भर्खरै :

बालकुमारी प्रदर्शनमाथि प्रहरी दमनमा दुई युवाको मृत्यु

बालकुमारी प्रदर्शनमाथि प्रहरी दमनमा दुई युवाको मृत्यु

काठमाडौँ, १३ पुस (रासस) । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमाथिको प्रहरी दमनमा घाइते भएका दुई युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र शाह र दैलेखका २३ वर्षे सुजन रावत छन् । उनीहरूको उपचारको क्रममा पाटन अस्पताल र किष्ट मेडिकल कलेज अस्पतालमा मृत्यु भएको हो ।
कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन नपाएको भन्दै युवाहरूले शुक्रबार बिहानैदेखि प्रदर्शन गरेका थिए । सो क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए । त्यसपछि भएको झडपको क्रममा उनीहरू घाइते भएका थिए । अनियन्त्रित भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको थियो ।
यसैबिच दुई जना युवाको मृत्युको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको नेतृत्वमा बनाइएको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य हुनुहुन्छ ।
समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको गृहमन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भन्नुभयो, “उक्त घटनामा अहिलेसम्म एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ, प्रहरीसहित सात जना घाइते भएका छन्, घटनाको थप अनुसन्धान जारी छ ।” उहाँले मृत्यु भएका दुईमध्ये एक जनालाई गोली लागेको र अर्का एक जनाको छातीमा दाग देखिएकाले शव परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण जानकारी हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *