भर्खरै :

जुलुस र सभा गर्नु नै राजनीति होइन

जुलुस र सभा गर्नु नै राजनीति होइन

काठमाडौँ, ११ पुस । हो, कार्यकर्ताहरूलाई टीको लगाएर पार्टी सदस्यता दिनु, धार्नीका धार्नी फूलको माला लगाएर प्रधानमन्त्री र नेताहरूलाई स्वागत गर्नु तथा हुल जम्मा गरेर पैसा बाँड्नु नै राजनीति होइन न त नेताहरूले कार्यकर्तालाई मूर्ख बनाउनु र स्वार्थीहरूले प्रधानमन्त्री र नेताहरूलाई मूर्ख बनाउनु नै राजनीति हो । टीको लगाएपछि कार्यकर्ता राम्रो हुने भए तिनीहरूलाई फित्ता वा पगरी लगाएर फुर्काआँै, प्रधानमन्त्री र नेताहरूलाई व्यापारी, उद्योगपति, ठेकेदार र तस्करहरूले धार्नीका धार्नी सुनकै सिक्री लगाऔँ।
के यसरी समाज र देशको हित होला ? देशको भूगोल र अर्थतन्त्र, वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे राम्रो जानकारी वा शिक्षा नदिई सिद्धान्तविपरीत अन्य पार्टीका कार्यकर्तालाई पार्टीमा टिको लगाएर भित्याउँदा के नयाँ आगन्तुक कार्यकर्ताबाट नयाँ पार्टीको घोषणापत्रअनुसार काम होला ?
सत्य त्यही हो भने दल बदल गर्ने कार्यकर्तालाई छानी छानी पार्टी नेता र प्रधानमन्त्री नै बनाए झन् राम्रो होला । हिजो एउटा सामाजिक अपराध गरेका र भ्रष्टाचारी व्यक्तिलाई अर्को पार्टीले टीको लगाएर नेता र मन्त्री बनाएर के राजनैतिक नैतिकता र समाजमा चलि आएको सदाचार बाँकी रहला ? गाउँ गाउँ र जिल्ला जिल्लामा अपराधी र बदनाम व्यक्तिहरूलाई नेता र प्रधानमन्त्रीले काठमाडौँमा टीको लगाउँदैमा के तिनीहरूको आपराधिक आचरणमा शुद्धता आउला ? ठूलो दल बनाएर सरकारको नेतृत्व गरेर देश बिग्रेको मात्र नभई पतन भई पाताल पुगेको अनुभव सबैले गरेका छन् । ऐन कानुन र अदालतको न्याय कहिले कार्यपालिका र कहिले विधानपालिकाले उल्लङ्घन गरेर देशमा न्याय व्यवस्था कायम रहला ?

XXX

प्रधानमन्त्री, नेता र मुख्यमुख्य कार्यकर्ताले एक दिन आफ्ना नाति–नातिनाहरूसँग खेल्दा देशका लाखौँ बालबालिकाहरूबारे सोच्ने समय खेर जानेछ । सामान्य नागरिकले आफ्नो परिवारबारे सोच्छन् भने नेता र कार्यकर्ताले आफ्नो परिवारलाई प्राथमिकता दिने होइन पार्टी समाज र देशको बारेमा समय दिने हो । जसरी प्रधानाध्यापकले विद्यालयमा आफ्नो छोराछोरीबारे नभई सबै विद्यार्थीबारे चिन्तन गर्ने हो त्यस्तै सांसदहरूले मन्त्री पद ताक्ने होइन, काठमाडाँैमा महल बनाउने चिन्ता गर्ने होइन, बरु विदेशीले पठाएको सरकारले ल्याउने विधेयकहरूबारे अध्ययन गर्ने र त्यसको समुचित खण्डन गर्ने र विरोध गर्नमा समय दिनुपर्छ ।
सांसद पद सामानको किनमेल होइन, व्यापारीहरूको नाफा खाने पसल होइन, कुनै सांसदले नाफा खान एउटा पार्टीको वा स्वतन्त्र उम्मेदवार भएर विजय प्राप्त गरी आफ्नो स्वार्थ हेर्छ भने ऊ जनप्रतिनिधि होइन, ऊ व्यापारी हो; कालाबजारिया हो; ठग र अपराधी हो ।

XXX

राजनीतिक दलका नेता र कार्यकर्ताहरूले आफ्नै दलको पक्षमा, सरकारको नीतिको विरोध र पक्षमा वा अन्तर्राष्ट्रिय घटनाको बारेमा आफ्नो समर्थनमा जनसभा, विरोध प्रदर्शन र टिप्पणी गरेर मात्रै आफ्नो कर्तव्य पूरा हुने गर्दैन बरु आफ्ना गतिविधिले आफ्नै देशभित्र एवं बाहिर त्यसको के प्रतिक्रिया आयो भन्नेबारे गम्भीर हुनैपर्ने हुन्छ र समीक्षासमेत गर्नु आवश्यक छ ।
आफ्नो देश र राजनीतिक दलहरूबारे नेपाली जनताले जति गहिरिएर बुझेको हुन्छ विदेशीहरूले एकै किसिमले बुझेका हुँदैनन् । नेपालका हरेक पार्टीको नामबाट तिनीहरूले मूल्याङ्कन गर्ने गर्छन् । कति देशका नेता वा कार्यकर्ताले नेपाली काङ्ग्रेस पार्टीले सरकारमा रहेका पार्टी ‘मूल पार्टी’ र साँच्चिकै ‘समाजवादी’, ‘वामपन्थी’, ‘मध्यमार्गी’ पार्टीको रूपमा लिन्छन् । त्यस्तै एमालेलाई ‘ठूलो विद्रोह’बाट आएको तल्लो वर्गको पार्टी ‘माक्र्सवादी– लेनिनवादी’ पार्टी हो भने बुझ्छन् । अहिलेसम्म एमाले साँचो अर्थमा ‘क्रान्तिकारी’ होइन, ‘भाइ काङ्ग्रेस’ हो भनी बुझ्दैनन् । कतिले ‘जनता पार्टी’ र ‘समाजवादी’ पार्टीहरूलाई ‘वामपन्थी’ र साँच्चै तल्लो वर्गको पार्टीको रूपमा लिन्छन् । तर, व्यवहारमा नेपाली जनतामा सबै पुँजीवादी हुन् नभनी आ–आफ्नै जातिवादी दल अर्थात् ‘खस आर्य’ दल, ‘मधेसी’ र फरकफरक जात र भाषाको आधार लिन्छन् । यसकारण, नेपालका राजनीतिक दलहरूको ऐतिहासिक पृष्ठभूमि वर्गीय र सैद्धान्तिकरूपले प्रचार गर्नु खाँचो छ । नेपाली जनतालाई पनि व्यवहारबारे जानकारी दिने वा शिक्षित गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *