अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
जनताको चाहना र आवश्यकता नाना, छाना र दाना हो या काममामको व्यवस्था हो । योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त भयो भने जीवन सुनिश्चित हुन्छ या बेरोजगारी समस्या हुँदैन । आफ्नै देशमा काममामको व्यवस्था हुन्छ भने देशका युवा युवतीहरू कामको निम्ति बाहिर जाँदैनन् । सबै विषय यही पढ्ने व्यवस्था हुन्छ भने बाहिर पढ्न जानु आवश्यक हुँदैन । हरेक राजनीतिक दलको उद्देश्य त्यस्तो व्यवस्था ल्याउने खालको हुनुपर्छ । जनताको जीवन सुरक्षित छैन, रोजीरोटीको व्यवस्था हुँदैन, व्यापार व्यवसाय गर्ने, उद्योग खोल्ने वातावरण हुँदैन भने एकल सरकार भएरै के गर्ने ? मुख्य सवाल कुनै दलको एकल सरकार, बहुमतको सरकार, संयुक्त सरकार या अल्पमतको सरकार होइन, जनताको चाहना र आवश्यकता हो† देश जोगाउने र बनाउने हो, देश विकास गरेर विश्वमा चिनाउने हो । निरङ्कुश पञ्चायती व्यवस्था फालेपछि गठित सरकारले देश र विदेशमा चिनाउने या देखाउने के काम गरेको छ र ? देशमा समाजवादी राज्य स्थापनातर्फ लाग्नुपर्ने ‘कम्युनिस्ट’ हरू सत्तामा कसरी पुग्ने या सरकारको नेतृत्व गर्नेतर्फ केन्द्रित छन् । कम्युनिस्ट भनिने ठूला दलहरूको ध्यान जसरी भए पनि सरकारको नेतृत्व गर्ने या सरकारमा सामेल हुने हो । नाम कम्युनिस्ट पार्टी तर काम सबै पुँजीवादी पार्टीको । निर्वाचनमा पनि भागबन्डा, सरकारको नेतृत्व गर्न पनि भागबन्डा । साँच्चै देशमा गणतन्त्र स्थापनापछिको सरकार भागबन्डाको राजनीतिमै बितेको देखिन्छ । भागबन्डा गरेर निर्वाचनमा नलडे, भागबन्डा गरेर सरकारमा नगए दल पत्तासाफ होला भन्ने चिन्ता छ उनीहरूलाई । ठुला दलका नेताहरूमा निर्वाचनमा एक्लाएक्लै लड्ने आँट छैन । ती दलका नेतामा पैसा नबाँडिकन, लोभलालच नदेखाइकन, झूटको खेती नगरिकन, डर धम्की नदिइकन सिद्धान्त र विचारको आधारमा राजनीति गर्ने हिम्मत छैन । नेमकिपाले झैँ अरू दलले पनि सिद्धान्त र विचारको इमानदारीपूर्वक राजनीति गरेको भए ती दलहरूको हैसियत थाहा हुन्छ । जालझेल गरेर, पैसाको खोलो बगाएर, धाक धम्की दिएर, फूटको राजनीति गरेर, भागबन्डा गरेर दल ठुलो भएको धाक लगाउने ? ठुलो दल भनेर अरूलाई हेप्ने ? ठुलो दलले देश र जनताको निम्ति ठूलो काम गरेर देखाउनुप¥यो नि ! व्यवस्था परिवर्तन भएसँगै देश विकास गरेर जनतालाई राहत दिनुप¥यो नि ! कम्युनिस्टहरू समाजवादी व्यवस्था स्थापना गरेर बहुमत जनताको पक्षमा ऐन कानुन बनाउन लाग्नुपर्छ । कम्युनिस्टको हैसियत जोडेर कम्युनिस्टको खोल ओढेर सरकारमा गएका दलहरूले कम्युनिस्ट पार्टीको उद्देश्य र विचारअनुसार के काम गरे ? के कम्युनिस्ट पार्टी भनेको जनतालाई देखाउने दाँत हो ? काम गरेर देखाउनुपर्दैन ? यहाँ काम र विकास गर्न होइन दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न सत्ताको चलखेल भइरह्यो । साम्राज्यवादी देश अमेरिकाले संसारका स्वाधीन देशमाथि जे पनि गर्न छुट पाएजस्तै यहाँ ठूला दलका नेताहरूले जे पनि गर्न थालेका छन् । उनीहरूमा समुन्नत समाजवाद स्थापना गर्ने चिन्ता र चासो होइन पुँजीवादी व्यवस्थाको पक्षपोषण गर्ने र त्यसमा कसरी टाँसिरहने भन्नेतर्फ चिन्ता छ । यहाँ विकासको नाउँमा भ्रष्टाचार र अनियमितता भइरहेको छ । भ्रष्टाचार र अनियमिततामा शासक दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरू फसेका हुन्छन् । कालाबजारी, भ्रष्टाचारी, कमिसनखोर, अपराधीहरू कारबाहीमा पर्दैनन् । तिनीहरू नै शासकहरूको वरिपरि रमाइरहेका हुन्छन् । जनता सुरक्षित छैनन् । चोरी चकारी उस्तै छ । हत्या, लुट, बलात्कार, बेचबिखन, बेपत्ता पार्ने काममा नियन्त्रण भएको छैन । ढिलासुस्ती यथावत छ । ठुला दलका नेताहरूबिच सैद्धान्तिक बहसभन्दा हिलो छ्यापाछ्याप हुन्छ । एकले अर्काको खुट्टा तानातान गर्छ । कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार जनतामाझ पु¥याएर, समाजवाद र पुँजीवादको भेदबारे जनतालाई सुसूचित पारेर, सङ्गठित गरेर समाजवाद ल्याउनेतर्फ लाग्नुपर्ने कम्युनिस्ट पार्टीहरू खाली सत्तामुखी राजनीतिमा लागेर कसरी देश समृद्ध बन्छ ? कम्युनिस्ट पार्टीहरूले नेका र अन्य पार्टीभन्दा सिद्धान्त, विचार र व्यवहारमा फरक छ भनेर देखाउनु पर्दैन ?
Leave a Reply