अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
उच्च अदालत पाटनले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने मुद्दामा परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई बिहीबार धरौटीमा छोड्ने निर्णय ग¥यो । उक्त निर्णयको आधारमा नेकाका नेता खाण रु. ३० लाख धरौटी तिरेर रिहा भए । अदालतले उनलाई धरौटीमा छाड्ने निर्णय गरेपछि अरु अभियुक्तहरूलाई के गर्ने भन्ने प्रश्न उठेको थियो । एउटै मुद्दामा परेका अभियुक्तहरूमा कुनै धरौटीमा छोड्ने र कुनै नछोड्दा त्यहाँ विभेद सिर्जना हुन्छ । मुख्य अभियुक्त छोड्ने र उनीभन्दा कम भूमिका भएका नछोड्दा काखापाखा हुन्छ । कानुन सबैको निम्ति एउटै हुन्छ । कानुन सबैले पालना गर्नुपर्छ, कानुन सबैलाई लागु हुनुपर्छ । तर, उच्च अदालत पाटनले मुख्य अभियुक्त मानिएका नेकाका नेता खाणलाई धरौटीमा छाड्ने निर्णय ग¥यो । यसअघि अदालतबाट सोही मुद्दामा थुनामा रहेका एमालेका सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित नौ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको थियो ।
मुद्दामा मुछिएका कुनै नेता, मन्त्री, सांसद, कर्मचारी या सर्वसाधारण पक्राउ पर्ने बित्तिकै दोषी हुन्छ भन्ने कुरा होइन । तर, धरौटीमा रिहा भएपछि मानिसहरू अब उनी मुद्दाबाट मुक्त हुन्छन् कि भन्ने ठान्छन् । धरौटीमा रिहा हुनुको अर्थ उनी दोषमुक्त छन् भन्ने पनि होइन । उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले पूर्वगृहमन्त्री खाणको प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै धरौटीमा रिहा गर्ने निर्णय ग¥यो । कसुरमा संलग्न रहेको भनी कसैले पोल नखोलेको आधारमा के कुनै अभियुक्त निर्दाेष हुन्छ ? कसैले नपोलेकै आधारमा के नेपालीहरूलाई भुटानी शरणार्थीलाई अमेरिका पठाएको होइन भन्न मिल्छ ? कसैको सिफारिस, अनुमति, आदेश या अरु के कुनै आधारबिना नेपालीहरू भुटानी शरणार्थी भएर अमेरिका कसरी पुग्छन् ? नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको साँचो हो भने त्यहाँ अवश्य दोषी हुन्छ ।
उच्च अदालतमा पूर्वगृहमन्त्री खाणको हकमा धरौटीमा छुट्न दिने वा थुनामै पठाउने सन्दर्भमा न्यायाधीशहरूबिच हक बाझिनुको कारण के ? धरौटीमा रिहा गर्ने या नगर्ने सन्दर्भमा मत किन बाझियो ? खाणविरुद्ध किटानी जाहेरी नपरेको, अभियोग दाबीबमोजिम खाण कसुरमा संलग्न नभएको र उनले अनुसन्धान अधिकारी एवम् अदालतसमक्ष कसुरमा इन्कार गर्नु नै के दोष मुक्तका आधारहरू हुन् ? यसअघि केको आधारमा पूर्वगृहमन्त्री खाणलाई पक्रियो ? के कुनै आधारबिना उनलाई प्रहरीले पक्राउ गरेको हो ? पहिले पक्राउ गर्दा सरकारी प्रतिवेदन नै किर्ते गर्नेदेखि मन्त्रालयमै आर्थिक लेनदेन गरेको प्रहरीले फेला पारेको कुरा के झूट हो ? कुनै आधार छैन भने उनलाई किन पक्राउ गरियो र यतिका दिनसम्म किन थुनामा राखियो भन्ने प्रश्न उठ्छ ।
अभियुक्त खाण धरौटीमा रिहा हुने खबर सम्प्रेषण भएपछि भुटानी शरणार्थी प्रकरणमा के कुनै पनि व्यक्ति कारबाहीमा पर्दैन भन्ने चर्चा परिचर्चा राजनीतिक वृत्तमा भइरहेको छ । पार्टीको दबाबमा या सत्ता गठबन्धनसित आबद्ध दलका नेताहरू छुटेर सर्वसाधारण नागरिक मुद्दामा फस्ने हो कि भन्ने विश्लेषण पनि अर्काे थरीको छ । अपराधीहरू ठुला या साना मुद्दाको प्रकरणअनुसार कारबाहीमा पर्नुपर्छ । निर्दोषहरू छुट्नुपर्छ । कसैको दबाब, प्रभाव र सत्ता गठबन्धनमा असर पर्ला, सरकार ढल्ला भनेर दोषीलाई निर्दाेष बनाउँछ, निर्दाेषलाई दोषी बनाउँछ भने यसले देशमा राम्रो सन्देश जाँदैन । यसले सत्तारुढ दलका नेता र मन्त्रीहरूले पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याए पनि हुन्छ भन्ने सन्देश जानेछ । यसले सत्तामा जानु नै पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउनु हो, अनियमितता गर्नु हो, कमिसन खानु हो भन्ने सन्देश जानेछ । यसकारण, दोषीहरू सजातगी हुनुपर्छ ।
Leave a Reply