भर्खरै :

अस्ति अस्तिको र आजको भक्तपुर

अस्ति अस्तिको र आजको भक्तपुर

पहिलेको भक्तपुर आत्मनिर्भर थियो । खेत प्रशस्त थिए । बारी पनि चाहिँदो थियो । भक्तपुर भनेपछि किसानको बाक्लो बस्ती भएको सहर हो । भक्तपुरमा केही परिवार साहु थिए । उनीहरू आफ्ना खेतबारीमा काम गर्दैनथे । खेतबारी खास किसानलाई कमाउन दिएका हुन्थे । धान, गहुँ, मकै पाकेपछि सुकाएर, बताएर पोगटा र चामलको गेडा नभएका तर धान जस्तै पोगटा छुट्याई जग्गाधनी वा मालिककहाँ कुत तिर्थे किसानले धान निफनेर । भुस र पोगटा छुट्याई सङ्लो धानका गेडा साहुकहाँ बोकेर लैजान्थे । यस्तो रीत थियो । त्यसरी लगेको धान साहुनीले फेरि केलाउँथिन् र ठुलो पाथीले भरेर थन्क्याउँथिन् । त्यसो गर्दा जुन वर्ष पनि बिर्तावालको धान बाँकी नै रहन्थ्यो । त्यसरी नपुगेको धान कति भन्ने कुरा सम्झनाका लागि दलिनमा यति धान पुगेन भनी टिपोट गरिन्थ्यो । यो वर्षको धान पोहोरको बाँकी तिरेर हिसाब गर्दा जुन वर्ष पनि बाली पुग्दैनथ्यो । पोहोरको नपुग बाली लिएर यो वर्षको धान पनि बाँकी छ भनी टिपोट गरिन्थ्यो । यसो गर्दा जुन वर्ष पनि पूरा बाली तिरिँदैनथ्यो । बाँकी धान यति छ भनी दलिनमा टिपोट गरिन्थ्यो । त्यस्तै मकै, गहुँ बाली पनि हुन्थ्यो । यसरी, कुनै पनि वर्ष धान, मकै, गहुँ बाली बाँकी रहन्थ्यो । यस प्रकारको स्थितिले गर्दा खेती गर्ने किसान कहिल्यै ऋण मुक्त भएन । खेतबारीमा जाँदा किसानहरू आफूले पालेका बाख्रा भेँडा डो¥याएर सधैँ खेतबारीमा लैजान्थे । खाना खाई, घरका सबै परिवार बाख्रा भेँडासहित खेतीमा जाँदा साना केटाकेटीलाई खर्पनमा बोकेर लैजान्थे ।
किसानहरू त्यतिबेला आत्मनिर्भर
यसरी चलेको थियो, भक्तपुरको किसानको जिन्दगी । घर, खेतबारीमा जिन्दगी एवंरीतले चलेको थियो । भक्तपुरका किसानहरू हिउँद लागेपछि आफ्नै बारीको कपासबाट धागो बनाउँथे; विभिन्न रङ लगाउँथे र त्यही धागोबाट कपडा बुन्दथे । तानमा कपडा बुनेका आवाज किसानका घरघरबाट आधा रातसम्म आइरहन्थ्यो । किसान महिलाले आफूले लगाउने हाकुपटासी अरू अरू लुगा आफैँ बनाउँथे र विभिन्न रङ लगाउँथे । सडकको छेउमा लामो गरी नर्कटहरू गाडेर लुगा बनाउने तान बनाउँथे । यसरी हाकुपटासी र अरू घरबुनाको कपडा बुन्ने, कपडामा रङ लगाउने काम आफैँ गर्थे । त्यही धागोबाट खस्रो भोटो सुरूवाल हाल्थे । पन्नु बुन्नु गर्दैनथे । सरकारले भक्तपुरमा पनि स्कूल खोल्यो । त्यहाँ साहुका छोरामात्र पढ्न जान्थे । छोरीहरू पढ्न महिला स्कूल पनि सरकारले खोल्यो । त्यो महिला स्कूलमा सा¥है थोरै छोरीहरूमात्र पढ्न जान्थे । पाठशालामा पढ्नेमा गुरू पुरोहित र पुजारीका छोरा, व्यापारी घरानाका केही केटाहरूमात्र पढ्न जान्थे । पढ्ने ठाउँ गएर पनि पढाइ हुँदैनथ्यो । पढाइतिर कसैको रूचि नै थिएन ।
यस्तो थियो अस्तिको भक्तपुर
त्यसबेला पाठशालामा पढ्ने साहुका छोरा, व्यापारी, गुरू पुरोहित र पुजारीका छोरामात्र पाठशालामा पढ्न जान्थे । त्यतिबेला खेतीमा खुर्सानी, कर्कलो, अदुवा, बेसार खेती गरिन्थ्यो । हिउँदमा तिउन खान कर्कलाको चुकाउनी बनाइन्थ्यो । धान दुई थरी हुन्थ्यो, घैया र अरू । खुर्सानी बडो राम्रोसँग परालको डोरीमा अड्काएर सुकाइन्थ्यो । सुकेको खुर्सानी राम्रो पैसामा बिक्री हुन्थ्यो । खेतबारीमा मुला, रामतोरिया, कर्कलो र सागपात लगाइन्थ्यो । यी तरकारी सुकाएर हिउँदमा खाने चलन थियो । जुत्ता लगाउने चलन थिएन । कसैकसैले पलाञ्चोकमा बनेको, चोयाले सिएको काँचो छालाको जुत्ता लगाउँथे । जुत्ता आवश्यकताको होइन विलाशिताको प्रतीक मानिन्थ्यो । गाउँघरमा आफ्नै दमाई हुन्थे जसले लुगा सिउँथे । फलामका हातहतियार बनाउन कामी र कर्मी हुन्थे । तिनीहरूलाई बालीघरे भनिन्थ्यो । सहर बजारमा सूचीकार बस्न थाले । उनीहरू ज्यालामा बनेको कपडा सिउँथे ।
यस्तो थियो आम प्रचलन
अस्ति अस्तिको र हिजोको त्यो चलन आज छैन । अब सहर बजार बढ्दै छ । पुरानो तरिकाले घर बनाउने तरिका पनि हराउँदै गयो । काँचो इटा हिलो माटोमा मिलाएर राखी गारो बनाइन्थ्यो । घर बनाउँदा छाना छाउन धुरी बलो, धुरी मुठललगायतका सामग्री बन्थे । छाना छ्वाली वा परालले छाइन्थ्यो । पछि इँटा पोल्न थालियो र पाको इँटाको घर बने । यसरी नेपालको जनजीवनमा व्यापक परिवर्तन आउँदै ग¥यो । आज त सिमेन्ट नै निर्माणको प्रसिद्ध सामग्री भएको छ । मध्यकालमा घर बनाउँदा काठ र बाँसको धेरै प्रयोग हुन्थ्यो । आजको भक्तपुर सिमेन्ट र फलाम धेरै प्रयोग गर्ने अवस्थामा गएको छ । यसले के परिणाम लिएर आउँछ, अहिले भन्न सक्ने अवस्था छैन । यसरी, अस्ति अस्तिको भक्तपुर र आजको भक्तपुरमा व्यापक अन्तर आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *