भर्खरै :

काँक्राबारीमा पार्टी स्थापना दिवस

काँक्राबारीमा पार्टी स्थापना दिवस

भक्तपुर, २९ माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेमकिपा काँक्राबारी गाउँ समितिको आयोजनामा आइतबार कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले नेमकिपा कामदारवर्गका जनताको इमानदारीसाथ सेवा गर्ने उद्देश्यले स्थापना भएको बताउनुभयोे ।
उहाँले नेमकिपाको जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादमा पुग्ने तत्कालीन र दीर्घकालीन लक्ष्यबारे प्रस्ट पार्दै अरु कम्युनिस्ट नामधारी पार्टीहरूले जनतालाई विश्वासघात र धोका दिँदै राज्यको ढुकुटी लुटिरहेको बताउनुभयो ।
नेमकिपाको स्थापनाले कामदारवर्गका जनताले परिवर्तनको उज्यालो पक्ष देखिरहेको चर्चा गर्दै उहाँले शासक दलहरूलाई वैदेशिक रोजगारीका नाममा विदेश पलायन गराइरहेको प्रस्ट पार्नुभयो ।
उहाँले परिवर्तनको लागि अब महिलाहरूले एकढिक्का भई अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा नेक्रामसङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैया सुवालले पार्टी स्थापनाका आधारहरूबारे चर्चा गर्दै नेमकिपाले गरेको आन्दोलनका कारण नै किसानहरूको जीवन सहज बनेको बताउनुभयो ।
उहाँले निरङ्कुश पञ्चायती व्यवस्थामै जालीफटाहा, सामन्त, जमिनदारको शोषणविरुद्ध किसानहरूलाई राजनीतिकरूपले सचेत पारी पार्टीले सङ्घर्षमा उतारेको चर्चा गर्दै पुँजीवादी व्यवस्थामा शोषणविरुद्ध अझ बढ्ता सङ्घर्षको निम्ति गारिब जनतालाई तयार गर्न आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दुःख भयो भनेर पछाडि हट्ने होइन; हामीलाई दुःख दिनेहरूलाई चिनेर सजाय दिनुपर्छ ।”
नेमकिपा सुनपाका सचिव महेन्द्र बखुन्छेले सिद्धान्त र विचार अडिग रहन नसक्ने राजनीतिक दलले देश र जनताको सेवा गर्न नसक्ने स्पष्ट पार्नुभयो ।
उहाँले नेमकिपाले सिद्धान्तलाई व्यवहारमा उतारेकै कारण जनताको विश्वास जितिरहेको धारणा राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष प्रेम तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा बुद्ध लामाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *