भर्खरै :

अटिजमसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु

अटिजमसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु

भक्तपुर, २ माघ । भक्तपुर नगरपालिका विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिको संयोजनमा अटिजमसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । नगरका सामुदायिक र संस्थागत ९२ वटै स्कूलका प्रधानाध्यापक, प्रिन्सिपल वा इन्चार्जहरूको सहभागितामा भएको उक्त कार्यक्रममा समितिका सदस्य ज्ञानसागर प्रजापतिले अनुगमनको क्रममा केही स्कूलहरूमा अटिजमका विद्यार्थीहरू देखिएको हुँदा स्कूलको नेतृत्वदायी भूमिका रहेका प्रअ, प्रिन्सिपल वा इन्चार्जहरूलाई यसबारे जानकारी हुनु आवश्यक भएकोले विज्ञहरूबाट अभिमुखीकरण कार्यक्रम राखेको बताउनुभयो ।
समाजमा देखिने कुनै पनि समस्यालाई समस्याको रूपमा मात्र नलिई त्यसलाई समाधान कसरी गर्ने वा समस्या सकेसम्म कसरी न्यूनीकरण गर्ने भन्दै उहाँले अटिजमबारे शिक्षकहरूले कार्यक्रमबाट बढीभन्दा बढी जानकारी हासिल गरी समाधानको बाटो पहिचान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा शिक्षा शाखाका अधिकृत साधुराम फुँयालले सहभागी तथा सहजकर्तालाई धन्यवाद दिँदै कार्यक्रममा हासिल गरेको जानकारी आ–आफ्नो विद्यालयका अन्य शिक्षकहरूलाई बाँडेर सकेसम्म धेरैलाई यसबारे सचेत पार्न आग्रह गर्नुभयो ।
नगर शिक्षा शाखाका राजेन्द्र दुमरुले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा अटिजमविज्ञ सुरेन्द्र बज्राचार्यले सहजीकरणको भूमिका निर्वाह गर्दै विद्यालय प्रअहरूलाई भेला गरी स्थानीय सरकारले अटिजमको बारेमा कार्यक्रम राखेको यो देशभरमै पहिलो हुनुपर्छ भन्दै भक्तपुर नगरपालिकाको यो पनि एउटा थप नमुना कार्य हो भन्नुभयो ।
सात वटा विभिन्न समूहमा विभाजन गरी सात थरीका क्रियाकलाप सातवटै समूहलाई आलोपालो गर्न लगाई समस्या महसुस गराइएको उक्त कार्यक्रममा अटिजम के हो र अटिजम कसरी पहिचान गर्ने तरिका र समाधानको दायित्व निर्वाहलगायतका विषयमा अन्तरक्रियात्मक तरिकाले कार्यक्रम अगाडि बढाइएको थियो ।
अन्तरक्रियामा समस्या भोगिरहेका शिक्षकहरूले अटिजमबारे आ–आफ्नो विद्यालयको गतिविधि र समस्या प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *