भर्खरै :

भारत र अमेरिकालाई खुसी पार्नु पनि क्रमभङ्ग !

नेका सम्मिलित माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकार एक वर्ष पुग्न लागेको सन्दर्भमा जनतामाझ विभिन्न चर्चा परिचर्चाको विषय बनिरहेको छ । एक वर्षको मूल्याङ्कन गर्दै राजनीतिक विश्लेषक, लेखकहरूबिच सरकारको सफलता र असफलताबारे अनेक टीकाटिप्पणी हुन थालेको छ । सरकारको मूल्याङ्कन उसले गरेको कामको आधारमा हुन्छ । सरकारले संविधानभित्र रहेर काम गरेको छ कि छैन ? सत्तारुढ दलले आफ्नो पार्टीको विधान र निर्वाचनको घोषणापत्र कार्यान्वयन गरेको छ कि छैन भन्ने आधारमा राजनीतिक विश्लेषक, बुद्धिजीवी र जनताले मूल्याङ्कन गरिरहेका हुन्छन् । यी विभिन्न पक्षलाई आधार मानेर सरकार या सत्तारुढ दलको मूल्याङ्कन गर्नु समीचीन हुनेछ ।
सरकारको नेतृत्व माओवादी केन्द्रले गरेको छ । माओवादी केन्द्र आफूलाई कम्युनिस्ट पार्टी ठान्छ । कम्युनिस्ट पार्टीको मूल्य र मान्यतामा रहेर माओवादी केन्द्रले के गरेको छ ? विचारणीय छ । पार्टीको घोषणापत्र काम गर्ने एउटा अर्काे मुख्य आधार हो । घोषणापत्रको आधारमा स्थानीय तहदेखि केन्द्रसम्म काम गर्नुपर्ने हुन्छ । पार्टीको विधान र घोषणापत्र देखाउने दाँत होइन, काम गर्ने बाटो हो । त्यस्तै, सरकारको अर्काे काम गर्ने आधार संविधान हो । संविधान कार्यान्वयनमा सरकार कति सफल या असफल छ ? पार्टीको विधान, पार्टीको घोषणापत्र र देशको संविधानमा रहेर काम गर्दैन भने त्यो देश र जनताको निम्ति धोका नै हुनेछ । काम नगर्नुको अर्थ सत्तारुढ दलका नेता र मन्त्रीहरूले जनतालाई धोका दिनु हो ।
प्रम दाहाल आफैँले सोचेअनुरूप काम गर्न नसकेको स्वीकारिसकेका छन् । गठबन्धन सरकारमा रहेर काम गर्न कठिन भएको उनको कुरा सञ्चारमाध्यममा आएकै हो । त्यस्तो सरकारलाई सफल मान्ने ? संविधान र कानुन कार्यान्वयनमा फड्को मारेको र २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा जम्मा ३२ स्थान हासिल गरेको माओवादी केन्द्रले गरिरहेको सरकारको नेतृत्वलाई सफलताको सिँढी माने ? कतिले माओवादीको यस कदमलाई क्रमभङ्ग भनेका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहालको यो क्रमभङ्ग के सफलताको सिँढी हो ? तर, क्रमभङ्गको पर्याय सफलता होइन ।
छिनछिनमा बोली फेर्नु, फेरिएको बोली गलत भएर माफी माग्नु पनि प्रम दाहालको क्रमभङ्ग हो । सिद्धान्त र विचारमा अडान नहुनु, दलगत र व्यक्तिगत स्वार्थ पूरा हुने भए सिद्धान्त र विचार छोड्नु, भागबन्डा मिलेपछि शत्रु र मित्रको ख्याल नगर्नु, गठबन्धन सरकार बनाउनु र निर्वाचनमा गठबन्धन गर्नु पनि उनको क्रमभङ्ग नै हो । साम्राज्यवादी देश अमेरिकालाई खुसी पार्न एमसीसी सम्झौता पारित गर्नु र विस्तारवादी देश भारतलाई खुसी पार्न नेपाली नागरिकता विधेयक पारित गर्नु पनि सरकारको क्रमभङ्ग गर्नु हो । भ्रष्टाचारी, तस्करी, हत्यारा, अपराधीहरूलाई सरकारले सिफारिस गरेर मुक्त गराउनु पनि वर्तमान सरकारको अर्काे क्रमभङ्ग हो । देश अझै पनि साक्षर मुलुक बनेको छैन । साक्षर मुलुक बनाउन नसक्नु पनि क्रमभङ्गै हो कि ! सरकारको नेतृत्व गर्ने दलप्रति सत्तासीन दलकै नेताहरू सन्तुष्ट छैनन् । संविधानमा माध्यमिक शिक्षासम्म निःशुल्कको बन्दोबस्त गरिएको छ । तर, अहिलेसम्म १२ कक्षासम्म निःशुल्क गरिएको छैन । प्यालेस्टिनको हमास समूहलाई आतङ्ककारी भन्नु र रुस–युक्रेन युद्धमा युक्रेन पक्ष लिनु सत्तासीन नेता दाहालको क्रमभङ्गै होला नि ! यही हो सरकारको सफलता !

Leave a Reply

Your email address will not be published. Required fields are marked *