भर्खरै :

योमारी पुन्हीको अवसरमा हुने सम्पदा पदयात्राबारे सरोकारवालाहरूसँग छलफल

योमारी पुन्हीको अवसरमा हुने सम्पदा पदयात्राबारे सरोकारवालाहरूसँग छलफल

भक्तपुर, ५ पुस । भक्तपुर नगरपालिकाले भक्तपुर नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरू अवलोकन गराउने उद्देश्यका साथ ‘बहाबही चिनौँ, सम्पदा संरक्षण गरौँ’ नारासहित पुस १४ गते शनिबार सम्पदा पदयात्रा कार्यक्रमको आयोजना गर्ने भएको छ ।
योमरी पुन्हीको अवसरमा हुने उक्त पदयात्राको तयारीस्वरुप सम्बन्धित सरोकारवालाहरूसँग छलफल कार्यक्रम बिहीबार भनपा सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले कार्यक्रम सञ्चालनको उद्देश्यमाथि प्रकाश पार्दै भक्तपुरको बहाबही चिनाउने उद्देश्यले सम्पदा पदायात्राको आयोजना गरिएको र उक्त पदयात्रामा सबै नगरवासीहरूको सक्रिय सहभागिता रहने अपेक्षा गर्नुभयो ।
भक्तपुरको सम्पदा चिनाउने, त्यसबारे अध्ययन अनुसन्धान गर्नेहरूलाई पनि अवसर दिने र नगरभरि छरिएर रहेका बहाबहीको अवस्थाबारे अभिलेखीकरण गरी नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले सम्पदा पदयात्रा आयोजना गर्न लागेको जानकारी दिँदै उहाँले भक्तपुरका लोपोन्मुख अवस्थामा रहेका कला, संस्कृति संरक्षणमा नपाले निरन्तर जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुरमा रहेका सबै बहा, बही र बिहारका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त छलफलमा उपस्थित प्रतिनिधिहरूले पदयात्रा कार्यक्रम सराहनीय कदम भएको र सम्पदा पदयात्रामा आफूहरूको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा भक्तपुर नपा वातावरण तथा पर्यटन समितिका संयोजक रवीन्द्र ज्याख्व र भक्तपुर नपा पर्यटन शाखाका प्रमुख गौतमप्रसाद लासिवाले योमरी उत्सव तथा सांस्कृतिक सम्पदा पदयात्राको रुटबारे जानकारी दिनुभयो ।
भक्तपुर नपाको आयोजनामा २०८० पुस १४ गते शनिबार हुने सांस्कृतिक सम्पदा पदयात्रा भनपा वडा नं. ५ टौमढीबाट सुरु भई अखण्डशील महाविहार (बुलुचा), जेतवर्ण (तेखाचो), बौद्ध समंकृत (कुथुबही), जयकिर्ति (थथुबही), जेष्ठवर्ण (इताछेँ), लोकेश्वर (कुश्क्व), चतुर्ब्रम्ह (साकोथा), यालाछेँ बही (यालाछेँ), सुवर्ण (सुकुलढोका), मन्जुवर्ण (बेखाल), प्रशन्नशील महाविहार (क्वाठण्डौ), दीपङ्कर (क्वाठण्डौ), कुलरत्न (क्वाठण्डौ), धर्मकीर्ति (क्वाठण्डौ), आदिपद्य (सूर्यमढी), खुसीबह (खोह्रे), मुनिबिहार (खँचा), इन्द्रवर्ण (इनाचो) र झौरबही (गोल्मढी) हुँदै भनपा वडा नं. ७ यातामा पुगी कार्यक्रमको समापन हुनेछ ।
पदयात्रा बिहान १० बजेटबाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *