भर्खरै :

पुजारी मठ पुनःनिर्माण कार्यमा जनताको अपनत्व हुनुपर्ने

पुजारी मठ पुनःनिर्माण कार्यमा जनताको अपनत्व हुनुपर्ने

भक्तपुर, २१ मङ्सिर । भक्तपुर नगरपालिका वडा नं. ९ दत्तात्रयस्थित पुजारी मठ पुनःनिर्माण विषयमा सम्बन्धित सरोकारवाला र स्थानीयबिच छलफल कार्यक्रम बिहीबार धातुकला सङ्ग्रहालय परिसरमा सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पुजारी मठ पुनःनिर्माण कार्य पारदर्शी ढङ्गबाट सम्पन्न गर्ने र पुनःनिर्माण कार्यको दौरानमा मठ भत्काउने क्रममा भेटिने प्रत्येक वास्तु र सम्पदाहरूको अभिलेखीकरणका साथै महत्वपूर्ण सम्पदाहरू सुरक्षित व्यवस्था गर्ने विषयमा छलफल भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले विश्व सम्पदा क्षेत्रमा अवस्थित प्रसिद्ध मयुर झ्याल भएको पुजारी मठ पुनःनिर्माण सबैको साझा चासो र सरोकारको विषय भएको बताउनुभयो ।
मठ पुनःनिर्माण कार्य त्रुटीरहित र पारदर्शी ढङ्गले सम्पन्न गर्न सबै सरोकारवाला निकायहरू क्रियाशील हुनुपर्ने बताउँदै उहाँले सम्पदा पुनःनिर्माणजस्तो संवेदनशील काममा ठेकेदारहरूलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।
सम्पदा पुनःनिर्माण आफँैमा एउटा चुनौतीपूर्ण विषय भएको बताउँदै उहाँले पुजारी मठ पुनःनिर्माण कार्यमा स्थानीय जनताको अपनत्व रहने गरी मौलिक शैलीमा पुनःनिर्माण कार्य अगाडि बढाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरको सम्पदा पुनःनिर्माणको नियमित अनुगमन भइरहेको बताउँदै सम्पदा पुनःनिर्माण कार्यमा मौलिकता संरक्षण सँगसँगै गुणस्तरीय निर्माणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । उपप्रमुख जोशीले पुजारी मठ पुनःनिर्माण कार्य अगाडि बढाउन आवश्यक क्षति विवरण सङ्कलन र पूर्ण सर्वेक्षण गरी सहयोग गरेको स्मरण गर्नुभयो ।
दरबार हेरचाह तथा स्मारक संरक्षण अड्डा भक्तपुरका कार्यालय प्रमुख अरुणा नकर्मीले पुजारी मठभित्र अमूल्य काष्ठकला रहेको उल्लेख गर्दै ती वास्तुहरूलाई सुरक्षित ढङ्गले संरक्षण गरी प्रदर्शनीको व्यवस्था मिलाउने बताउनुभयो ।
राष्ट्रिय कला सङ्ग्रहालयका कार्यालय प्रमुख जयन्ती श्रेष्ठले पुजारी मठ पुनःनिर्माणको कार्य भूकम्प प्रतिरोधात्मक ढङ्गले भइरहेको अवगत गराउँदै उक्त कार्य अनुभवी निर्माण ठेकेदारहरूबाट भइरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र प्राविधिक विनिता भण्डारीले पुजारी मठ पुनःनिर्माणका गतिविधि र प्राविधिक पक्षमा प्रकाश गराउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ९ का स्थानीयहरूले मठ पुनःनिर्माणको क्रममा मठका हरेक वस्तु संरक्षण गर्नुपर्ने, मौलिकतासँगै गुणस्तरमा ध्यान दिनुपर्ने, ठेकेदारहरूले संवेदनशील भएर पुनःनिर्माण काम गर्नुपर्ने आदि सुझाव राख्नुभएको थियो ।
छलफलपश्चात् नगर प्रमुख प्रजापतिसहितको टोलीले पुजारी मठ पुनःनिर्माण कार्य र त्यहाँस्थित सङ्ग्रहालयको स्थलगत निरीक्षण ग¥यो ।
यसअघि मङ्सिर १८ गते पुजारी मठ पुनःनिर्माण कार्य व्यवस्थितरूपमा सञ्चालन गर्न भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको संयोजकत्वमा सदस्यहरू आर्किटेक्ट रामगोविन्द श्रेष्ठ, सम्पदा शाखा भनपा, आर्किटेक्ट रिचा पौडेल, राष्ट्रिय कला सङ्ग्रहालय र ठेकेदार प्रतिनिधि पर्शुराम वैद्य, पुरातत्व विभागका इन्जिनियर विनिता भण्डारी रहने गरी सहजीकरण समिति गठन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *