के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
नेपालमा मन्त्री पद भ्रष्टाचारको पर्याय हुँदै छ । मन्त्री नहुँदासम्म चोखा नेता मन्त्री भएपछि बिटुलिने प्रवृत्ति देखिएको छ । यसको मतलब मन्त्री पद भ्रष्टाचारको पर्याय हो कि भन्ने दोधार आम मान्छेमा हुन थालेको छ । मन्त्री भनेको सुकिलो लुगाले मात्र हुँदैन, व्यवहारले पनि हुन्छ । ठुलठुला शोषकहरू पनि सुकिला लुगा लगाउँछन् तर, उनीहरू लगाएको लुगा जस्ता सुकिला हुँदैनन् । बिटुला मान्छेले गरेको निर्णय प्रायः सुकिलो हुँदैन । यो तथ्य नेपालमा मात्र होइन, संसारभरि छ । विधेयकहरू संसद्मा प्रस्तुत हुन्छन् तर सांसदहरू विधेयक कम पढ्छन् वा पढ्दैनन्, धेरै अन्दाज गर्छन् । यसरी देशको समष्टिगत विकास हुँदैन र सांसदलाई संसद्ले पत्याउन छोड्छ । संसद्ले नपत्याएको सांसदले के पो ठुलो काम गर्न सक्छ र ? यो कुरा गम्भीर रूपमा सोच्न जरूरी छ ।
भ्रष्टाचार सर्वत्र छ
संसद्मा विधेयकहरू थुप्रै छन् तर धेरै सांसदहरू ती विधेयकका पाना पल्टाउने प्रयास पनि गर्दैनन् । उनको आफ्नो पार्टीको नेताले जे भन्यो त्यही गर्छन् । सांसदको चुनाव लड्न नेताहरूको समर्थन, सहयोग र कति ठाउँमा त आर्थिक सहयोग पनि आवश्यक पर्छ । नेता र नेतृत्वबाट त्यस्तो सहयोग पाउनेहरू जहिले पनि जनता होइन आफूलाई सहयोग गर्ने नेताको पक्षमा हुन्छन् । चरम भ्रष्टाचारको एउटा बलियो स्रोत हो यो । सार्वजनिक संस्थानहरू कुटिर उद्योगदेखि ठुला उद्योगसम्ममा चरम भ्रष्टाचार भएको देखिन्छ । यो भ्रष्टाचारको विरोध जनताले सशक्तरूपमा गर्न सक्दैनन् । चानचुने विरोधले सांसदको क्रियाकलापमा अन्तर पार्न सक्दैन । तसर्थ, विरोध गर्न पनि सङ्गठित हुन जरूरी छ । सङ्गठित विरोधलाई पनि पचाउने सांसदले चानचुने विरोध स्वतः पचाउँछ ।
सांसद सांसद नै हुनुप¥यो
सांसद वास्तवमा सांसद नै हुनुपर्ने हो तर त्यस्तो देखिँदैन । सांसद मन्त्री भएपछि त उसले आफू सांसद हुँ भन्ने कुरा नै बिर्सन्छ । त्यस्ता सांसदलाई सहयोग गर्ने सांसद पनि धेरै हुन्छन् । जनता आफ्नो प्रतिनिधि असल होस्, चोखो होस्, भ्रष्टाचार नगरोस्, अनुचित लाभमा हात नपारोस् भन्ने चाहन्छन् तर सांसद आउँदो चुनावमा उम्मेदवार हुन र त्यसका लागि रकम जम्मा गर्न आँखा चिम्लेर लाग्छन् । यो विकृत राजनीतिको उदाहरण हो । मन्त्री भएपछि आफ्नो सम्पत्ति सार्वजनिक गर्ने प्रचलन थियो र सिद्धान्तमा अझै पनि छ तर मन्त्रीहरू सकभर आफ्नो सम्पत्तिको विवरण राज्यलाई बुझाउँदैनन् । यो भित्र के तुस छ, त्यो अनौपचारिक रूपमा सबैलाई थाहा छ तर सार्वजनिक हुँदैन ।
राजनीति शुद्ध हुन आचरण शुद्ध हुनुपर्छ
राजनीति शुद्ध नभई राज्यका अरू कुनै पनि कुरा शुद्ध हुँदैन । अशुद्ध राजनीतिले शुद्ध परिणाम निकाल्न सक्दैन । यो तथ्य सर्वविदित्तै छ । केही वर्ष यता, मन्त्री पद भ्रष्टाचारको पर्यायको रूपमा बदलिँदै छ । यसमा को के, के कस्तो भनी मसिनो किसिमले केलाउनु जरूरी छ । नेपाली जनता काम पाउँदैनन् । कसैले काम पायो भने पनि जिम्मेवारीसाथ कम मान्छेले मात्र काम पूरा गर्छ । दुई पैसा हातमा पर्ने मान्छे पनि इमानदार र जनउत्तरदायी हुनुपर्छ । तर, हाम्रो नेपालमा त्यो प्रवृत्ति देखापरेको छैन । त्यसैले, राजनीति बिटुलिएको र बिथोलिएको हो । मन्त्री हुनेहरूको वास्तविक सम्पत्ति फेहरिस्त सार्वजनिक हुने हो र समय समयमा त्यो नवीकरण हुने हो भने मन्त्री पद भ्रष्टाचारको पर्याय नहुने अवस्था आउन सक्छ ।
सरकार लुचो छ
सरकार लुचो छ । गर्छु भनेको कुरो गर्दैन । नगर्ने कुराहरू गर्न खोज्छ । यस्तो अन्तरविरोधको पृष्ठभूमिमा राजनीति कसरी शुद्ध र चोखो होला ? प्रश्न नितान्त गम्भीर छ । सांसदहरू संसद्को बैठकमा र संसद्अन्तर्गतका समितिहरू जसलाई मिनि संसद् पनि भनिन्छ, बैठकहरूमा अनुपस्थित हुने, उपस्थित भइहाले पनि हाजिर गरेर टाप कस्ने, हाटाको बाहुल्य मिनि संसद्का सभापतिहरू हायलकायल छन् । त्यसो त यदाकदा ती सभापतिहरू नै पनि हाटा गर्छन् । राजनीतिलाई हल्का होइन गम्भीर रूपमा लिनुप¥यो अन्यथा सांसद हुनु नै भएन । एकजना सांसदको लागि राज्यले अनेक गरेर जम्मा गरेको धेरै रकम उपलब्ध गराएको छ । त्यो रकम हाटाको लागि होइन । विधेयक गम्भीर र यथार्थपरक होस् भन्ने आसय त्यसभित्र छ ।
इमान बेच्नु हुँदैन
सरकारको प्रवृत्ति र प्रकृति हेर्ने हो भने, सार्वजनिक संस्थानहरू कौडीको रूपमा बेचेर राष्ट्रको ठुलो नोक्सान गरेको कुरा धेरै पुरानो भएको छैन । यसले कति बदमासी गर्न सक्छ, त्यो नगर्ने सांसद थोरै छन् वा छँदै छैनन् । अझ मन्त्री हुन पाए त कति कमाउँछन् कति । जनताका लगानीको अपव्यय भइरहेको छ । नेपाली जनताले सांसद बनाएको देशको चौतर्फी र सर्वतोमुखी विकास गर्न पठाएको हो न कि भ्रष्टाचार गर्न । यसकारण, सांसद सांसद हुनुप¥यो । यही २२ गतेदेखि संसद्को अर्को अधिवेशन बस्दै छ । के आशा गरौँ, अबको संसद्मा गणपूरक सङ्ख्या नपुगेर बैठक स्थगित हुनेछैन । सांसदहरू होस गर्नुहोस् । भोलि तपाईंउपर पनि यी प्रश्न आउँछन् । उत्तर दिन तयार भइरहनुहोस् ।
Leave a Reply