथि निषेध गर्न नभई प्रविधिको रचनात्मक प्रयोगलाई उत्साहित गर्नु जरुरी छ । नागरिक स्वयम्ले पनि इन्टरनेट सञ्जाललाई कसरी प्रयोग गर्दा जीवन अझै सहज र सुन्दर बनाउन सकिन्छ भन्नेबारे चिन्तन गर्न आवश्यक छ । नागरिकको जिम्मेवारीपूर्ण भावनाले समाजलाई सभ्य बनाउने हो । इन्टरनेट सञ्जाललाई विकृत आविष्कारको रुपमा नभई मानिसले आफ्नो उत्पत्तिकालदेखि गर्दै आएको आविष्कारको एउटा सिलसिलाको रुपमा ग्रहण गर्न जरुरी छ ।