अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
प्रजातान्त्रिक गतिविधिमा लामो अभ्यास भएको भनिएको नेका, बहुदलीय जनवाद नै कम्युनिस्ट पार्टीको प्रजातान्त्रिक खुड्किलो मान्ने एमाले र सशस्त्रसहितको ‘जनयुद्ध’ गरेर सरकार फाल्न लागेको एमाओवादीको नेतृत्वमा बनेको कुनै पनि सरकारले देशको विकासको मूल फुटाउन सकेनन् । सरकारको नेतृत्व परिवर्तनसँगै अनेक लोभलाग्दा आश्वासन बाँडेर देशको काँचुली फेर्ने विश्वास दिलाएका सत्तारुढ दलका नेता र मन्त्रीहरू आशाको केन्द्र होइन, निरासाको केन्द्र देखिए । सत्तासीन दलका नेताहरूले बाँडेको आशा पूरा भएको भए देशको विकासको उचाइ बढेर कुनै देश या दाता राष्ट्रसँग भिख माग्नु पर्दैनथ्यो । तर, विडम्बना ¤ भिख नमागिकन न देशको बजेट बन्थ्यो न त एउटा सियो नै बन्थ्यो । देश र जनताभन्दा पद र पैसा ठुलो ठान्ने शासकहरूले देशमा कहिलेसम्म विदेशी दास बनेर सरकार सञ्चालन गरिरहने हुन् ?
मलेसिया पुगेका नेपाली विभिन्न अभियोगमा बन्दी जीवन बिताउन बाध्य भए । धन कमाउने सपना बोकेर त्यहाँ पुगेका १३६ जना नेपाली अन्य अभियोगदेखि व्यक्तिहत्याजस्ता मुद्दामा फसे र तीन नेपालीलाई मृत्युदण्डको सजाय सुनाइयो । राम्रो आम्दानी र रोजगारी पाउने आशामा अवैध बाटो हुँदै रुसी सेनामा लागेर नेपालीहरू युक्रेनसँगको युद्धमा होमिन पुगे । यसैक्रममा ६ जना नेपालीले ज्यान गुमाएको खबर प्रकाशमा आयो । अवैधरूपमा नेपालीलाई रुस पठाउने प्रमुख एजेन्ट पूर्वसुरक्षाकर्मी भएको खबर पनि प्रकाशमा आयो । रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्न गएका काभ्रेका सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको खबर पत्रपत्रिकामा छापियो । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नेपालीहरू को को हुन्, उनीहरूलाई क–कसले अमेरिका पठाएर र उनीहरूको हालको स्थिति के छ ? सरकारले सार्वजनिक गरेको छैन । तर, त्यसको मुद्दा चालु छ । त्यसमा को को कारबाहीमा पर्छन् ? हेर्न बाँकी नै छ ।
शान्ति सेनाको नाउँमा नेपाली सेना युद्ध क्षेत्रमा सामेल गराउन आह्वान गर्ने संयुक्त राष्ट्र सङ्घको नेपाल सरकार कहिलेसम्म कठपुतली भएर बस्ने ? विदेश पसेर, विदेश पठाएर नेपाल र नेपाली धनी बनाउने आशा बाँड्ने र आशामा विदेश छिर्ने नेपालीहरूको कहिले के र कहिले के बहाना या प्रकरणमा सालाखाला दिनको तीन चार लास नेपाल भित्रिरहेको दृश्य कहिलेसम्म हेरेर बस्ने ? पैसै पैसाको बिटो ल्याउने भारी आशा बोकेका नेपाली युवायुवतीहरू दुःखको आँसु पिएर नेपाल फर्कने बाटो मिलाइदिन आग्रह गरिरहेको पीडादायी दुःखका स्वरहरू अझै सेलाएको छैन । नेपाली भूमि बाँझो राखेर, नेपालको दक्ष जनशक्ति विदेश पठाएपछि देश विकासमा सहयोग पुगिरहेको भनी सन्तोषको सास फेर्ने शासकहरू नेपालले विकासमा काँचुली फेर्न थाल्यो भनी खुसी हुनेको सङ्ख्या पनि यहाँ कमी छैन । यसरी देशमा सतही राजनीति गर्ने कामभन्दा बखान बढी गर्ने शासकहरूको कारण देशले प्रगति गर्न नसकेको हो ।
कहिले शान्ति सेनाको नाममा, कहिले पढ्ने र कमाउने नाउँमा त कहिले रोजगारीको नाममा विदेश पसेका नेपाली जवानहरू अनाहकमा मृत्युको शिकार भइरहेका छन् । इराक पुगेका नेपालीहरूलाई अमेरिकाले युद्धभूमिमा अगाडि राखेर प्रयोग ग¥यो । नेपाली नै विदेशमा बेचिनुपर्ने ! नेपाली शासकहरू विदेशी शक्ति राष्ट्रको उठबसमा बस्नुपर्ने ! उनीहरूकै दबाब र प्रलोभनमा उनीहरूको स्वार्थ पूरा गर्न नेपालले सन्धि सम्झौता गर्नुपर्ने ! भारतको स्वार्थमा नेपाली भूमि डुबे पनि हुने ! अमेरिकी सेना नेपाल पस्ने बाटो खुला गर्न एमसीसी सम्झौता गर्नुपर्ने ! भारतीय नागरिकहरूलाई नेपाली नागरिकता दिएर नेपालमा नेपालीलाई अल्पमत बनाउन नागरिकता विधेयक पारित गर्नुपर्ने ! यसरी नेपाल र नेपालीलाई भन्दा विदेश र विदेशीको स्वार्थ पूरा गर्नुपर्ने नेपालको कस्तो राजनीति ! त्यस्तो राजनीति गर्ने कस्तो सरकार ! सरकारको नेतृत्व गर्ने कस्ता दल र दलका नेताहरू !
Leave a Reply