भर्खरै :

ऐतिहासिक नवदुर्गा जात्रा भोलिदेखि हुने

ऐतिहासिक नवदुर्गा जात्रा भोलिदेखि हुने

भक्तपुर नगरको मानव समाजमा आधारित ऐतिहासिक महत्व बोकेको जीवितरूपमा पुजिने प्रसिद्ध नेपालकै लामो जात्रा हुने नवदुर्गा देवगण भवानीको जात्रा यस वर्ष पुस ६ गते नवमीको दिनदेखि काठमाडौँको पशुपति क्षेत्र जय बागेश्वरीबाट माछा मार्ने अर्थात् ङालाकेगु जात्रा शुभारम्भ हुन्छ । मकुन्डोसहितको यो जात्रा हरेक वर्ष बाला चतुर्दशीपछि नवमी र दशमीको दुई दिन पशुपतिनाथ मन्दिर र नवदुर्गा देवगण भेटघाट तथा प्रसाद आदानप्रदान हुन्छ । पशुपतिनाथको मूल पूजारीबाट नवदुर्गा भवानीलाई पूजा प्रदान गरी पशुपतिको जल र मूल प्रसाद भैरवलाई चढाउने चलन पाइन्छ । पशुपतिको मूल चोकमा देवगणका सम्पूर्ण देवतालाई भेटघाट, पूर्वपट्टिको गुजेश्वरी देवता स्थानमा नाच र दक्षिणतर्फ रहेको शिवालय चोकमा मु बाहाँ लिकेगु जात्रा गरी पशुपति विकास क्षेत्रको मूल पूजा ग्रहण गर्ने चलन छ ।
जय बागेश्वरी मन्दिरमा पुगेर यस वर्षको सर्वप्रथम माछा मार्ने जात्राको लागि ख जुयेगु (बास बस्ने) र रात्रिको नाच प्रदर्शन गर्ने चलन रहेको पाइन्छ । सोही दिन भोलिपल्ट बिहानदेखि बाराही नाच, सिमः र दुमः को माछा मार्ने नाच हुन्छ । महाकाली नाचसँगै बेलुका सेतो भैरवको माछा मार्ने जात्रा गरी बेलुकासम्ममा सम्पूर्ण नाच सम्पन्न हुन्छ । जात्रा सम्पन्न भएपछि भक्तपुर फर्किने चलन छ । देवगणहरूले आफ्नो देवताको मकुन्डो, पोसाकदेखि आवश्यक सामानहरू खर्पन अथवा खमुमा राखेर बोक्दै हिँडेर जानुपर्ने परम्परा रहेको अहिलेसम्म छ ।
त्यस लगत्तै योमरी पुन्हीको दिनदेखि मध्यपुर नगरपालिका, थिमिमा पनि नवदुर्गाको माछा मार्ने जात्रा हुन्छ । तर, २०६६ सालमा केही उच्छृङ्खल र देवगणहरूबिच अप्रिय घटनाबाट सो जात्रा सञ्चालन बन्द भएको थियो । उक्त जात्रा सञ्चालन गर्न पटकपटक छलफल भए पनि जात्रा पुनः सञ्चालन हुन सकेन । सहमति हुन नसक्दा जात्रा ९ वर्षसम्म बन्द भएको थियो । तत्कालीन मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र सोही नपाका वडा नं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठको सक्रियता र नवदुर्गा देवगणहरूबिच पुनः जात्रासम्बन्धी छलफल गरी आवश्यक जात्रामा शान्ति सुरक्षा, देवगणलाई आर्थिक सहयोग, खाना र जलपानको साथै बास बस्न उपयुक्त स्थान व्यवस्था गर्ने सहमतिअनुसार नवदुर्गा देवगणको जात्रा सम्झौताअनुसार यस वर्ष पुस १० गते मङ्गलबार योमरी पुन्हीको दिनदेखि सञ्चालन हुने भएको छ । त्यसबेला सम्झौतामा भनपाका जनप्रतिनिधिहरू, स्थानीय समाजसेवी, देवगण परिवार, मध्यपुर नपाका मेयर, वडाध्यक्ष र वडाका बुद्धिजीवी तथा वडावासीहरूको रोहवरमा मध्यपुर नपामा दीर्घकालीनरूपमा नवदुर्गाको जात्रा सञ्चालन हुने ऐतिहासिक लिखित सम्झौता भएको थियो ।
मध्यपुर नपामा सात दिनसम्म हुने नवदुर्गा जात्राका केही स्थानहरूको जानकारी यहाँ प्रस्तुत छ –
पहिलो दिन (योमरी पुन्हीको दिन) मा भनपा वडा नं ९ गछेँ मन्दिरबाट देवगणहरूले सम्हेबजी ग्रहण गर्दै मकुन्डोदेखि गरगहना पोसाकहरू खमुमा राखेर बोकी दिउँसो ३ बजे मध्यपुर नपा प्रस्थान गरिन्छ । ४ बजे दिगुलि स्थानमा पुगेर सम्पूर्ण देवगणहरूले आ–आफ्नो पोसाक पहिरेर नवदुर्गा नाच सुरु गर्छन् । दिगुलिबाट नाच प्रदर्शन गरी बेलुका मध्यपुरको बालकुमारी मन्दिर सत्तल पुगी बास बस्ने गरिन्छ ।
दोस्रो दिन बिहान ८ बजेदेखि मध्यपुरका भुलांख्यो स्थानबाट गणेश, कुमारी, सिमः र दुमः चार जना देवगणहरूको टोली बाजासहित निश्चित स्थानमा केही नाच प्रदर्शन गरिन्छ । बालकुमारी मन्दिरमा फर्किँदै बेलुका सम्पूर्ण देवगणहरूको लाय्कुमा खः प्याखँ नाच गरिन्छ । मध्यपुरमा पनि देवगणहरूको नाच प्रदर्शन हुनेहरूमा शनिबार, आइतबार, मङ्गलबार र बिहीबारमध्ये वालंमख बार सोमबार, बुधबार र शुक्रबार दिनमा पर्दछ । देवगणहरूमा उन्नाइस वटामध्ये खिं, तं, कंस, भैरव, महाकाली, बाराही, कुमारी, धोमा पोमी, दातिमा पोमी, झिमा पोमी, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, नकीं, बालकुमारी, सिमः, दुमः, श्वेत भैरव पर्छन् ।
तेस्रो दिन त्यही दिन चपाचोदेखि प्योमा द्यो (चार जना देवगण) को नाच प्रदर्शन हुने क्रममा नवदुर्गा देवगणको छुट्टै पहिचान रहेको जात्रा मध्यपुर थिमिमा हुन्छ । सोही क्रममा भक्तजनहरूले आफ्नो क्षमताअनुसार घरमा भएको धान, गहुँ ,मकै, तरकारी, खुर्सानी, मुला आदि चढाउने गरिन्छ । गणेश, कुमारी, सिमः र दुमः चार जना देवतालाई चढाएको वस्तु बोकी भाषाको तालमा नाच प्रदर्शन हुन्छ । सोही स्थानमा प्रजापतिहरूले पनि आफ्नो उत्पादन भएको कुनै भाँडाकँुडा लिएर देवगणको नाच प्रदर्शन गरी चढाउने चलन छ । चपाचोमा निश्चित ठाउँको परिक्रमा गरी पुनः टोलहरूमा नाच प्रदर्शन सम्पन्न गरी बालकुमारी मन्दिरमा फर्केर सोही दिन लाय्कुमा खः जात्रा सम्पन्न गरिन्छ ।
चौथो दिन बिहान मध्यपुरको बाखाबजार हुँदै नगदेश क्षेत्रमा पेम्हा द्यो (चार जना देवगण) घुम्ने अथवा विभिन्न टोलटोलमा नाच प्रर्दशन गरी पूजा ग्रहण गर्ने गरिन्छ । मध्यपुर बोडेमा पनि चार जना देवता बेलुकातिर पुगी पुनः बोडेको लाय्कुमा पूजा ग्रहण गरिन्छ । विभिन्न श्रद्धालु भक्तजनहरूको गुठीमा देवता भित्याउने चलनअनुसार पूजा गरी नाच सम्पन्न गरी बालकुमारी मन्दिरमै फर्किने गरिन्छ ।
पाँचौँ दिन मध्यपुरको विभिन्न स्थानमा जात्रा गर्ने क्रममा स्थानीय वडावासीहरूले टोलटोलमा देवगणहरूलाई द्यो बोकेगु कार्यक्रम रहेको छ । बिहान अथवा बेलुका बालकुमारी सत्तलमा निम्तो दिने चलन छ । सोही दिन प्रसाद ग्रहण गरी पुनः दथु टोलमा आएर बेलुका खः प्याखँ नाच प्रदर्शन गरी राति बालकुमारी मन्दिरमा फर्किने चलन छ ।
छैटौँ दिन मध्यपुरकै गामचामा चार जना देवताको नाच प्रदर्शन गरी पुनः फर्किने गरिन्छ । सोही दिन बालकुमारीको बजिगान्जा टोलमा पूजा ग्रहण गरी बेलुका लोकेश्वर मन्दिरसँगै खः जुयेगु (बास बस्ने) गरिन्छ । देवगणको सम्पूर्ण कालरात्री नाच प्रदर्शन गरेर मध्यपुरको चोकमा मुः बाहाँ लिकेगु जात्रा गरिन्छ । राति नाच सम्पन्न गरिन्छ ।
सातौँ दिन माछा मार्ने जात्राको रूपमा क्रमशः बाराहीको नाच प्रदर्शन गरिन्छ । सोही लगत्तै सिमः दुमः को नाच विभिन्न टोलमा सकेपछि माछा मार्ने पहिलो चरण सुरु हुन्छ । दुमः ले ङालाकेगु जात्रा सम्पन्न गरेलगत्तै महाकाली नाच प्रदर्शन सुरु गरिन्छ । महाकाली नाच एक महिषासुर वध गर्ने नाचको रूपमा लिइन्छ । सोही नाचसँगै माछा मार्ने श्वेत भैरवको आगमन हुन्छ । भाषाको तालमा गाः त्वकेगु जात्रामा कुखुरा (भाले) को बलि दिई श्वेत भैरवको नाचसँगै माछा मार्ने जात्रा सुरु गरिन्छ । भाषाको तालमा माछा खाने, पेट दुखाउने, लुगा धुने जात्रा सम्पन्न गरी सम्पूर्ण देवगणहरूको अन्तिम नाच गं दिगु नाच प्रदर्शन हुन्छ । बालकुमारी मन्दिरमा पुगी देवगणहरूले आ–आफ्नो मकुन्डो सत्तलमा राखेर आफ्नो पोशाकसहित चोकमा आएर आरती बाली मध्यपुर नपाबाट नाच शुभारम्भ हुन्छ ।
अन्तमा, बिदावारी गर्दै बेलुका राति भक्तपुर फर्किने चलन रहेको छ । नवदुर्गा नाच एक दैनिक जीवनमा आधारित नाच हो । पारिवारिक भूमिका भएको यस नाचमा चेलिबेटीको दुखेसो, सहकारी भावना, पञ्च रङ्गको महत्व, केटाकेटीको भूमिका, सरसफाइको शिक्षा, असत्यको नाश हुने देखाइन्छ । यो नाच माघ सङ्क्रान्तिबाट भनपाको सूर्यमढी टोलबाट सुरु भई दुई महिनासम्म विभिन्न स्थानमा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *