भर्खरै :

बुद्धिजीवीको भेषमा देश र जनताको सेवा गर्नेभन्दा व्यापारतर्फ लाग्नु गलत

बुद्धिजीवीको भेषमा देश र जनताको सेवा गर्नेभन्दा व्यापारतर्फ लाग्नु गलत

भक्तपुर, २० माघ । बाल विकास सेकेन्डरी स्कूलको ३६ औँ वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विश्वविद्यालय र कलेजको पढाइले मात्र कोही बुद्धिजीवी हुन नसक्ने विचार व्यक्त गर्नुभयो । देश र जनताको समस्या बुझ्ने र समाधानमा साथ दिने नै वास्तविक बुद्धिजीवी हुने उहाँले बताउनुभयो । अध्यक्ष बिजुक्छेँले बुद्धिजीवीको भेषमा देश र जनताको सेवा गर्नेभन्दा व्यापारतर्फ लाग्नु गलत भएको विचार व्यक्त गर्नुभयो ।
वास्तविक बुद्धिजीवीहरूले पत्रपत्रिका तथा पुस्तक प्रकाशन गरेर देश र समाजको हितमा लाग्नुपर्ने र तल्लो वर्गलाई आवश्यक राजनीतिक कक्षाहरू सञ्चालन गरेर कामदार जनताको लागि काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले पनि रात्रि कक्षाको सञ्चालन आवश्यक छ ।”
समाजवादी देशमा मजदुरहरूको कारखानामा पुगेर राजनीतिक कक्षा सञ्चालन गरिने र किसानहरूको निम्ति पनि राजनीतिक कक्षामार्पmत सचेत एवम् सङ्गठित गरिने उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले नयाँ पुस्तालाई व्यक्तिवादी सोचबाट टाढा राख्नुपर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा कक्षा सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो । देशमा विकृतिको रूपमा फैलिएको भ्रष्टाचारविरूद्ध लड्न प्रेरित गर्नुपर्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भक्तपुरलाई ‘टेस्ट ट्युब’ अर्थात् ‘प्रयोगशाला’ बनाएर यहाँको असल अभ्यास तथा उपलब्धि देशभरि पु¥याउन सके महत्वपूर्ण योगदान हुने विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले सन्तानको उचित लालनपालन तथा हुर्काई अभिभावकको पहिलो सरोकारको विषय भएको र आफ्नो व्यस्त दैनिक कार्यतालिकाको यथोचित बन्दोबस्त मिलाउँदै हरेक दिनको एउटा निश्चित समय बालबच्चालाई दिने भावना तथा संस्कारको विकास हुँदै गएकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले अभिभावक र शिक्षकबिच समन्वय, सहकार्य तथा आपसी सहयोग बालबालिकाको विकासको निमित्त अनिवार्य हुने र आपसी विश्वास तथा आदानप्रदानको माध्यमबाट बालबच्चाको हुर्काईमा सकारात्मक परिवर्तन सम्भव हुने बताउनुभयो ।
उहाँले थप्नुभयो, “हाम्रा बालबच्चा सुरूदेखि नै यसरी हुर्किऊन् कि तिनीहरूको मनमस्तिष्कमा जन्मभूमि होस् र मातृभूमिले सदासर्वदा गर्व गर्नलायक बनून् ।” शिक्षकशिक्षिका अध्ययनशील तथा सिर्जनशील भए त्यसको छाप विद्यार्थीमा पर्ने कुरामा जोड दिँदै उहाँले दोस्रो अभिभावक मानिने शिक्षकशिक्षिकाहरूको भूमिकालाई कम आँक्न नमिल्ने बताउनुभयो ।
बालबालिकाको निम्ति शिक्षकशिक्षिका साथी, संरक्षक, पथप्रदर्शक मात्र होइन ‘रोलमोडल’ हुने र शिक्षकशिक्षिकाहरूले बालबालिकाहरूलाई जीवनमा कहिल्यै नबिर्सिने प्रभाव दिन सक्ने कुरामा उहाँले जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले स्कुल, कलेज, सहकारी, अस्पताललगायतका सामाजिक क्षेत्रमा सामाजिक गतिविधिमा महिलाहरू सक्रिय छन्, अझ राजनीतिकरूपमा सचेत र सङ्गठित हुँदै अघि बढ्न सके समाज यो भन्दा तीव्ररूपमा परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आमाहरूले दुःख नपाउने, महिलाहरूले समतामूलक जीवन बाँच्न पाउने, बालबच्चाहरूले यथोचित अवसर पाउने, शिक्षादीक्षा पाउने, ज्येष्ठ नागरिकहरूले सम्मानजनक जीवन पाउने र युवाहरूले रोजगारी स्वदेशमै पाउने, शिक्षा, स्वास्थ्य राज्यले जिम्मा लिने समाज खोजेको कुरा प्रस्ट पार्नुभयो । त्यस्तो व्यवस्थालाई राजनीतिक भाषामा समाजवादी व्यवस्था भनिने र समाजवादी समाजमा राज्यले नै बालबालिका, महिला र ज्येष्ठ नागरिकको सुन्दर एवम् सुरक्षित जीवन सुनिश्चित हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा शिक्षिका सीता प्रजापतिले विद्यालयको विभिन्न क्रियाकलाप तथा गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्नुभयो । विद्यालयका अभिभावक डा. अमर प्रजापतिले मुटु रोगसम्बन्धी जानकारी दिनुभयो र हृदयाघातबारे सचेत गराउनुभयो ।
विद्यालयका अभिभावक एवम् आँखा रोग विशेषज्ञ राजु कैटीले अहिलेको परिस्थितिमा विभिन्न कारणले बालबालिकाहरूमा दृष्टिदोष भयावह किसिमले बढ्दै गएको र बालबालिकाहरूको आँखालाई सुरक्षित राख्न अपनाउनुपर्ने उपायहरूबारे प्रस्ट पार्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्लेग्रुपदेखि कक्षा ४ सम्मका विद्यार्थीहरूले विभिन्न सन्देशमूलक गीत, नाटक तथा नृत्यहरू प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *