भर्खरै :

शिक्षकहरूलाई योगदानअनुसार बढी सुविधा दिन आवश्यक

शिक्षकहरूलाई योगदानअनुसार बढी सुविधा दिन आवश्यक

काठमाडौँ, २३ मङ्सिर । “नेपाल र नेपाली जनताले दुःख पाउनुको मुख्य कारण गतिला प्रधानमन्त्री र मन्त्री हुन नपाउनु हो ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले नुवाकोटबाट भक्तपुर नगरको अध्ययन भ्रमणमा आउनुभएका शिक्षकहरूसँगको अन्तरक्रियात्मक छलफल कार्यक्रममा शनिबार राख्नुभएको हो ।
कार्यक्रममा सांसद सुवालले सरकारको नेतृत्वमा उत्पादन र वितरण हुने समाजवादी व्यवस्था स्थापना हुनु जरूरी रहेको आवश्यकता औँल्याउँदै समाजवादी व्यवस्थामा मानिसको गर्भदेखि चिहानसम्मको जिम्मेवारी सरकारले लिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारले शिक्षण पेसालाई कम प्राथमिकतामा राख्नु गलत हो । अन्य पेसामा भन्दा शिक्षण पेसालाई बढी पारिश्रमिक र थप सुविधा हुनु आवश्यक छ । शिक्षक शिक्षिका गुणस्तरीय भए विद्यार्थी पनि गुणस्तरीय नै हुनेछ ।”
ख्वप विश्वविद्यालयको विधेयक पारित नगराउने प्रधानमन्त्री र शिक्षामन्त्रीहरू लायक नभएको धारणा राख्दै सांसद सुवालले भन्नुभयो, “नालायक प्रधानमन्त्रीअन्तर्गत मन्त्री बन्नेहरू झन् नालायक छन् ।”
भक्तपुर नगरपालिकाले ख्वप कलेजहरू सञ्चालन गरी देशभरिका विद्यार्थीहरूलाई कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।
सांसद सुवालले शिक्षक शिक्षिकाहरूले देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने नयाँ पुस्ता तयार गर्नु जरूरी रहेको आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा राजवीर डंगोल, एन. महर्जन, गौतम लासिवा र बदनकेसरी प्रजापतिले पनि बोल्नुभएको उक्त कार्यक्रममा नुवाकोटका शिक्षक रवीन्द्र डंगोलले भक्तपुरको अवलोकन गर्न मद्दत गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *