भर्खरै :

“साम्यवाद” बारे छलफल चालु – समाजवाद साम्यवादमा रूपान्तरण हुने

समाजवाद पुँजीवाद र साम्यवादको बिचको सङ्क्रमण काल मानिन्छ । माक्र्स र एङ्गेल्सले काल्पनिक र समाजवादीहरूको चिन्तनलाई मानव समाजको विकासको ऐतिहासिक पदचिह्नहरूलाई वर्ग विश्लेषण एवं राज्यसत्ताको चरित्रसँग व्याख्या गर्दै पुँजीवाद र साम्यवादसम्म एकै फड्कोमा होइन स्थान र समयअनुसार समाजवादको सङ्क्रमणबाट साम्यवादी समाजमा रूपान्तरण हुने वैज्ञानिक दृष्टिकोण प्रस्तुत गर्नुभयो ।
१) साम्यवादी समाज एक वर्गविहीन समाज हुन्छ । २) वर्गविहीन समाजमा दबाउनुपर्ने कुनै वर्ग नै नहुने हुँदा राज्य सत्ता ‘ओइलाइने’ छ । ३) त्यस समाजमा योग्यताअनुसारको काम र आवश्यकताअनुसारको वितरण हुनेछ वा पाउनेछ । ४) साम्यवादी समाजमा बुद्धिजीवीकरण हुने हुँदा शारीरिक र बौद्धिक कामको भेद हुनेछैन । त्यसको अर्थ त्यस समाजमा शारीरिक श्रम र बौद्धिक श्रमको भेद हट्नेछ । ५) वर्तमान समाजकै यान्त्रीकरण र स्वचालित प्रविधिको विकास हुँदै खेतीपाती र कलकारखाना (उद्योग) पनि यान्त्रीकरण र स्वचालित हुँदा किसान र मजदुरको भेद हट्नेछ ।
साम्यवादी समाजमै निःशुल्क शिक्षा र समाजको बुद्धिजीवीकरणले सबै युवाहरू एक एक विषयको विशेषज्ञ हुनेछन् । उत्पादनका साधन र सेवाहरू सबै समाजको भएको हुँदा वैज्ञानिक र बुद्धिजीवीहरूसमेत कुनै पुँजीपति र कम्पनीको मजदुर नहुने हुँदा सबै समाजका कामदार हुनेछन् जसलाई सर्वहारा बनाउनेछन् ।
६) छरिएर रहेका गाउँहरू अनेक योजनाबद्ध सहरहरूको विकास हुनेछ । ती साना–ठुला सहरहरू उत्पादनमा विशेषतासहितका हुनेछन् । सहरमा चिडियाघर, म्युजियम (सङ्ग्रहालय), ब्रह्माण्डको अध्ययन गर्ने ‘नक्षत्र अध्ययन स्थल’ आदि हुनेछन् ।
यसप्रकारले त्यो साम्यवादी समाजमा गाउँ र सहरको भेद हट्नेछ । तर, सहरहरूको रूप र आकार एवं भवनहरूको वास्तुकलामा नगर हेरी फरक फरक रहनेछ । आज पनि चीन, भियतनाम, प्रजग कोरिया, क्युवाजस्ता समाजवादी देशहरूको आ–आफ्नै ‘चरित्र भएका’ कार्यशैली र वास्तुकला छन् ।
समाजवाद कसरी सङ्क्रमणकाल हुनेछ ?
१) पुँजीवादी व्यवस्थाको विरोधमा सङ्घर्षबाट प्राप्त हुने समाजवादी व्यवस्था उत्पादनका सबै साधन, उद्योगधन्दा र ठुलठुला खेती, निजी पोखरी र वनजङ्गल, चरण एवं बैङ्क, हवाई, रेल, बस सेवा सबै समाजको हुनेछ । त्यस्तै निजी विद्यालयदेखि विश्वविद्यालय सबै समाजको हुनेछ ।
एक एक पाइला गर्दै उद्योगपति, जमिनदार, साहुमहाजन र बैङ्कपतिहरूले कामदार जनताकै सेवामा काम गर्नेछन् । प्राध्यापक, वकिल, डाक्टर, वैज्ञानिक र अनेक प्राविधिकहरू सबै निजी संस्थाका कामदारहरू समाजका कामदार वा स्वयंसेवक हुनेछन् । कुनै व्यक्ति वा कम्पनीका नोकर हुनेछैनन् ।
पुँजीवादी व्यवस्थाबाट समाज मुक्त भएको एक ऐतिहासिक समयसम्म समाजवादी समाजको सुरुको चरणमा ‘नयाँ शिशुमा गर्भको रगतको टाटा’ रहेजस्तै भ्रष्टाचार, जातीय र भाषिक भेदभाव, वर्गीय भेदभाव रहनेछन् । बिस्तारै त्यस्ता भेदभावहरू पनि चेतनाको स्तर र पेसाको मित्रताले सामाजिक र वर्गविहीनतातिर समाज अग्रसर हुँदै जानेछ ।
१) समाजवादमा योग्यताअनुसारको काम र कामअनुसारको ज्याला प्राप्त गर्नेछ । प्रत्येक युवाले व्यक्तित्व विकासमा समान अवसर पाउनेछन् ।
३) विभिन्न जातजाति र भाषाभाषीहरूको बिचमा समानस्तरको शिक्षा र वैज्ञानिक दृष्टिकोणको विकासमा प्राथमिकता दिइनेछ ।
४) समाजवादी समाज एकपछि अर्को परिष्कृत चरण पार गर्दै साम्यवादी समाजमा पदार्पण हुँदै जानेछ । तर, समाजमा वर्गीय दृष्टिकोण परिपक्व नभएसम्म, पुँजीवादी राज्य सत्ताको प्रभाव प्रबल भएसम्म पूर्वी युरोपमा जस्तै पुँजीवादको पुनःस्थापना पुँजीवादी व्यवस्थामा क्षणिक राजतन्त्र पुनःस्थापना हुने सम्भावना रहन्छ । अन्ततः समाजवादकै विजय हुन्छ र समाजवादबाट विश्व नै एक साम्यवादी समाजमा रूपान्तरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *