भर्खरै :

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय प्रथम

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय प्रथम

भक्तपुर, १३ पुस । भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको समापन तथा विजयीहरूलाई पुरस्कार वितरण कार्यक्रम शुक्रबार लिबाली कभर्ड हलमा सम्पन्न भयो । उक्त प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयले २३ स्वर्ण पदक प्राप्त गरी प्रथम, जेसिस स्कूलले ९ स्वर्ण पदक प्राप्त गरी द्वितीय, मेधा माविले ८ स्वर्ण र वागीश्वरी माविले ६ स्वर्णसहित तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताका विजयी र उत्कृष्ट खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।
विद्यार्थीहरूलाई सक्रिय बनाइराख्न खेलकुदको ठुलो भूमिका रहेको चर्चा गर्दै उहाँले खेलाडीहरूले हार जितको लागि मात्र नभई देशको स्वतन्त्रता रक्षाको निम्ति पनि खेल्नुपर्ने बताउनुभयो ।
खेलकुद क्षेत्रको विकासको लागि भक्तपुर नपाले विभिन्न खेलकुद गतिविधिको जानकारी दिँदै नगर प्रमुख प्रजापतिले विद्यार्थी जीवनदेखि खेलकुदमा सक्रिय बनाउन यस्ता प्रतियोगिताको आवश्यकता रहने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले प्रतियोगिता सफल रूपमा सम्पन्न गर्न सहयोग पु¥याउने सबैमा धन्यवादज्ञापन गर्नुभयो ।
भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण राय, वडा सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन गर्नुभएको थियो ।
त्यस्तै प्रतियोगिताअन्तर्गत भलिबल खेल छात्रतर्फ सैनिक आवासीय महाविद्यालय प्रथम, श्री पद्म मावि द्वितीय र वागीश्वरी मावि तृतीय भए । भलिबलको छात्रातर्फ सैनिक आवासीय महाविद्यालय प्रथम, बासु मावि द्वितीय र वागीश्वरी मावि तृतीय हुन सफल भए ।
त्यस्तै कबड्डी खेलमा छात्रतर्फ ख्वप मावि प्रथम, मिनर्वा स्कूल द्वितीय, वागीश्वरी मावि र पारागन इ. स्कूल तृतीय भए । कबड्डी छात्रातर्फ साइनिङ स्कूल प्रथम, पारागण इ. स्कूल द्वितीय, वागीश्वरी र ख्वप मावि तृतीय भए ।
सितेरियो कराँते प्रतियोगितामा वागीश्वरी मावि प्रथम, ख्वप मावि द्वितीय र जेन्यून इ. स्कूल तृतीय हुन सफल भए ।
तेक्वान्डो खेलमा सैनिक आवासीय महाविद्यालय प्रथम, वागीश्वरी मावि द्वितीय र श्री पद्म मावि तृतीय भए ।
एथलेटिक्सतर्फ सैनिक आवासीय महाविद्यालय प्रथम, जेसिस इ. स्कूल द्वितीय र वागीश्वरी मावि तृतीय भए ।
उसु खेलमा मेधा मावि प्रथम, बासु मावि द्वितीय र बाल विकास सेकेन्डरी स्कूल तृतीय भए ।
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भलिबल खेलमा सैनिक महाविद्यालयका छात्रा सृष्टि कार्की र छात्रतर्फ सैनिक आ.वि.कै प्रज्ज्वल भण्डारी उत्कृष्ट खेलाडी घोषित भए ।
एथलेटिक्सको छात्रातर्फ जेसिस स्कूलका जेसिका दुवाल, छात्रतर्फ सैनिक महाविद्यालयका सुदिप केसी उत्कृष्ट खेलाडी घोषित भए ।
कबड्डी छात्रातर्फ साइनिङ स्कूलका रेजिना मगर र छात्रतर्फ ख्वप माविका सर्मन प्रजापति उत्कृष्ट खेलाडी घोषित भए ।
तेक्वान्डो छात्रातर्फ सैनिक स्कूलका स्मृति गुरूङ र छात्रतर्फ वागीश्वरी माविका नविन सेन्चुरी उत्कृष्ट खेलाडी घोषित भए ।
सितेरियो कराँते छात्रातर्फ शारदा माविका करूणा तामाङ र छात्रतर्फ माउन्ट भ्याली स्कूलका विकल चवाल उत्कृष्ट खेलाडी घोषित भए ।
उसु खेलको छात्रातर्फ सैनिक आवासीय महाविद्यालयका सिल्भिया प्रजापति र छात्रतर्फ मेधा माविका रोशन विक उत्कृष्ट खेलाडी घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *