भर्खरै :

विद्यार्थीहरूको पहलमा पहिलो खाद्य मेला

विद्यार्थीहरूको पहलमा पहिलो खाद्य मेला

भक्तपुर, २२ मङ्सिर । विद्यार्थीहरू कोही पानीपुरी खाँदै त कोही पानीपुरी बनाउँदै । कोही रसियन सलाद खाँदै त कोही योमरी बनाउँदै । कोही गाउँदै, कोही नाच्दै, कोही भादगाउँले टोपी किन्दै लाउँदै । वागीश्वरी कलेज कमलविनायकको प्राङ्गणमा देखिएको विद्यार्थीहरूको दृश्य हो यो ।
घरमा आफैँ पकाएर खाइयो वा खुवाइयो थाहा छैन । तर आज भने जति पकाए पनि नभ्याउने पकाउनेहरू पकाइरहेका छन्, यता टिकट काउन्टरमा टिकट काट्नेलाई उतिकै भ्याइनभ्याई ।
बढारकँुढारको टोली उतिकै सक्रिय, भाँडाकुँडा माझ्ने टीम पनि उत्तिकै व्यस्त । सबैतिर ध्यान दिइरहने शिक्षकत्रय गणेशप्रसाद दुवाल, दिलिप बासुकला र रोजी गाइसी सबैलाई निर्देशन दिन यताउता निगरानीमै बेफुर्सद !
उपर्युक्त दृश्य हो वागीश्वरी मावि, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा कक्षा १२ मा अध्ययनरत होटेल म्यानेजमेन्टका विद्यार्थीहरूको पहलमा भएको ‘पहिलो खाद्य मेला २०८०’ को ।
मेलामा १० वटा स्टलको व्यवस्था गरिएको थियो । पहिलो स्टल टिकट काउन्टर, दोस्रो, तेस्रो, चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ स्टलमा विभिन्न खाद्य परिकारहरू, नवौँ स्टलमा वागीश्वरी उद्यमशील कार्यक्रमको घरेलु उत्पादन बिक्री कक्ष थियो भने दसौँ स्टल मनोेरञ्जनको लागि राखिएको थियो ।


मनोरञ्जन स्टलमा ‘भ्वाइस अफ वागीश्वरी’का प्रतिभाहरूले गीत गाएर मेलालाई उल्लासमय बनाइरहेका थिए भने उद्यमशील कार्यक्रमको उत्पादन बिक्री कक्षमा पुराना घरेलु कपडाबाट निर्मित विभिन्न चार प्रकारका वस्तुहरूका साथै भादगाउँले टोपी राखिएका थिए । उद्यमशील शिक्षिका निष्ठा कायष्ठ भन्नुहुन्छ, “बिक्रीमा ल्याएका सबै सामानहरू बिके । पहिलो अनुभव भएकोले कति बिक्री हुन्छ भनेर अनुमान गर्न सकिएको थिएन† जे होस् खुसी छु† उत्साहित छु ।” शिक्षिका कायष्ठकोे उत्पादन बीबीए दोस्रो वर्षको मार्केटिङका विद्यार्थीले बेचेर मार्केटिङको व्यावहारिक ज्ञान बटुल्दै थिए ।
खाद्य स्टलहरूमा क्रमशः पानीपुरी चटपटे, हट एन्ड सावर सुप, रसियन फुड सलाद, चिकेन एन्ड पोटाटो , मःम ( भेज, बफ, चिकेन), मिट बल, योमरी, मकटेल ब्रेभरेज राखिएका थिए ।
मेलाको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले पढेर जानेका कुराहरू व्यवहारमा उतार्ने यो प्रयास प्रशंसनीय भएको विचार व्यक्त गर्दै अब विद्यार्थीले आफँै कमाउँदै पढ्दै गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा खाद्य मेलाको सफलताको कामना गर्दै नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले यस्तो मेला बर्सेनि आयोेजना गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले मेला सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो भने कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले शुभकामना मन्तव्य दिनुभएको थियो ।
मेला सफलतापूर्वक सम्पन्न भएपछि शिक्षक गणेशप्रसाद दुवालले भन्नुभयो, “वागीश्वरीमा होटल म्यानेजमेन्टले खाद्य मेला आयोजना गरेकोमा खुसी छु, साथदिने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”
मेला आयोजना गर्न शिक्षक दिलिप बासुकलाले संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो भने प्लस टु इन्चार्ज गेहेन्द्रप्रसाद दाहालले समग्र रेखदेखको भूमिका निर्वाह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *