भर्खरै :

शिक्षा क्षेत्रमा गरेको लगानी देश र समाजको लागि उपलब्धिपूर्ण

शिक्षा क्षेत्रमा गरेको लगानी देश र समाजको लागि उपलब्धिपूर्ण

भक्तपुर, २४ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको शिक्षा क्षेत्रमा गरेको लगानी देश र समाजको लागि उपलब्धिपूर्ण भएको बताउँदै भक्तपुरको शिक्षा मोडल अन्य स्थानीय तहको लागि अनुकरणीय र चर्चाको विषय भएको बताउनुभयो ।
बाल विकास सेकेन्डरी स्कूलको वार्षिक भेटघाट कार्यक्रममा मङ्गलबार उहाँले बाल विकास सेकेन्डरी स्कूलले विद्यार्थी र अभिभावकको मन जितेर गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउँदै विद्यालयमा कार्यरत शिक्षक शिक्षिका, कर्मचारी, आया दिदीहरूलाई पनि राजनैतिक र सामाजिकरूपमा प्रशिक्षित गर्नुपर्ने धारणा राख्नुभयो ।
कामदारवर्गलाई सेवा सुविधा दिने विषयमा विद्यालय सजग हुनुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले विद्यालय जीवनदेखि नै विश्व इतिहास र भूगोल राम्रोसँग अध्यापन गराउन सके ती विद्यार्थीहरू तुलनात्मकरूपमा अगाडि बढ्ने बताउनुभयो ।
सरकारले विश्व व्यापार सङ्गठनको सदस्यता लिएसँगै नेपालमा शिक्षा क्षेत्रमा व्यापारीकरण र निजीकरणको नीति अगाडि बढेको बताउँदै उहाँले सरकारले ख्वप विश्वविद्यालय सञ्चालनको अनुमति दिएको खण्डमा रु. १५ लाखमै एमबीबीएस पढाउन सम्भव भएको बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाहरूमा विद्यार्थीको अनुशासन र शैक्षिक गुणस्तरका कारण देशभरका विद्यार्थीहरूको शैक्षिक आकर्षणको केन्द्रको रूपमा विकास भइरहेको बताउँदै उहाँले विद्यालयले तालिम, शिविर र अध्ययन गोष्ठीहरू औपचारिकताको लागि नभई समग्र विद्यार्थी र शिक्षकहरूको चेतनास्तर अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका अग्रजहरूको दूरदर्शी सोच र चिन्तनले बाल विकास स्कूलले आजको प्रगति र सफलता हासिल गरेको बताउँदै शिक्षाको माध्यमबाट समाजमा सुधार ल्याउने र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य क्रमशः पूरा हुने बताउनुभयो ।
उहाँले २०४५ सालको भक्तपुर काण्डले विद्यालयको अस्तित्व नै सङ्कटग्रस्त अवस्थामा पुगेको उल्लेख गर्दै विद्यालयलाई आजको अवस्थामा ल्याइपु¥याउने सबैको स्मरण गर्नुपर्ने बताउनुभयो ।
उहाँले शिक्षामा निजीको बोलवाला रहेकै कारण शासक दलले शिक्षालाई सेवाभन्दा पनि उद्योगको रूपमा विकास गर्न खोजिरहेको बताउनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले जनताका छोराछोरीलाई राम्रो वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले २०४४ सालबाट सुरु भएको बाल विकास स्कूलले धेरै दक्ष जनशक्ति उत्पादन गरिसकेको अवगत गराउनुभयो ।
सांसद गोसाईले विद्यालय परिवारको एकमनको एकताले विद्यालय आजको अवस्थामा आइपुगेको बताउँदै उहाँले विद्यालयलाई सकारात्मकरूपमा मार्गनिर्देशन गर्ने अग्रजहरूको भूमिका स्मरणीय रहेको बताउनुभयो ।
शिक्षामा भक्तपुरलाई नमुना बनाउने अग्रजको सपना पूरा भएको बताउँदै उहाँले समाज परिवर्तन गर्ने उत्कट अभिलाषाका साथ बाल विकास स्कूल जनताको मन जितेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले शैक्षिक संस्थाहरू समाज र देशको भविष्य निर्माण गर्ने थलोको रूपमा रहेको बताउँदै बाल विकासका शिक्षकहरूलाई पनि राजनैतिकरूपमा शिक्षित गर्ने दबुको रूपमा अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, इसानका अध्यक्ष प्रेमजन थापा, कोषाध्यक्ष उकेश कवांले पनि बोल्नुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रजापतिले धन्यवादज्ञापन, विद्यालयका शिक्षिका सीता प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षिका सुलोचना छ्वाजुले पनि बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा शिक्षक जयराम प्रजापतिले बाल विकास स्कूलको शैक्षिक अवस्था, विद्यार्थी र शिक्षकहरूको तथ्याङ्क, विभिन्न गतिविधि र विद्यालयको भावी कार्यक्रमबारे जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *