भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर नगरको मानव समाजमा आधारित ऐतिहासिक महत्व बोकेको जीवितरूपमा पुजिने प्रसिद्ध नेपालकै लामो जात्रा हुने नवदुर्गा देवगण भवानीको जात्रा यस वर्ष पुस ६ गते नवमीको दिनदेखि काठमाडौँको पशुपति क्षेत्र जय बागेश्वरीबाट माछा मार्ने अर्थात् ङालाकेगु जात्रा शुभारम्भ हुन्छ । मकुन्डोसहितको यो जात्रा हरेक वर्ष बाला चतुर्दशीपछि नवमी र दशमीको दुई दिन पशुपतिनाथ मन्दिर र नवदुर्गा देवगण भेटघाट तथा प्रसाद आदानप्रदान हुन्छ । पशुपतिनाथको मूल पूजारीबाट नवदुर्गा भवानीलाई पूजा प्रदान गरी पशुपतिको जल र मूल प्रसाद भैरवलाई चढाउने चलन पाइन्छ । पशुपतिको मूल चोकमा देवगणका सम्पूर्ण देवतालाई भेटघाट, पूर्वपट्टिको गुजेश्वरी देवता स्थानमा नाच र दक्षिणतर्फ रहेको शिवालय चोकमा मु बाहाँ लिकेगु जात्रा गरी पशुपति विकास क्षेत्रको मूल पूजा ग्रहण गर्ने चलन छ ।
जय बागेश्वरी मन्दिरमा पुगेर यस वर्षको सर्वप्रथम माछा मार्ने जात्राको लागि ख जुयेगु (बास बस्ने) र रात्रिको नाच प्रदर्शन गर्ने चलन रहेको पाइन्छ । सोही दिन भोलिपल्ट बिहानदेखि बाराही नाच, सिमः र दुमः को माछा मार्ने नाच हुन्छ । महाकाली नाचसँगै बेलुका सेतो भैरवको माछा मार्ने जात्रा गरी बेलुकासम्ममा सम्पूर्ण नाच सम्पन्न हुन्छ । जात्रा सम्पन्न भएपछि भक्तपुर फर्किने चलन छ । देवगणहरूले आफ्नो देवताको मकुन्डो, पोसाकदेखि आवश्यक सामानहरू खर्पन अथवा खमुमा राखेर बोक्दै हिँडेर जानुपर्ने परम्परा रहेको अहिलेसम्म छ ।
त्यस लगत्तै योमरी पुन्हीको दिनदेखि मध्यपुर नगरपालिका, थिमिमा पनि नवदुर्गाको माछा मार्ने जात्रा हुन्छ । तर, २०६६ सालमा केही उच्छृङ्खल र देवगणहरूबिच अप्रिय घटनाबाट सो जात्रा सञ्चालन बन्द भएको थियो । उक्त जात्रा सञ्चालन गर्न पटकपटक छलफल भए पनि जात्रा पुनः सञ्चालन हुन सकेन । सहमति हुन नसक्दा जात्रा ९ वर्षसम्म बन्द भएको थियो । तत्कालीन मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र सोही नपाका वडा नं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठको सक्रियता र नवदुर्गा देवगणहरूबिच पुनः जात्रासम्बन्धी छलफल गरी आवश्यक जात्रामा शान्ति सुरक्षा, देवगणलाई आर्थिक सहयोग, खाना र जलपानको साथै बास बस्न उपयुक्त स्थान व्यवस्था गर्ने सहमतिअनुसार नवदुर्गा देवगणको जात्रा सम्झौताअनुसार यस वर्ष पुस १० गते मङ्गलबार योमरी पुन्हीको दिनदेखि सञ्चालन हुने भएको छ । त्यसबेला सम्झौतामा भनपाका जनप्रतिनिधिहरू, स्थानीय समाजसेवी, देवगण परिवार, मध्यपुर नपाका मेयर, वडाध्यक्ष र वडाका बुद्धिजीवी तथा वडावासीहरूको रोहवरमा मध्यपुर नपामा दीर्घकालीनरूपमा नवदुर्गाको जात्रा सञ्चालन हुने ऐतिहासिक लिखित सम्झौता भएको थियो ।
मध्यपुर नपामा सात दिनसम्म हुने नवदुर्गा जात्राका केही स्थानहरूको जानकारी यहाँ प्रस्तुत छ –
पहिलो दिन (योमरी पुन्हीको दिन) मा भनपा वडा नं ९ गछेँ मन्दिरबाट देवगणहरूले सम्हेबजी ग्रहण गर्दै मकुन्डोदेखि गरगहना पोसाकहरू खमुमा राखेर बोकी दिउँसो ३ बजे मध्यपुर नपा प्रस्थान गरिन्छ । ४ बजे दिगुलि स्थानमा पुगेर सम्पूर्ण देवगणहरूले आ–आफ्नो पोसाक पहिरेर नवदुर्गा नाच सुरु गर्छन् । दिगुलिबाट नाच प्रदर्शन गरी बेलुका मध्यपुरको बालकुमारी मन्दिर सत्तल पुगी बास बस्ने गरिन्छ ।
दोस्रो दिन बिहान ८ बजेदेखि मध्यपुरका भुलांख्यो स्थानबाट गणेश, कुमारी, सिमः र दुमः चार जना देवगणहरूको टोली बाजासहित निश्चित स्थानमा केही नाच प्रदर्शन गरिन्छ । बालकुमारी मन्दिरमा फर्किँदै बेलुका सम्पूर्ण देवगणहरूको लाय्कुमा खः प्याखँ नाच गरिन्छ । मध्यपुरमा पनि देवगणहरूको नाच प्रदर्शन हुनेहरूमा शनिबार, आइतबार, मङ्गलबार र बिहीबारमध्ये वालंमख बार सोमबार, बुधबार र शुक्रबार दिनमा पर्दछ । देवगणहरूमा उन्नाइस वटामध्ये खिं, तं, कंस, भैरव, महाकाली, बाराही, कुमारी, धोमा पोमी, दातिमा पोमी, झिमा पोमी, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, नकीं, बालकुमारी, सिमः, दुमः, श्वेत भैरव पर्छन् ।
तेस्रो दिन त्यही दिन चपाचोदेखि प्योमा द्यो (चार जना देवगण) को नाच प्रदर्शन हुने क्रममा नवदुर्गा देवगणको छुट्टै पहिचान रहेको जात्रा मध्यपुर थिमिमा हुन्छ । सोही क्रममा भक्तजनहरूले आफ्नो क्षमताअनुसार घरमा भएको धान, गहुँ ,मकै, तरकारी, खुर्सानी, मुला आदि चढाउने गरिन्छ । गणेश, कुमारी, सिमः र दुमः चार जना देवतालाई चढाएको वस्तु बोकी भाषाको तालमा नाच प्रदर्शन हुन्छ । सोही स्थानमा प्रजापतिहरूले पनि आफ्नो उत्पादन भएको कुनै भाँडाकँुडा लिएर देवगणको नाच प्रदर्शन गरी चढाउने चलन छ । चपाचोमा निश्चित ठाउँको परिक्रमा गरी पुनः टोलहरूमा नाच प्रदर्शन सम्पन्न गरी बालकुमारी मन्दिरमा फर्केर सोही दिन लाय्कुमा खः जात्रा सम्पन्न गरिन्छ ।
चौथो दिन बिहान मध्यपुरको बाखाबजार हुँदै नगदेश क्षेत्रमा पेम्हा द्यो (चार जना देवगण) घुम्ने अथवा विभिन्न टोलटोलमा नाच प्रर्दशन गरी पूजा ग्रहण गर्ने गरिन्छ । मध्यपुर बोडेमा पनि चार जना देवता बेलुकातिर पुगी पुनः बोडेको लाय्कुमा पूजा ग्रहण गरिन्छ । विभिन्न श्रद्धालु भक्तजनहरूको गुठीमा देवता भित्याउने चलनअनुसार पूजा गरी नाच सम्पन्न गरी बालकुमारी मन्दिरमै फर्किने गरिन्छ ।
पाँचौँ दिन मध्यपुरको विभिन्न स्थानमा जात्रा गर्ने क्रममा स्थानीय वडावासीहरूले टोलटोलमा देवगणहरूलाई द्यो बोकेगु कार्यक्रम रहेको छ । बिहान अथवा बेलुका बालकुमारी सत्तलमा निम्तो दिने चलन छ । सोही दिन प्रसाद ग्रहण गरी पुनः दथु टोलमा आएर बेलुका खः प्याखँ नाच प्रदर्शन गरी राति बालकुमारी मन्दिरमा फर्किने चलन छ ।
छैटौँ दिन मध्यपुरकै गामचामा चार जना देवताको नाच प्रदर्शन गरी पुनः फर्किने गरिन्छ । सोही दिन बालकुमारीको बजिगान्जा टोलमा पूजा ग्रहण गरी बेलुका लोकेश्वर मन्दिरसँगै खः जुयेगु (बास बस्ने) गरिन्छ । देवगणको सम्पूर्ण कालरात्री नाच प्रदर्शन गरेर मध्यपुरको चोकमा मुः बाहाँ लिकेगु जात्रा गरिन्छ । राति नाच सम्पन्न गरिन्छ ।
सातौँ दिन माछा मार्ने जात्राको रूपमा क्रमशः बाराहीको नाच प्रदर्शन गरिन्छ । सोही लगत्तै सिमः दुमः को नाच विभिन्न टोलमा सकेपछि माछा मार्ने पहिलो चरण सुरु हुन्छ । दुमः ले ङालाकेगु जात्रा सम्पन्न गरेलगत्तै महाकाली नाच प्रदर्शन सुरु गरिन्छ । महाकाली नाच एक महिषासुर वध गर्ने नाचको रूपमा लिइन्छ । सोही नाचसँगै माछा मार्ने श्वेत भैरवको आगमन हुन्छ । भाषाको तालमा गाः त्वकेगु जात्रामा कुखुरा (भाले) को बलि दिई श्वेत भैरवको नाचसँगै माछा मार्ने जात्रा सुरु गरिन्छ । भाषाको तालमा माछा खाने, पेट दुखाउने, लुगा धुने जात्रा सम्पन्न गरी सम्पूर्ण देवगणहरूको अन्तिम नाच गं दिगु नाच प्रदर्शन हुन्छ । बालकुमारी मन्दिरमा पुगी देवगणहरूले आ–आफ्नो मकुन्डो सत्तलमा राखेर आफ्नो पोशाकसहित चोकमा आएर आरती बाली मध्यपुर नपाबाट नाच शुभारम्भ हुन्छ ।
अन्तमा, बिदावारी गर्दै बेलुका राति भक्तपुर फर्किने चलन रहेको छ । नवदुर्गा नाच एक दैनिक जीवनमा आधारित नाच हो । पारिवारिक भूमिका भएको यस नाचमा चेलिबेटीको दुखेसो, सहकारी भावना, पञ्च रङ्गको महत्व, केटाकेटीको भूमिका, सरसफाइको शिक्षा, असत्यको नाश हुने देखाइन्छ । यो नाच माघ सङ्क्रान्तिबाट भनपाको सूर्यमढी टोलबाट सुरु भई दुई महिनासम्म विभिन्न स्थानमा हुन्छ ।
Leave a Reply