भर्खरै :

लैङ्गिक हिंसाविरुद्ध अभिमुखीकरण कार्यक्रम

लैङ्गिक हिंसाविरुद्ध अभिमुखीकरण कार्यक्रम

भक्तपुर, २३ मङ्सिर । भक्तपुर नगरपालिका वडा नं. ७ को वडा कार्यालयको आयोजनामा शनिबार लैङ्गिक हिंसाविरुद्ध अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रम भयो ।
उक्त कार्यक्रममा भनपाका उपमेयर रजनी जोशीले ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने उद्घोषका साथ देशभर विभिन्न कार्यक्रम भइरहेको उल्लेख गर्दै भनपाले पनि वडा–वडामा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको बताउनुभयो ।
प्यालेस्टिनी जनताले प्यालेस्टिन देशको स्वाधीनता र सार्वभौमसत्ताको निम्ति सङ्घर्ष गरिरहेको उल्लेख गर्दै उहाँले प्यालेस्टिनी जनताको आन्दोलनप्रति नेमकिपाले समर्थन र ऐक्यबद्धता जाहेर गरेको बताउनुभयो ।
भनपाको बालबालिका तथा समाज कल्याण समितिका संयोजक रोसनमैँया सुवालले सामाजिक भेदभाव, कुरीति, अन्धविश्वास अन्त्य गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै प्यालेस्टिनी जनताको जीवन सुनिश्चित गर्नुपर्छ भन्नुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले समाजमा रहेका सबै किसिमका हिंसा मुक्तिको निम्ति समाजवादी व्यवस्था आवश्यक रहेको औँल्याउनुभयो ।
आगामी पुस १४ गते हुने योमरी उत्सव र बहाबही परिक्रमा गर्ने कार्यक्रम सफल पार्न उहाँले सबैमा अनुरोध गर्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडा सदस्य हेरा ख्याजु र रञ्जना त्वातीले पनि लैङ्गिक हिंसाविरोधी अभियानको महत्व र आवश्यकताबारे चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *