भर्खरै :

शुद्ध खानेपानीको व्यवस्था गर्नु सरकारको दायित्व

शुद्ध खानेपानीको व्यवस्था गर्नु सरकारको दायित्व

भक्तपुर, १४ पुस । लाकिला खोनपानी तथा सरसफाइ उपभोक्ता समितिको शनिबार दसौँ वार्षिक साधारणसभा सम्पन्न भयो ।
उक्त सभामा नेमकिपाका सचिव एवं सांसद पे्रम सुवालले शुद्ध खानेपानीको व्यवस्था गर्नु सरकारको दायित्व भएको उल्लेख गर्नुभयो ।
पानीकै कारण धेरै रोग लाग्ने हुँदा उपभोक्ता समितिले शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै सांसद सुवालले घर आँगन, टोल सफा राख्न लगाउन जनतालाई शिक्षित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
शुद्ध खानेपानी र सरसफाइको महत्वबारे विद्यालय शिक्षादेखि बताउनुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले घरपरिवारको असमझदारी, झगडा र विवाद हुँदा बालबच्चाको मस्तिष्कमा नकारात्मक असर पर्ने उल्लेख गर्नुभयो ।
जाँड, रक्सी, चुरोटको खर्च केटाकेटीको स्वास्थ्य र शिक्षाको लागि पुग्नेतर्फ सबै अभिभावकहरू सचेत हुनुपर्ने चर्चा गर्दै सांसद सुवालले नयाँ पुस्ता लागुपदार्थमा नफस्ने बनाउन सरकारले आवश्यक कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
एक दुई जना स्रोत साधन सम्पन्न र धनी हुँदैमा समाज राम्रो नहुने उल्लेख गर्दै सांसद सुवालले सरकारको नेतृत्व बरोबर गर्ने तर देश र जनताको हितमा काम नगर्ने प्रधानमन्त्रीहरूको पछाडि नेपाली जनता लाग्न हुने स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो कार्यकालमा अनुभव लिएको, दोस्रो कार्यकालमा केही गर्न खोज्दा गर्न नदिएको आरोप लगाइयो तेस्रो कार्यकालमा काम गरी देखाउने भन्नुभएको एक वर्ष भयो, यो अवस्थामा देशको अर्थतन्त्र ध्वस्त भयो, सांसद सुवालले उल्लेख गर्नुभयो ।
सांसद सुवालले शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मेवारी नलिने प्रधानमन्त्रीहरूको औचित्य नहुने स्पष्ट गर्नुभयो ।
सांसद सुवालले एमसीसी सम्झौताको कारण नेपालमा पनि प्यालेस्टिन र युक्रेनमा जस्तो फासीवादी र साम्राज्यवादीहरूको युद्ध सामना गर्नुपर्ने खतरा बढेको उल्लेख गर्नुभयो ।
नेमकिपा चाँगु नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले स्वास्थ्य शिक्षा शिविर, पाठेघर र स्तन क्यान्सरसम्बन्धी शिविर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्नुभयो । सभामा समितिका कोषाध्यक्ष कृष्णराम सुलुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सभा समितिका अध्यक्ष प्रेमबहादुर सुलुको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *