भर्खरै :

कलैयामा प्रशिक्षण कार्यक्रम

कलैयामा प्रशिक्षण कार्यक्रम

बारा, १० माघ । नेपाल मजदुर किसान पार्टी बारा जिल्ला समितिको आयोजनामा पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा कलैयामा बुधबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यकममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले नेमकिपा स्थापनाका आधारबारे स्पष्ट पार्दै नेमकिपा भारतविरोधी भन्दा पनि भारतीय शासकहरूको नेपालप्रति हेर्ने दृष्टिकोणको नेमकिपाले विरोध गर्दछ भन्नुभयो । उहाँले स्पष्ट पार्नुभयो, “भारतीय शोषितपीडित जनता नेपाली जनताका मित्र हुन् ।”
नेमकिपाले देशमा भइरहेको भ्रष्टाचारको बारेमा सडक र सदनमा विरोध गर्दै आइरहेको उहाँले बताउनुभयो ।
नेमकिपा सिद्धान्तमा अडिग पार्टी भएकोले देशी विदेशी प्रतिक्रियावादीहरूको अगाडि कहिल्यै झुक्दैन । नेमकिपाले शोषितपीडित जनताको पक्षमा वकालत गर्दै आइरहेको छ र यसलाई अझै सशक्त ढङ्गले अगाडि बढाउँदै लैजानेछ, उहाँले भन्नुभयो ।
नेमकिपाबाहेक यहाँका अन्य राजनीतिक दलहरूले अमेरिकाको डलर खाएकाले एमसीसीको बारेमा नबोलेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “एमसीसी र एसपीपीमार्फत अमेरिकाले आफ्नो सैनिक नेपाल भित्याउँछ ।”
केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सृजना सैंजुले जनताको शत्रुविरुद्ध लड्नको लागि नेमकिपाले तराईमा दहेज प्रथाको कारण भु्रण हत्या बढेकोले महिलाहरूलाई राजनीतिकरूपमा सचेत पार्नुका साथै शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
संरा अमेरिकाले ल्याटिन अमेरिकालाई करेसाबारीको रूपमा प्रयोग गरेजस्तै भारतले पनि नेपाललाई करेसाबारीको रूपमा प्रयोग गर्ने नीतिको सबैतिरबाट विरोध गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
संरा अमेरिकाले इजरायललाई उक्साएर प्यालेस्टिनी जनताको हत्या गरिरहेकोले नेमकिपाले देशव्यापी विरोध गरिरहेको उहाँले बताउनुभयो ।
अर्का वाग्मती प्रदेश सांसद गीता काफ्लेले नेमकिपा समाजवाद हुँदै साम्यवादी व्यवस्था स्थापनाको लागि सङ्घर्ष गरिरहेको छ भन्नुभयो ।
समाजवादी व्यवस्थामा योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुन्छ, शिक्षा, स्वास्थ्य निःशुल्क र अनिवार्य हुने भएकोले नेमकिपामा आबद्ध भइ सहयोग गर्न अपिल गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले घोषणापत्रअनुसार काम गरिरहेको बताउनुभयो ।
भक्तपुर नपा सानो नगरपालिका भए तापनि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा उदाहरणीय काम गरिरहेको उहाँले भन्नुभयो ।
नेमकिपा बाराका अध्यक्ष मुक्ति यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोज साह र जिल्ला सदस्य महबुब अन्सारीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *