के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
मन्त्रिमण्डलको हेरफेरबारे बस, चिया पसलका पसलेहरू एवम् बुद्धिजीवीहरूबिच व्यापक गाइँगुइँ छ । यसमा सबभन्दा बढी मन्त्रिमण्डलको हेरफेर गरी आफ्नो हित हेर्ने नयाँ मन्त्रिमण्डलको निम्ति जोडबल गरिरहनेमा विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने अर्बाँै रकम नतिर्ने अडान लिइरहेका उद्योगपति र विदेशी एकाधिकार पुँजीका एजेन्टहरू छन् ।
विद्युत् प्राधिकरणको अर्बौँ रकम नतिर्ने दाउ हेरिरहेका देशघातीहरू, बैङ्कको ऋणको ब्याज तिर्नुपर्ने स–साना व्यापारीहरूलाई उल्काएर अर्बौँ ब्याज र ऋण नतिर्ने उद्देश्य राखेका माफियाहरू, दसौँ वर्ष देशको विकास पछि पर्ने गरी पुलको करोडौँ करोडको दर्जनौँ ठेक्का लथालिङ्ग पारेर अहिलेको मूल्यमा सरकारबाट रकम पाउन खोज्ने, काम नगरी देश लुट्ने ठेकेदारहरू आफ्नो अपराधको प्रायश्चित गर्नुभन्दा सत्तामा सहभागी दलका भ्रष्ट नेताहरू नै वा अब मन्त्रीमा आफ्नो पालो खोज्न सक्रिय रहेका हिजोका बदनाम र कुख्यात व्यक्तिहरूलाई सत्तामा ल्याउन सक्रिय रहेको राजनैतिक दलहरूमा व्यापक चर्चा छ ।
सय दुई वर्षदेखि युरोपमा बैङ्कपति र व्यापारीहरूले सरकार र सेनालाई आफ्ना थैली खोलेर सरकार हेरफेरमा प्रत्यक्ष हस्तक्षेप गर्थे । आज नेपालमा त्यसकै छाया परेको अनुमान गर्छन् । नेपाली काङ्ग्रेस र अन्य पुँजीवादी राजनैतिक पार्टीका नेता र कार्यकर्ताहरूमा सिद्धान्तप्रतिको आस्था, विश्वासलाई थाती राखेर राजनैतिक नैतिकतालाई समेत त्यागेर शासक दलहरूका कार्यकर्ता मन्त्री पाउन दौडधुपमा छन् । काठमाडौँको बिचौलियाहरूको मनोमानी भाउ तोक्ने तरकारी बजारको भाउजस्तै बिना कुनै मूल्य र नियममा सरकार चलाएर आ–आफ्ना निर्वाचनको घोषणापत्रअनुसार काम गर्ने प्रतिबद्धतालाई तिलाञ्जली दिएर नयाँ मन्त्रिमण्डलमा सामेल हुने पक्का छ ।
‘फकिर बन्न राजनीति नगर्ने’ विचारका पक्ष महाभारतका कौरवहरू थिए । दुर्योधन र दुशासनहरू आफ्ना गुरुलाई समेत राजसत्ताको अहङ्कारको भावमा हेला–होचो गर्ने गर्थे । आखिर भीष्म पितामहजस्ता ज्येष्ठहरूको र द्रोणाचार्यजस्ता गुरुको फकिरीपन र युद्ध नीतिमा बस्ने तथा राजनीतिको सीमा नत्याग्ने विदुरहरूको सल्लाहलाई टेरपुच्छर नलगाउँदा आफ्नो सत्यानास भोगेका कौरवहरूबारे देशका गम्भीर व्यक्तिहरू अवगत नै होलान् ।
आखिर सत्ताकै मातका आधारमा द्रौपदीको चिरहरण र अनेक गुरु र वीरहरूको अपमानको कारण युद्धमा कर्णजस्ता आफ्ना महाबली र निष्ठा पुरुषहरू हुँदा हुँदै रक्तको आहालमा दुःख र परिणाम स्वीकार गर्नुपर्यो ।
नेपालको वर्तमान संसदीय राजनीतिको सत्ताको फोहोर लुछाचँुडीमा सत्ता गठबन्धन र असफल प्रमुख प्रतिपक्ष पनि नैतिक धरातलमा र जनताको आँखामा लज्जास्पद पराजयको नर्कमा पुग्ने निश्चित छ ।
यो शासक दलहरूको पछाडि स्वार्थी व्यक्तिहरू लाम लाग्नुको कारण तिनीहरूबाट केही प्राप्त गर्दै छन् वा केही पद, पैसा र अवसर पाउने आशामा छन् । सत्ताबाट फालिएपछि तिनीहरू मरेका लासजस्तै हुनेछन्† जसरी लासलाई जुम्राले समेत छोडेर जान्छ, त्यस्तै आजका शासक दलहरूका कार्यकर्ता एवम् समर्थकहरूले नेता भन्नेहरूलाई नै छोडेर भाग्नेछन् र अर्कै मालिककहाँ लाम लाग्नेछन् ।
निश्चय पनि डुब्दै गरेको जहाजबाट मुसाहरू भागेजस्तै आजका राजदूत हुने, प्राध्यापक, रेक्टर, रजिस्टर र सचिव हुने पिछलग्गूहरू सबै भाग्नेछन् । समयमै सबैको चेत खुल्नु राम्रो हुनेछ । राम्रो कामले कसैले पछुतो मान्नुपर्ने छैन ।
जनताले चाहेजस्तो नयाँ मन्त्रिमण्डलले काम गर्ने छैन भन्नेबारे कुनै दुविधा छैन । तैपनि, सरल जनता प्रदेश र स्थानीय तहबाटै भए पनि काम–माम–कपडा र छानाको बन्दोबस्त भए हुन्थ्यो भन्ने आशामा छन् । सित्तैमा खाने होइन, काम गरेर खान पाउनुपर्छ भन्ने जनता वास्तवमा महान् छन् । जनता शोषक र जालीफटाहाहरूबाट पीडित छन् । शासकहरूले काठमाडौँमा मात्र नबसी गाउँ र जिल्लामा बसेका जनतालाई सम्झेर काम गरुन् भन्ने चाहन्छन् । चारैतिरको आवाज यही हो ।
Leave a Reply