भर्खरै :

नेमकिपा एक चीन नीति एवम् थाइवानलाई चीनको एक अभिन्न अङ्ग मान्छ

नेमकिपा एक चीन नीति एवम् थाइवानलाई चीनको एक अभिन्न अङ्ग मान्छ

नेपाल मजदुर किसान पार्टीले चीन र चिनियाँ जनतालाई प्राचीनकालदेखिको एक मित्र देश र एसियाकै दाजुभाइको रूपमा मानी आएको छ । दुई देश साझा पहाड–पर्वत र नदीनालाहरूको घनिष्ठ देश भनी नेपाली जनताले मान्दै आएका छन् । नेपाली र चिनियाँ जनताको यस प्राचीनकालदेखिको मित्रतालाई झन्झन् गाढा बनाउँदै जाने हाम्रो विश्वास छ । नेपाली र चिनियाँ जनताको मित्रता नङ र मासु जत्तिकै छ । थाइवानबारे नेमकिपा प्रस्ट छ – थाइवान चीनको एक अभिन्न अङ्ग हो र नेमकिपा एक चीन नीतिको समर्थन गर्दछ ।
नेमकिपा चीन र थाइवानको विषयमा वा चीनको आन्तरिक मामलाको विषयमा बाहिरी हस्तक्षेपको विरोध गर्दछ । तलका केही बुँदाले नेमकिपाको नीति प्रस्ट हुन्छ –
एक, नेमकिपाले एक चीन नीतिलाई समर्थन गर्दै आएको छ र त्यसलाई चालु राख्नेछ ।
दुई, मामला चीनको आन्तरिकसम्बन्धी हो । संसारमा चीन एउटै छ र जनगणतन्त्र चीन नै एकमात्र विश्वले स्वीकार गरेको कानुनी सरकार हो ।
थाइवान चीनकै अभिन्न अङ्ग हो ।
तीन, संयुक्त राज्य अमेरिकी साम्राज्यवादी पिछलग्गूहरूले थाइवानलाई स्वतन्त्र गर्ने कुचेष्टा गर्दै छन् । त्यो एक षड्यन्त्रबाहेक केही होइन ।
चार, संयुक्त राज्य अमेरिकी साम्राज्यवाद र त्यसका पिछलग्गूहरू चीनलाई थाइवान, सिङच्याङ, तिब्बत, हङकङ आदिलाई पुनः साम्राज्यवादीहरूकै उपनिवेश बनाउने निराशायुक्त उद्देश्यको जाल रच्दै छन् । नेमकिपा पूर्णरूपले पुनः एकीकृत चीनको समर्थन गर्छ ।
पाँच, यसबारे नेपाल र चीनको कूटनैतिक सम्बन्ध भएदेखि नै नेपाल सरकारहरूले एक चीन नीति तथा थाइवानलाई पनि चीनकै एक अङ्गको रूपमा मान्दै आएका छन् ।
सन् १९४७ मा जापानी उपनिवेशवादीहरूको पराजयपछि अमेरिकी साम्राज्यवादको पिछलग्गू च्याङकाइ सेकले जनताको इच्छाअनुसारको जनताको क्रान्तिको विरोधमा चीनलाई पुनः विभाजित गर्ने उद्देश्यले गृहयुद्धलाई चालु राख्यो । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा सबै देशभक्त एवम् प्रजातन्त्रवादी पार्टी र जनता मिलेर अमेरिकी पिछलग्गू च्याङकाइ सेकको सेनालाई पराजित गरे र १९४९ मा पेचिङको थेनामेन चोकमा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङले जनवादी गणतन्त्र चीनको स्थापनाको घोषणा गर्नुभयो ।
तर, च्याङकाइ सेकले आफ्ना बाँकी रहेका सेना लिएर अमेरिकी साम्राज्यवादको षड्यन्त्रअनुसार थाइवानमा एक दलाल सरकार कायम गरे । त्यसबेला अध्यक्ष माओ त्सेतुङको नेतृत्वको सरकारदेखि नै थाइवानलाई मातृभूमि चीनको अभिन्न अङ्ग मान्दै देशलाई टुक्राउन खोज्ने अमेरिकी साम्राज्यवाद र पिछलग्गू च्याङकाई सेकको षड्यन्त्रलाई विरोध र निन्दा गर्दै आएको हो ।
अमेरिकी राष्ट्रपति निक्सनको चीन भ्रमणको बेला संयुक्त राज्य अमेरिकाले थाइवानलाई चीनकै एक अभिन्न अङ्ग मानेको र एक चीन नीतिको समर्थन गरेको थियो ।
तर, चीनको प्रगति र विकासलाई इष्र्या गर्दै संयुक्त राज्य अमेरिकी साम्राज्यवादले स्वतन्त्र थाइवानलाई निहुँ बनाएर फेरि चीन र थाइवानको जलडमरु एवं दक्षिण पूर्वी चीनकै क्षेत्रमाथि हस्तक्षेपलाई बढाउँदै युद्धको स्थितिमा पु¥याउने जालसाजी गर्दै छ । ती सबै षड्यन्त्रहरूमा अमेरिकी साम्राज्यवाद जसरी पहिले असफल भएको थियो त्यस्तै अहिले पनि पहिलेभन्दा बढी लज्जास्पद हार व्यहोर्नेछ । यसकारण, नेपाल मजदुर किसान पार्टी दक्षिणपूर्वी एसिया वा एसियाको कुनै पनि भागमा गरिने हस्तक्षेप र कुकृत्यको विरोध र निन्दा गर्दछ ।
हिजो २९ पुसको दिन थाइवानको निर्वाचनमा ‘प्रजातान्त्रिक प्रगतिशील पार्टी’का उम्मेदवार विलियम भन्ने व्यक्ति राष्ट्रपतिमा विजय भएको नाटक मञ्चन गरियो । उसले ४० प्रतिशत मतमात्र पाएको बताइएको छ । यसकारण, बुझ्ने जनताले त्यसलाई अमेरिकी साम्राज्यवादको हस्तक्षेप र प्रजातन्त्रको नाटकको रूपमा लिन्छन् ।
–‘श्रमिक’ को सम्पादकीयबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *