महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
‘शारदा’ साहित्यिक पत्रिकाका सम्पादक र साहित्यकार बिमल भौकाजीको ‘साहित्यमा राजनीतिको प्रभाव’ शीर्षकको लेखले नेपाली साहित्यको वर्तमान अवस्थालाई प्रतिबिम्बित गर्छ ।
हो, हिजो २००७ सालदेखि २०१७ सालसम्म नेपाली साहित्यमा प्रगतिशील र प्रजातान्त्रिक धार वा दृष्टिकोणबारे छलफल चलिरह्यो । सारमा, प्रगतिशील साहित्यलाई तत्कालीन नेपाली कम्युनिस्ट पार्टीका समर्थक, लेखक, कवि र कलाकारहरूले अङ्गीकार गर्थे भने प्रजातान्त्रिक धारको साहित्यका पक्षपातीहरू मूलतः नेपाली काङ्ग्रेसका विचारलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपले अङ्गीकार गर्ने लेखक कवि र कलाकारहरू हुन्थे ।
राजनैतिक पार्टीका नेताहरू र लेखक, कवि, कलाकार वा साहित्यकारहरू राजनीतिक, सामाजिक र प्राज्ञिक प्राणीहरू भएको हुँदा ती सबैले जानेर वा नजानेर वा सरलरूपले आ–आफ्नै ढङ्गको देशमा फरक–फरक आदर्श समाजको निर्माण भए हुन्छ भन्ने विचार वा दृष्टिकोण राख्छन् । दृष्टिकोणहरू आ–आफ्नो अध्ययन, सङ्गत वा विविध राजनैतिक व्यवस्थाप्रति झुकाव राख्नु स्वाभाविक हो ।
भारतमा बेलायती उपनिवेशवादको विरोध र स्वाधीनताका पक्षपातीहरू विभिन्न राजनैतिक दृष्टिकोणमा विभाजित थिए र त्यहीअनुसार तिनीहरूको दृष्टिकोण साहित्यमा प्रतिबिम्बित हुन्थे । भारतको स्वाधीनताकै निम्ति भगत सिंहजस्ता ‘क्रान्तिकारी समाजवादीहरू’ ले सशस्त्र सङ्घर्षको पक्षतिर पाठकलाई आकर्षित गर्ने साहित्य लेख्थे । कतिले सुभाषचन्द्र बोस र कतिले गान्धीजी वा भारतीय राष्ट्रिय कङ्ग्रेसको सत्याग्रहबाट स्वाधीनता पाउने साहित्यको रचना गर्थे । बाटाहरू फरक थिए तर उद्देश्य ‘भारतको स्वाधीनता’ थियो ।
ती ती नै धारका राजनैतिक छलफल भने राजनीतिक पार्टीहरूको कार्यक्रम, रणनीति र कार्यनीति पूर्णरूपले राजनैतिक साहित्यमा गनिन्थ्यो ।
प्रेमचन्द्र भारतका एक सर्वमान्य साहित्यकार थिए । उनी प्रगतिशील साहित्यिक संस्थाका सभापति थिए । तर, उनी कम्युनिस्ट पार्टीका सदस्य थिएनन् । त्यस्तै, चीनका शिखर साहित्यकार लुसुन कम्युनिस्ट पार्टीका सदस्य थिएनन् । उनी प्रगतिशील साहित्यकारकै अगुवा थिए । सारमा, साम्राज्यवाद र उपनिवेशवादविरोधी लेखक, कवि र कलाकारहरू प्रगतिशील मानिन्थे । तर, भारतीय स्वाधीनतापछि सामन्तवाद र पुँजीवादी व्यवस्था समर्थक साहित्यकारहरू प्रगतिशील मानिँदैनथे ।
जसरी साहित्यमा राजनीतिको सिद्धान्त, आदर्श र व्यवहारको प्रभाव पर्दछ, त्यस्तै साहित्य र साहित्यकारहरूको प्रभाव राजनीतिक नेता र राजनीतिमा प्रभाव पर्छ । साहित्यकार र नेताहरू आफैँ सचेत र संवेदनशील प्राणीहरू भएको हुँदा जसरी ऐनामा आफ्नो अनुहार देख्नेछन्, त्यस्तै तिनीहरूको विचार र रचनाहरूमा पनि समसामयिक सामाजिक, राजनैतिक, आर्थिक र घटेका घटनाहरूको प्रभाव तिनीहरूमा पर्छन् । तिनीहरूकै कलमबाट ती प्रभावहरूको साहित्यिक वा राजनीतिक रचनाको रूपमा पाठकहरू र जनताले पाउँछन् ।
एउटै राजनीतिक र सामाजिक मुद्दामा बहस हुँदा वकिलका मतहरू फरक भएजस्तै साहित्य र राजनीतिलाई जाँच्ने र अँगाल्ने आ–आफ्ना दृष्टिकोणले ठीक वा बेठीक छुट्याउँछ । दृष्टिकोणलाई वर्ग, राजनीतिक आदर्श र तत्कालीन सामाजिक स्थितिले प्रभाव पार्छ । राजनीतिमा जसरी क्रान्तिको परिस्थिति तयार नहुँदै क्रान्तिको आह्वान गर्नेहरूलाई ‘उग्र’ र ‘वामपन्थी’ अवसरवादी भनिन्छ, त्यस्तै क्रान्तिको परिस्थिति तयार हुँदाहुँदै पनि क्रान्तिलाई अगुवाइ नगर्ने दृष्टिकोणलाई ‘दक्षिणपन्थी अवसरवादी’ भनिन्छ ।
तर, साहित्यमा राजनीतिक छलफलभन्दा फरक ढङ्गले प्रस्तुत हुन्छ । कथा वा उपन्यासका प्रस्तुत पात्रहरू घटना, भाषा, प्रस्तुतिबारे छलफल हुनु स्वाभाविक हो । क्लिष्ट भाषाभन्दा सरल र मीठो भाषा तुलनात्मकरूपले जनतालाई उत्साहित गर्न र अगुवाइ गराउन वा एकता गराउनुपर्ने बेलाको भाषामा समानता नहुन सक्ला वा मत मतान्तर हुन सक्ला !
‘प्रजातन्त्र’ बारे पनि धेरै देशमा फरकफरक व्यवहार छ भने अमेरिकी प्रजातन्त्रको समेत धेरै खोटहरू देखिए । दक्षिण एसियामा सबैजसो देशमा प्रजातन्त्रको नाममा बेरोजगार, पक्षपात, शोषण र भ्रष्टाचारको कारण साहित्यकारहरूले त्यस्तो स्थितिलाई राम्रो बताउन सक्दैनन् । एउटै सिक्काको दुई पाटाले पनि दुई विचार बताउँछ । यसलाई विशेषतः साहित्यले नजाँनिदो ढङ्गले राजनीतिको हतियार साबित गराउँछ ।
Leave a Reply