भर्खरै :

गठबन्धनमा हेपिएका साना दलहरूको एक चर्चा

२७ पुस २०८० को नेपाल समाचारपत्रको एक शीर्षक हो– ‘गठबन्धनमा हेपिएका साना दल’ । शीर्षक हेर्दा तत्कालै कसैले उत्तर दियो, ‘माग्नेलाई तातो भात’ ! त्यस उत्तरलाई अर्कोले प्रतिउत्तर दियो, “त्यो जमाना गयो, व्यवहारको ! यो राजनीति हो, स–साना दलहरू मिलेमा हात्तीलाई पनि फन्दामा पार्ने सम्भावना छ ।”
छलफल पुस्तकालयको चिया पसलमा पुग्यो र कम बोल्ने र हाँसेर कुरा गर्ने शैलीका एक अवकाश प्राप्त शिक्षकले भन्यो , “राजनीतिक दलहरू एक न एक राजनैतिक आदर्श बोकेको र कुनै न कुनै वर्गको आधारमा स्थापना भएको हुन्छ । तिनीहरू सत्तामा पुगेपछि कल्पना गरिएका फरक–फरक आदर्श समाज व्यवहारमा स्थापित गर्ने कोसिस गर्छन् । यसकारण, निर्वाचनमा हरेक राजनीतिक दलले एकएक ‘चुनाव घोषणापत्र’ अगाडि सारेर त्यस आदर्श समाज निर्माणको निम्ति मत माग्छन् ।”
अवकाश प्राप्त शिक्षकको कुरा नटुङ्गिँदै एक चलतापूर्जा युवा पत्रकारले टिप्पणी गरिहाल्यो, अहो ! मार्साब, त्यो आदर्शको आधारमा राजनीतिक दलहरू नेपालमा कहाँ छन् अहिले ? न त पश्चिमी देशको वेस्ट मिनिस्टर सिस्टम नै अहिले यहाँ लागु छ ?! कालाव्यापारी, सीमामा लुकीछिपी काम गर्ने तस्कर, प्रहरीका एजेन्ट, उद्योगको नाममा सरकारी सहुलियत हात पार्दै राजस्व नतिर्ने कर छलुवाहरूले नै ‘जनता’, ‘समाजवाद’, ‘कम्युनिस्ट’, प्रजातन्त्रवादी र अनेक नामका जातीय, क्षेत्रीय र धार्मिक साम्प्रदायिक दलहरू स्थापना गर्दै छन् । तिनीहरू जनताबाट पाएको मतको आधारमा संसद्मा पुग्छन् र आ–आफ्ना प्राप्त मतको आधारमा जुनसुकै दललाई समर्थन गरेर एक दुइटा मन्त्री पद पड्काउने ताकमा रहन्छन्, ‘नदी किनारमा बकुलाले माछा मार्न बसेजस्तै’ ।
एकै सासमा पत्रकारले आफ्नो दृष्टिकोण राख्दा घरजग्गामा काम गर्ने एक वकिलले दुवै हात उठाएर पत्रकारलाई बोल्ने सङ्केत गर्दै भन्यो, “पत्रकार साथी, हरेक राजनीतिक पार्टीले आफ्नो मत जनतामा प्रचार गर्न एउटा दैनिक वा साप्ताहिक पत्रिका चलाउँथे । आज पत्रिका होइन एफएम, युट्युब र अनेक प्रचार माध्यम चालु राख्छन् । तर, सत्य के हो भने ती राजनीतिक दलको खर्च हामीजस्तै घरजग्गाका दलाल, म्यानपावर कम्पनीका एजेन्ट, निर्माण व्यवसायी भन्ने ठेकेदार र प्रहरीका मानिसहरूले अहिले दलहरूलाई सहयोग गर्छन् ।”
वकिलको कुरा सुनेर छक्क परेका केहीलाई अपत्यारिलो लाग्यो । एक पुराना तर थाकेका राजनैतिक कार्यकर्ताले आपत्ति जनाउँदै भन्यो, “वकिल भाइ ! भन्न पायो भन्दैमा जे पनि बोल्नु भएन नि ! अलि पत्यार लाग्ने कुरा त गर्नुपर्यो !”
वकिलले माफी माग्ने भाषामा भन्यो, “दाइ, तपाईँहरूको सिद्धान्तको राजनीति अहिले छैन भन्ने कुरामा ढुक्क हुनुस् । घरजग्गाको व्यापारमा बिचौलियाले बढी पैसा कमाउँछन् । प्रधानमन्त्री भएका व्यक्तिको सबभन्दा मिल्ने साथी एक प्रहरी इन्सपेक्टर थिए भनी उनी गृहमन्त्री भएपछि मात्रै थाहा भयो । ती नेतालाई रक्सीको बोतल ल्याइदिने, देशविदेशमा जाँदा खर्च ल्याइदिने, विवाहको पैसा जुराइदिने सबै उही इन्सपेक्टर थिए । यसकारण, सबै पक्षका अघोरी नेताहरूले अहिले हिजोको जस्तो आदर्शको राजनीति पुरानो भन्नुको अर्थ आफ्नो पोल खुल्ला भन्ने हेतुले कुरो अन्त मोड्न मात्रै खोजेका हुन् ।”
सबैले अवकाश प्राप्त शिक्षकतिर ध्यान दिएको थाहा पाएर शिक्षकले मुख खोल्यो । निर्वाचनमा जितेर संसद्मा बहुमत ल्याउनु अहिले ख्यालठट्टा होइन । २०१५ सालको महानिर्वाचनमा करोड रकमलाई सबभन्दा ठुलो सम्झिन्थ्यो । अहिले करोड होइन, अरब चानचुन भयो, बजार भाउ बढ्यो, अब ने.रु. होइन डलरको हिसाब हुन्छ ! ती रकम नेपालमा स–साना ठेकेदार, उद्योगपति र व्यापारीले थेक्दैन बरु विद्युत् ऊर्जाका विदेशी व्यापारी, एनसेल, सुन व्यापारी र अनेक बहुराष्ट्रिय कम्पनीका एजेन्टहरूबाट पैसा पाएर सरकारमा पुग्छन् । लाखौँ लाख नेपाली युवाहरू आफैँ ज्यामी तस्करी गर्न गएका होइनन् बरु विदेशी बजारमा बिक्ने शिक्षा नीतिका पक्षपातीहरू र म्यानपावर कम्पनीका जिल्ला जिल्लाका कन्सल्टेन्सीहरूले निर्वाचनमा महत्वपूर्ण भूमिका खेलाउने उद्देश्यले पठाइएका हुन् । अब देशी र विदेशी धर्म प्रचार गर्ने सङ्गठन र विदेशमा बसेका नेपालीहरूको मोबाइल फोनको व्यापक सम्पर्कबाट निर्वाचनमा प्रभाव पार्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *