भर्खरै :

हुने बिरुवाको चिल्लो पात

नेमकिपा स्थापना गर्नुभन्दा पहिले नै पार्टीका अग्रजहरूले किसान कार्यकर्ताहरूलाई राजनैतिक चेतना जगाउन रात्रि विद्यालयहरू चलाए; सावाँ अक्षर जानेपछि ती विद्यार्थीहरूलाई भूगोल पढाए । तिनीहरूले एसिया, अफ्रिका, उत्तर र दक्षिण अमेरिका, युरोप, अष्ट्रेलिया र टापुका देशहरू पढाए† पछि बेलायतको पुँजीवादी क्रान्ति, फ्रान्सेली क्रान्ति र अमेरिकी स्वतन्त्रता आन्दोलन पढाए । क्रामवेल (बेलायती क्रान्तिका नेता), फ्रान्सका क्रान्तिका रोविस्पियर, दाँते, माराट आदिबारे तिनीहरू छापा राखेर पढाउँथे र जार्ज वासिङ्गटन (अमेरिकी स्वतन्त्रता आन्दोलनका कमान्डर इन चिफ) बारे पनि पढाउँथे ।
यसरी एक एक पाइला गरी बेलायतको मजदुर आन्दोलन र मागपत्रको आन्दोलन पढाइयो । त्यस्तै फ्रान्सका समाजवादी विचार र पछि पेरिस कम्युन पढाइयो । ती आन्दोलनमा भ्रष्टाचार हुँदैनथ्यो । पुँजीपतिवर्गसँग पेरिसका मजदुरहरूले अन्तिम गोली भएसम्म लडे । पेरिस र रातो झन्डालाई झुकाउन सकेन । उनीहरू सबै चित्रहरू देखाएर पढाउँथे ।
भारतको इतिहासमा तिनीहरू भगत सिंह र क्रान्तिकारी समाजवादीहरूबारे पढाउँथे । भारतको स्वतन्त्रतापछि तेलंगानाको किसान आन्दोलनले ठुलो भूभागलाई मुक्त ग¥यो । पछि मेलमिलापको नाममा गोरखा पल्टन प्रयोग गर्दा धेरै किसान आन्दोलनकारीहरू मरे ।
दुईचार वर्षपछि अग्रजहरूले रुसको क्रान्ति, चीनको क्रान्ति र कोरियाली क्रान्तिबारे पढाए ।
ती युवा किसान कार्यकर्ताहरू २०–२२ वर्षका भएपछि तिनीहरूमा नयाँ नयाँ कुरा जान्ने र सिक्ने जिज्ञासा बढ्दै गयो । रात्रि कक्षाहरू चालु रह्यो । लेख्न र पढ्न सिके ।
भियतनाममा अमेरिकी आक्रमणको हल्ला फैलियो । हरेक दिन अहिले इजरायलले प्यालेस्टिनी जनतामाथि हमला गरेको समाचारजस्तै संरा अमेरिकाले भियतनाम (नगर र गाउँ) मा बम खसालेको, गाउँका गाउँ ध्वस्त भएको खबर रेडियो र पत्रपत्रिकाले छापे ।
ती युवा किसानहरूले काठमाडौँ उपत्यकाका पसलहरूमा बेचिएका भियतनामसम्बन्धी सचित्र पत्रिका, पुस्तिका र पुस्तकहरू किनेर पढ्न थाले । थोरै नेपाली भाषामा लेखिएका, धेरै हिन्दी भाषामा लेखिएका र केही अङ्ग्रेजी भाषामा लेखिएका पत्रपत्रिकाहरू गुरूहरूलाई अनुवाद गर्न भन्थे । गुरुहरूले हिन्दी र अङ्ग्रेजी भाषामा पत्रपत्रिकालाई नेपाली र नेवारी भाषामा अनुवाद गरेर दिन्थे ।
त्यसैलाई युवा किसानहरूले छापाका तस्बिरहरूको तल लेखिएका अङ्ग्रेजी र हिन्दीमा लेखिएका वाक्यहरूलाई नेपाली राम्रो अक्षरमा गुरुहरूलाई भन्थे, त्यही तस्बिरहरूलाई टोलटोल र चोकचोकमा गई प्रदर्शन गर्थे । कहिलेकाहीँ ती फोटो प्रदर्शनीबारे प्रहरी र किसान कार्यकर्ताहरूमाझ लुकामारी चल्थ्यो । ती नै किसान कार्यकर्ताहरू केही राष्ट्रिय पञ्चायत सदस्य, मेयर, वडाध्यक्ष, शिक्षक र प्राध्यापक बने र अवकाससमेत पाए ।
ती युवाहरू रात्रि कक्षामा पढ्थे, पछि प्राथमिक स्कूल, निम्न माध्यमिक, माध्यमिक र कलेजमा पढे । यसैलाई भनिन्छ, ‘हुने बिरुवाको चिल्लो पात ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *