भर्खरै :

पुजारी मठ पुनःनिर्माण कार्य माटो जोडाइबाट सम्पन्न गर्नुपर्नेमा जोड

पुजारी मठ पुनःनिर्माण कार्य माटो जोडाइबाट सम्पन्न गर्नुपर्नेमा जोड

भक्तपुर, २३ पुस । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको विशेष आतिथ्यमा काठमाडौँ उपत्यका विश्व सम्पदा स्थलको संरक्षण एवम् व्यवस्थापनको लागि गठन गरिएको ‘समन्वय कार्य समिति’ (Coordinative Working Committee- CWC) को बैठक सोमबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
सी. डब्लु. सीका संयोजक पुरातत्व विभाग, सम्पदा संरक्षण शाखाका प्रमुख रमेशराज पौडेलको संयोजकत्वमा बसेको उक्त बैठकमा युनेस्कोमा संरक्षणको अवस्थाको रिपोर्ट पठाउने र भक्तपुर दरबार क्षेत्रस्थित सिंहध्वाका दरबारको संरक्षण सम्बन्धमा भएको प्रगतिबारे छलफल भयो ।
बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको सम्पदा संरक्षण र पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगिसकेको बताउँदै उपत्यकास्थित विश्व सम्पदामा सूचिकृत काठमाडाँै, भक्तपुर र ललितपुरको दरबार क्षेत्र, चाँगुनारायण, स्वयम्भूजस्ता सम्पदाहरू नेपालका सांस्कृतिक धरोहरहरूको रूपमा रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ को दत्तात्रयस्थित विश्वप्रसिद्ध मयुर झ्याल रहेको ऐतिहासिक पुजारी मठ पुनःनिर्माणको क्रममा साबिकमा माटो जोडाइको भवन रहेकोले सोहीअनुसार सम्पदाको मर्मबमोजिम माटो जोडाइबाट नै पुनःनिर्माण गर्नुपर्नेमा चुना सुर्की प्रयोग गरी पुनःनिर्माण गरिएको हुँदा हाल उक्त पुनःनिर्माण कार्य रोकिएको बताउँदै उहाँले सम्पदाहरूलाई अपाङ्गमैत्री बनाउन छुट्टै नीति आवश्यक भएको बताउनुभयो ।
बैठकमा उहाँले नेपाल सरकार संस्कृति मन्त्रालय, पुरातत्व विभाग र नगरपालिकाको संयुक्त बैठकले भक्तपुरको राष्ट्रिय कला सङ्ग्रहालय भएको भवन मल्लकालीन शैलीमा बनाउने निर्णय गरे पनि युनेस्कोको ‘सहमति चाहिने’ भन्दै हालसम्म त्यसको पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेको बताउनभयो ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदाहरूको संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यले गठित समन्वय कार्य समितिको गठन भएको बताउनुभयो ।
उहाँले चुना सुर्की र सिमेन्टबाट बनेका संरचनाहरूभन्दा माटो जोडाइका संरचनाहरू तुलनात्मकरूपमा बलियो रहेको बताउँदै उहाँले सम्पदा संरक्षण र पुनःनिर्माण कार्य प्राप्त प्रमाणको आधारमा मौलिक शैलीमा अगाडि बढाउन विभाग क्रियाशील रहेको बताउनुभयो । भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पुजारी मठको संरक्षण र पुनःनिर्माण कार्य मौलिक स्वरुपअनुरुप माटो जोडाइबाट हुनुपर्ने, दरबार क्षेत्रस्थित राष्ट्रिय कला सङ्ग्रहालयमा राखिएको टेको व्यवस्थापन गर्नुपर्ने र भनपा ९ को ब्रह्मायणी मन्दिर जीर्ण अवस्थामा रहेकोले पुनःनिर्माण कार्य गर्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा सम्पदा शाखाका शाखा प्रमुख रामगोविन्द श्रेष्ठले भक्तपुरको सम्पदाहरूको पुनःनिर्माण र संरक्षणको अवस्थाबारे जानकारी दिनुभएको थियो ।
बैठकमा समन्वय कार्य समितिका सदस्यहरू ललितपुर महानपा सम्पदा शाखा, चाँगुनारायण नपा, पशुपति क्षेत्र विकास कोष, हनुमानढोका दरबार हेरचाह अड्डा, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय ललितपुर तथा स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुर, राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुर, बौद्धनाथ क्षेत्र विकास समिति, स्वयम्भु व्यवस्थापन तथा संरक्षण महासमिति, युनेस्कोको काठमाडौँ कार्यालय र पुरातत्व विभागका प्रतिनिधिहरूले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदाकहरूको जीर्णोद्धारका विषयहरूमा आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *