भर्खरै :

किम इल सङको ८० औँ शुभजन्मोत्सव – ३

किम इल सङको ८० औँ शुभजन्मोत्सव – ३

दोस्रो भ्रमण
वैशाख १–१६, २०४९ (Apr. 13-28, 1992)

कैसोङ मनोरञ्जन स्थल
बिहान ११ बजेतिर हामी सूर्यविनायक, गोदावरी, स्वयम्भुजस्ता मनोरञ्जन स्थलहरूमा गयौँ । आइतबार बिदाको दिन थियो । सयौँ हजारौँ केटाकेटी, युवकयुवती र परिवारका परिवार नै घुम्न आइरहेका थिए । केही आफ्नो खाना बोकेर आएका थिए भने केहीले त्यहाँ पसलमा किनेर खाए ।
त्यहाँ जेट कोप्टर भन्ने बिजुलीले चल्ने सानो रेल, बिजुलीले चल्ने कार, घुम्ने पिङ, फूलजस्तो घुम्ने घोडा आदि अनेक मनोरञ्जनका साधनहरू राखिएका छन् । हामीले पनि मनोरञ्जनमा भाग लियौँ । जीवराज आश्रितजीले भन्नुभयो, “खतरनाक खेल त बन्दै गर्नुपर्ने, मेरो त मुटु नै बाहिर निस्कन लागेको जस्तो अनुभव भयो ।” झरना, पोखरी, डुङ्गा आदिको राम्रो बन्दोबस्त गरिएको छ । वनभोजको राम्रो थलो !

विजयद्वार
दिउँसो २ः३० बजे हामी एक ऐतिहासिक स्मारक विजयद्वार हेर्न गयौँ । टाढाबाट सा¥है सानो देखिने र त्यसबारे अनुमान नै गर्न नसकिने ‘विजयद्वार’ हे¥यौँ ।
सन् १९४५ मा जापानविरोधी लडाइँमा विजय प्राप्त गरेपछि का. किम इल सङ र गुरिल्ला योद्धाहरुलाई जनताले त्यही स्वागत गरेका थिए । त्यसबेला का. किम इल सङले जुन ठाउँमा भाषण गर्नुभएको थियो, त्यस ठाउँमा अहिले ‘किम इल सङ रङ्गशाला’ निर्माण भएको छ ।
का. किम इल सङको ७० औँ जन्मोत्सवमा तयार गरिएको विजयद्वारमा १.५ टन ग्रेनाइटमा ७० वटा फूलहरू पनि कुँडिएको छ । त्यो द्वार ३००० कलाकारहरूले १४ महिनामा १५०० टन ढुङ्गाबाट निर्माण गरेका हुन् । ढोकाको मात्रै उचाइ २७ मिटर र चौडाइ १८ मिटर छ र १५.१ मिटर आयातकारको छ । यसको डिजाइन कलाकार शोखांखोले गरेको हो । तीनतले ढोकाको जम्मा उचाइ ६० मिटर छ भने चौडाइ ५० मिटर र ३६ मिटर लामो छ । यसको निर्माण शैली कोरियाली र आधुनिक छ । ४ वटा ठुलठुला कुँडिएका मूर्तिहरूमा विजयपछि का. किम इल सङ र गुरिल्लाहरूलाई स्वागत गर्न पर्खिरहेका जनता, हातमा फूलका गुच्छा लिएका केटीहरू, किसान र मजदुर, देशको प्रगतिको निम्ति मजदुर, किसान र बुद्धिजीवीहरू कुँडिएका मूर्ति छन् । त्यसमा १९२५–१९४५ र बिगुल बजाएका चित्रहरू र ‘जनरल किम इल सङको गीत’ भनी कुँडिएको छ ।
का. किम इल सङका बुबाले पहिले मञ्चुरियामा राजनैतिक गतिविधि गर्नुभएको थियो । पछि उहाँ पक्राउ पर्नुभयो । त्यसैले का. किम इल सङ त्यही बसेर काम गर्नुभयो र २० वर्षपछि विजय पनि प्राप्त गर्नुभयो । विजयपछि देश फर्कनुभएको थियो ।
हस्तकला (कार्चोपी) केन्द्र (८ वैशाख, २०४९/20 Apr., 1992)
१९७८ मा स्थापना भएको यस हस्तकला केन्द्रका एक महिला इन्जिनियरले हाम्रो स्वागत गर्दै विभिन्न कोठाहरूमा लगिन् । त्यहाँ हातले बुट्टा भर्ने र कलले लुगा सिउने गरी दुई विभाग छन् । एकदिन अगाडि बिदाको दिनमा बैठकमा भाग लिएको हुँदा मजदुरहरू हाजीर भएका थिएनन् ।
त्यहाँ टेबिल पोस, टी.भी. छोप्ने खोल, चटाइ, चकटी खोल, केटाकेटीको लुगामा छाप लगाउने र विभिन्न चित्रहरू भर्ने काम हुन्छ ।
मौलिकरूपले जम्मा २४ रङ्ग हुँदो रहेछ । ती रङ्गहरू मिलाएर तथा अन्य रङ्ग बनाउने काम पनि हुन्छ । यस कारखानाका १५ जना चित्र कोर्ने कलाकारहरूले सुन्दर दृश्य पहाड, नदीनाला वा दर्शनीय ठाउँहरूमा गएर चित्र बनाउँछन् र त्यही चित्र हेरेर अरुले कार्चोपी वा बुट्टा भर्ने गर्छन् । बुट्टा भर्ने ६० जना कलाकारहरू यस कारखानामा कार्यरत छन् । तीमध्ये १५ जना महिलाहरू आफैँ चित्रकार र आफैँ बुट्टा भर्नेछन् । विश्वविद्यालय र अन्य ठाउँबाट आएको चित्रअनुसार बुट्टा भर्ने काम पनि हुन्छ । एकजना चित्रकारले लगातार ४ महिना लगाएर लेखेको चित्रलाई हेरेर ४० दिनमै बुट्टा उतार्न सफल भएको छ । कोठा कोठामा हेर्दा बुट्टाहरू साँच्चैको जस्तो थियो । दुवैतिर एउटै बुट्टा देखिने हस्तकला पनि हेर्न पाइयो ।
बुट्टाहरूको विषय माछा, चरा–चुरुङ्गी, कुखुराको भाले, डाँफे, कुकुर, हरिण, भालु, पोखरी, झील, झरना, वन जङ्गल, पहाड–पर्वत, खेत–खलिहान, गाउँ र सहर, समुद्र, आइमाईहरू, परीहरू, फूलहरू आदि वस्तुहरू र स्थलहरू रहेको पाइयो ।
मेसिनले छिटोछिटो बुट्टा भरेको र हातले बुनेको पनि हेरेँ । यसरी यस क्षेत्रको विकास देखेँ भने अर्कोतिर धेरै मानिसहरूले काम पाउने सम्भावना पनि देखेँ ।
हाक्साङ सहकारी
बिहान १० बजे म दोस्रोपटक हाक्साङ सहकारी पुगेँ । १५ वर्षदेखि अध्यक्ष रहनुभएका उही पुरानै किसान साथीले स्वागत गर्नुभयो ।
सन् १९५४ मा ३० (तीस) परिवारबाट सुरु भएको यस सहकारीमा १९५८ मा २५० देखि ३०० परिवारसम्म अटाउने अर्थात् झन्डै एक गाउँ (१ डी) मा विकास भयो । १९६० मा ४ डी मिलाएर १११० परिवार यसमा समावेश छन् ।
यस सहकारीको अहिलेको बनावट यस्तो छ –

किसान श्रमशक्ति २,८००
नर्सरी र बालोद्यानका केटाकेटी १,२००
स्कूल पढ्ने छात्रछात्रा १,१००
अवकाश प्राप्त बुढाबुढी ५००
जम्मा ५,६००

त्यस सहकारीमा ६ वटा स्कूल र ४ वटा अस्पताल छन् । त्यसको खर्च कोरियाको सरकारले व्यहोर्ने गर्छ ।

यस सहकारीको जम्मा क्षे.फ १४०० हेक्टर
धानबालीको मात्रै जम्मा क्षे.फ ८५० हेक्टर
गैरधानबालीको जम्मा क्षे.फ ४०० हेक्टर
अन्य चरण वा पशुशालाको निम्ति जम्मा क्षेत्रफल १५० हेक्टर

धान, तरकारी, पशुपालन, फलफुल खेती आदिको निम्ति ३० श्रमदल छन् । एक श्रमदलमा ७० देखि १५० सम्म श्रमशक्ति हुन्छ । शाखा श्रमदलको पनि बन्दोबस्त छ । एक शाखा श्रमदलमा १२ देखि २० जनासम्मको श्रमशक्ति हुन्छ । यस सहकारीमा मेसिनरी औजारसम्बन्धी काम गर्ने अलगै कार्य टोली छ । कृषिका अन्य साधनहरूको विवरण निम्नानुसार छन् –
लहरी वा ट्रक २० वटा
बिजुलीले पानी तान्ने मोटर ३०० वटा
ट्याक्टर ८० वटा
धान रोप्ने, धानको बीउ उखेल्ने सफा गर्ने, औषधी छर्ने, धान काट्ने र झार्ने गरेर १,००० वटा
लोककल्याणका सुविधाहरू निम्नानुसार छन् –
स्कूल ४ वटा
डाक्टर भएको अस्पताल ४ वटा
नुहाउने ठाउँ
शिशुशाला
बालोद्यान
त्यहाँ १०० परिवारलाई एक डाक्टरको हिसाबले सेवा पु¥याउने बन्दोबस्त छ ।
त्यस सहकारीका ज्यावलहरू मर्मत गर्ने एउटा ज्यासल र त्यसबारे तालिम दिने एउटा तालिम केन्द्र पनि सञ्चालित छ ।
त्यस सहकारीको धान उत्पादन प्रतिहेक्टर ८.५ टन र मकै ८.२ टन रहेको छ । तर, यस सहकारीलाई वर्षको १५ टन खाद्यान्न भए खानलाई पुग्छ । एक तथ्याङ्कअनुसार १९९१ मा धान र मकै गरेर यस सहकारीले ९,२०० टन, प्रतिटन ४२१ वन (कोरियाली मुद्रा) मा सरकारलाई बेच्यो । सरकारले महँगोमा किनेर प्रतिकिलो ८० वन अर्थात् पैसामा बेच्छ । (१ टन बराबर १००० किलो हुन्छ ।)
खर्च, लोककल्याण, ज्यावल र अन्य भइपरिआउने र योजनालाई छुट्याएर अरु सबै आम्दानी श्रमदिनको हिसाबले काम गर्ने किसानहरूमा दामासाही वितरण या पारिश्रमिक दिइन्छ । १९९१ मा प्रतिव्यक्ति महिनाको सालाखाला १३० वन प्राप्त गर्यो र एउटा परिवारले ४,४०० वन (करिब १ लाख १० हजार ने.रु.) प्राप्त ग¥यो ।
काम गरिसकेपछि २–३ जनाको काम जाँच्ने समितिले कामको मूल्याङ्कन गर्छ र त्यस कामको अङ्क या श्रमदिनको रूपमा जम्मा गर्छ । राम्रो मेहनत गर्न सक्ने किसानले ८५० सम्म अङ्क अर्थात् श्रमदिन प्राप्त गरेको थियो । त्यस्ता किसानले महिनामा अरुको भन्दा बढी आम्दानी गर्छन् । रोप्ने काम अरुभन्दा गा¥हो हुनाले ४०० श्रम अङ्कसम्म पाउँछ । हरेक श्रमदललाई एक निश्चित तोकिएको काम सिध्याउनुपर्ने हुन्छ । श्रमदलको इन्चार्जको कामको मूल्याङ्कन एक उपदलले गर्छ ।
हरेक परिवारलाई तरकारी खेतीको निम्ति प्रतिव्यक्ति ३–३ वर्गमिटर बारी दिइएको हुन्छ । एक परिवारले सदस्य सङ्ख्या हेरी १२ देखि ३० वर्गमिटरसम्म पाएका छन् । कोरियाली भाषामा १ प्योङको ३ह३ वर्गमिटर हुन्छ । कुनै परिवार या व्यक्तिले कर तिर्नुपर्दैन । त्यस्तै पढाइ, अस्पताल जाँच, औषधि र भर्ना हुँदाको शुल्क तिर्नुपर्दैन ।
त्यस सहकारीका महिलाहरूले आवश्यक सुविधासहित १५० दिनको सुत्केरी बिदा पाउँछन् । लोग्नेमानिसहरूलाई ६० वर्ष र महिलाहरूलाई ५५ वर्ष पुगेपछि अवकाश दिइन्छ । अवकाश प्राप्त गरेकाहरूको निम्ति आवश्यक सबै बन्दोबस्त सरकारले गर्छ ।
त्यस सहकारीका अध्यक्षमा किम हो सोक (Kim Ho Sok) १५ वर्षदेखि कार्यरत हुनुहुन्छ । सहकारीमा उहाँ १९७५ देखि किसान बन्नुभएको थियो । उहाँका १ छोरा सेनामा, अर्को छोरा सहकारीकै किसान भएर कार्यरत छन् भने छोरी कृषि विषयमा विश्वविद्यालयमा अध्ययन गर्दै छिन् ।
सहकारीको अध्यक्षको पद इन्जिनियर जतिको हुन्छ । हरेक वर्ष अध्यक्षको चुनाव हुन्छ । १ डी (DI) अर्थात् गाउँ विकासको माथि काउन्टी, काउन्टीमाथि प्रान्तीय समिति र केन्द्रीय कृषि कमिसन (आयोग) हुन्छ ।
त्यसपछि हामी श्रमवीरको घर, कृषि ज्यावलको ज्यासल, कृषि तालिम केन्द्र र अस्पताल हेर्न गयौँ । त्यस सहकारीको जाडोमा खेतीको कार्य सकेपछिको कृषिसम्बन्धी, पशुपालन र फलफुलसम्बन्धी नयाँ प्रविधि र ज्ञान दिने तालिम कक्षामा गएर हेर्दा कलेजको सम्झना भयो ।
Methene Gas Plant अर्थात् गोबर ग्यासबाट कोठाहरू न्यानो राख्ने पनि बन्दोबस्त हेरेँ ।
ऐतिहासिक सङ्ग्रहालय
दिउँसो २ बजे हामी ऐतिहासिक सङ्ग्रहालय (Historical Museum) पुग्यौँ । त्यस भवनका १९ वटा कोठाहरूमा पुरानो ढुङ्गेयुग, मध्य पाषाण युग, नवपाषाण युग, धातु वा Bronze (काँस्य) युग, ईशा पूर्व २००० र १००० वर्षअगाडिको दास युग, २००० वर्ष अगाडिको सामन्तवादी काल अर्थात् मध्य युग, विदेशी आक्रमण, १७ औँ शताब्दीमा पुँजीवादको सुरुआतदेखि १९१९ को मई विद्रोहसम्मको ऐतिहासिक सामग्रीहरूबाट कोरियाको इतिहासलाई प्रदर्शित गरिएको थियो ।
सन् १९४९ डिसेम्बर १ देखि सङ्ग्रह गर्न थालिएको यस सङ्ग्रहालयको पहिलो कोठामा १ लाख ५० हजार वर्ष पहिले आदिम समाजका मानिसहरू कसरी गुफामा बसेर जीवनयापन गर्ने भन्ने देखाइएको थियो ।
१५ लाख वर्षभन्दा बढी पुरानो २९ प्रकारका पशुपन्छीका हाडखोरबाहेक ३५ वर्ष उमेरको नयाँ पाषाण युगका मानिसको तल्लो दाँतसहितको बङ्गारा प्रदर्शन गरिएको थियो ।
तेस्रो कोठामा, ईशापूर्व २२०० वर्ष पुरानो अर्थात् ४ हजार वर्ष पहिले कोरिया धातु वा काँसको युगमा पदार्पण गर्दाका सामान र जीवनशैली प्रदर्शित थियो । त्यसबेला निजी सम्पत्ति र राज्यको पनि विकास भइसकेको थियो । त्यसबेलाको जातीय नाइके अर्थात् Chief of the tribe को समाधिस्थल (चिहान) ४–४ घेराको बनाइएको थियो ।
चौथो कोठामा ई.पू. १००० देखिको सामग्री थियो । ७ सय वर्ष अर्थात् ३००० वर्षदेखि १६००–१७०० वर्ष पहिले कोरियामा दासयुगको प्रादुर्भाव भएको देखाइएको थियो । त्यसबेलाको दास मालिकको चिहानमा २२ वटा घोडा पनि जिउँदै गाडिएको थियो । त्यसबेला राजा–रजौटाहरूको विकास पनि भइसकेको देखिन्थ्यो ।
पाँचौँ कोठामा २००० वर्षदेखि १९ औँ शताब्दीको मध्य भागसम्मलाई सामन्ती समाज वा मध्यकालीन युग भनियो । कोगुरो (Koguryo) वंश त्यसै अवधिमा सुरु भयो । सन् ६१२ मा अर्थात् १३८० वर्षअगाडि सुङ्ग वंश थियो र विल चे मोन्डो भन्ने जनरलको नेतृत्वमा र सन् ६४५ अर्थात् १३४७ वर्ष अगाडि ताङ वंशको पालामा जनरल जन गे सोमुको नेतृत्वमा विदेशी आक्रमणको विरोधमा सङ्घर्ष गरेका थिए ।
छैटाँै कोठामा कोर्यो (Koryo) वंशको १९ औँ राजाको चिहान र ताङ वंशको पहिलो राजाको चिहान पनि देखाइएको थियो । ताइक्वान्डोको प्रचलन पनि त्यसैबेला भएको थियो ।
सातौँ कोठामा १४०० वर्ष अगाडिको पूर्वको सबभन्दा पहिलो आकाश गङ्गासहितको ब्रह्माण्ड अर्थात् तारामण्डल देखाइएको थियो । त्यसैबेला प्योङयाङमा कागज पनि भेटाइएको थियो । अर्थात्, त्यसबेला कोरियामा ज्योतिष शास्त्रको विकास र कागजको आविष्कार भइसकेको थियो ।
आठौँ कोठामा राजारानीको चिहान र भित्तेचित्र लेखिएको थियो । त्यस समयको दरबारमा हरेक दिन दरबारियाले राजालाई रिपोर्ट दिइरहेको (जाहेरी सुनाइरहेको) र ३ वीरहरूलाई रिपोर्ट दिइरहेको, नाचगान र एक्रोबेटिक (सर्कस) पनि भित्तेचित्रमा अङ्कित थियो ।
नवौँ कोठामा पेक्जे (Peakje) वंश (सन् ६१६) र सिला वंश (सन् ६६०) को बेला उत्तर भारत र चीन हुँदै बुद्ध धर्मको प्रचार कोरियामा भएको मानिन्छ । तर, दक्षिणी भागमा पहिलो शताब्दीमै बुद्धवाद भित्रिएको विश्वास गरिन्छ । हे चो भन्ने एक कोरियाली भिक्षु चीन, इण्डोनेसिया, भारत, इरान आदि देशमा गएका र उनी नेपालको काव्यारा भन्ने ठाउँमा पनि गएका थिए । यसैबेला कायोग्राम भन्ने राष्ट्रिय बाजा र बेधशाला बनाएका थिए ।
दसौँ कोठामा ७ देखि १० शताब्दीको पाल्हे (Palhae) वंशको शासन काल र त्यसबेलाको ढुङ्गाको बत्ती बाल्ने ठाउँ आदि प्रदर्शित थियो ।
एघारौँ कोठामा सन् ९८० देखि १३९२ सम्मको सामन्ती राज्य कोर्यो वंशको ऐतिहासिक वस्तुहरू प्रदर्शित थिए । त्यसबेलाको सुनका अक्षर लेखिएका पाताहरू जापानीहरूले लुटेर लगेको र पुनः फर्काइएको पनि प्रदर्शित छ । कोर्यो वंशले नै कोरियाली एकीकरण वा शक्तिशाली केन्द्र र एकीकृत राज्य स्थापना गरेको थियो । त्यही वंशबारे देशविदेशमा प्रचार भयो र त्यसैबाट विदेशमा यस देशको नाम नै ‘कोरिया’ हुन गएको हो भनिन्छ । कोर्यो वंशले झन्डै ५०० वर्ष राज्य गर्यो ।
बा¥हौँ कोठामा चीन र मङ्गोलियाको चङ्गेज खाँ र १४ औँ शताब्दीमा जापानसँग भएका लडाइँहरूबारे प्रस्ट पार्ने चित्र, युद्ध सामग्री र युद्धका तस्बिरहरू देखाइएको थियो । बारुदले चल्ने बन्दुक र अन्य तोपहरू पनि त्यहाँ प्रदर्शित थिए ।
ते¥हौँ कोठामा १३ औँ शताब्दीका छापा (टाइप), १५ औँ शताब्दीको सियोको उपचार चञ्चु वा अकुपञ्चर, वर्षामापक यन्त्र (Rain Gauge) इटालीले भन्दा ३०० वर्ष पहिले पत्ता लगाएका कुराहरू प्रदर्शित थिए । पूर्वको सबभन्दा पुरानो विश्वको नक्सा, १५ औँ शताब्दीको सूर्य घडी (सन् १४३५), पानी घडी, रात र दिनको सङ्केत दिने ४ प्रहर र २४ घण्टाको फरक देखाउने प्रविधि, सैनिक र साधारण जनताको पोशाक, सिंहमर्मरको बाजा बजाउने जल तरङ्ग, काँस (Bronze) को जल तरङ्ग, १६ वटा पाता, २१ वटा बहना र बिचमा झ्याल जस्तै तोप हान्ने प्वाल भएको कछुवा आकारको युद्धपोतको नक्कल प्रदर्शित थिए । ३५ मिटर लामो र माथिल्लो भागमा दुम्सीको शरीरजस्तै चुच्चे किल्लाहरू वा काँडाहरू राखिएका जहाजको नक्कल प्रदर्शित थियो ।
चौधौँ कोठामा लि वंशको बेला अर्थात् १७ औँ शताब्दीमा कोरियामा पुँजीवादको विकास देखाइएको थियो । कोर्यो वंशपछि कोरियामा लि वंशको प्रादुर्भाव भयो । त्यस लि वंशले पनि ५०० वर्षभन्दा बढी समय राज्य गरेको बताइयो । त्यो वंशको अन्तिम सामन्ती राज्य थियो ।
सन् १८६६ मा जनरल शरमानको नेतृत्वमा तायडोङ नदीमा संरा अमेरिकी साम्राज्यवादले हमला गरेको थियो । त्यसबेला महान् नेता किम इल सङका हजूर बुबा किम न्योउको नेतृत्वमा सारा जनतालाई उठाएर अमेरिकी जहाज, अमेरिकी सिपाहीहरू र बन्दुकहरू पक्राउ गरेका थिए । सन् १८८९ का सुधारवादी नेता किम ओक कुन र १९१९ को मई महिनाको ५८ वर्षका का. किम इल सङले पनि भाग लिनुभएको चित्र पनि प्रदर्शित थियो ।
यसप्रकार २ घण्टाभन्दा बढी ऐतिहासिक सङ्ग्रहालयमा सङ्कलित इतिहासभन्दा अघि र पछिका वस्तुहरू र चित्र हेर्दै कोरियाको वनमान्छे र पाषण युगदेखि पुँजीवादी समाजसम्मको समाज विकासका क्रमहरूको कल्पना गर्दै बिदा लियौँ । अपराह्न ४ बजे कोरिया मजदुर पार्टीका सचिवसँग औपचारिक वार्ता र साँझ ६ बजे कोरियो होटलमा रात्रिभोजमा गयाँै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *