भर्खरै :

दललाई चिन्ने आधार सिद्धान्त र विचार हो

दललाई चिन्ने आधार सिद्धान्त र विचार हो

कुनै राजनीतिक दलले पार्टीको नाउँ बदल्न सक्छ, बदल्न पाउँछ, त्यो दलको आफ्नो आन्तरिक कुरा हो । दलले दलको नाउँमात्र होइन, दलको मार्गनिर्देशक सिद्धान्त पनि फेर्न सक्छ, फेर्न पाउँछ । दलले दलको नाम या सिद्धान्त र विचार नै फेरे पनि सिद्धान्त र विचार एकातिर व्यवहार अर्काेतिर गरेर जनतामाझ झूटको राजनीति गर्न मिल्दैन । अहिले दलको नाम फेर्ने चर्चा माओवादी केन्द्रको रहेको छ । फागुन १ गतेदेखि काठमाडौँमा सुरु भएको विधान सम्मेलनमा पार्टीको नाउँ बदल्नेबारे छलफल हुने बुझिएको छ । माओवादी केन्द्रले दलको नाउँ फेर्ने या नफेर्ने, सिद्धान्त र विचार नै बदल्ने हो होइन, त्यो माओवादी केन्द्रको पाटो हो । माओवादीबाट आजित र बदनाम भएका माओवादी केन्द्रले ‘माओवादी’ को नाम फेर्न लागेकोमा आशङ्का गर्नु जरुरी छैन । पार्टीको नाउँ फेर्ने प्रस्ताव गरिएको छ । दलको नाउँ फेर्छ फेर्दैन, फेर्छ भने के राख्ने हो ? त्यो पछि थाहा हुनेछ ।
पार्टीको नाउँ ‘नेकपा समाजवादी’ या अरु जे राखे पनि त्यो पार्टी साँच्चै कम्युनिस्टको सिद्धान्त र विचारअनुसार चल्छ कि चल्दैन भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । माओवादी केन्द्रले दलको मार्गनिर्देशक सिद्धान्त केलाई मान्ने हो ? त्यो अर्काे महत्वपूर्ण प्रश्न हो । के माओवादी केन्द्रले माक्र्सवाद–लेनिनवाद र माओ विचारधारालाई मार्गनिर्देशक मान्छ ? पार्टीबाट ‘माओवादी’ हटाउनुको अर्थ के माओ त्सेतुङ विचारधारालाई तिलाञ्जली दिनु हो ? दलको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद नै हो भने त्यस दर्शनअनुसार नेपालको परिवेशमा लागु गर्न माओवादी लाग्छ कि लाग्दैन ? माओवादी केन्द्रले थालेको ‘जनयुद्ध’ असफल भएपछि या सरकारसामु झुकेदेखि माओवादी केन्द्रमा कम्युनिस्ट आचरणमा विचलन आएको हो । त्यसको अर्थ माओवादी केन्द्रले थालेको ‘जनयुद्ध’ ठीक हो भनेको होइन ।
पार्टीलाई चिन्ने र बुझ्ने आधार दलको सिद्धान्त र विचार नै हो । दलको सिद्धान्त र विचारलाई व्यवहारमा लागु गर्न लागिरहेको छ कि छैन भन्ने हो । माओवादी केन्द्रको सबभन्दा कमजोरी भनेकै माक्र्सवाद र लेनिनवादको मार्गनिर्देशक सिद्धान्त मानेर तद्नुसार अघि नबढ्नु हो । सिद्धान्त र विचार छोडेर माओवादीकै नेताहरूको टाउकाको मूल्य तोक्ने नेकासँग घाँटी जोडेर सत्तामा सामेल हुनु पनि माओवादीको कमजोरी हो । सत्ताको नेतृत्व गर्न पाएपछि जुनसुकै दलसँग मिल्ने अडान नभएको एक पार्टी माओवादी केन्द्र हो । ‘जनयुद्ध’ को खेती गरेर संसद्मा पहिलो ठुलो दल बनेपछि संसार नै जितेर आएको जस्तो घमण्ड गर्ने, संसारकै सबभन्दा ठुलो दल भएको देखाउन एक हजारभन्दा बढी केन्द्रीय सदस्य भएको देखाउन पछि नपर्ने माओवादी केन्द्र छिनछिनमा बोलीबचन फेर्ने, अडान फेर्ने अवसरवादी दल बन्यो ।
सरकारको नेतृत्व पाउनु नै परिवर्तन ठान्ने माओवादी केन्द्र सत्तामुखी भएपछि क्रान्तिकारी बाटो छोड्यो । आज माओवादी केन्द्रले पहिलेको विधान भद्दा भन्न थाल्यो । विधान भद्दा भएको भन्दै परिमार्जन गरेर चुस्त बनाउने रे ! देशमा आमूल परिवर्तनको बाटो रोजेको भनी अघि बढेको माओवादीले देशघाती र जनघाती सन्धि तथा सम्झौता गरेर विदेशी शक्ति राष्ट्रलाई खुसी पार्ने काम ग¥यो । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको पछि लागेर देशलाई पराधीन, उपनिवेश र सेनाको परेड खेल्ने थलो बनायो । माओवादी केन्द्र साँच्चै कम्युनिस्ट पार्टी हो भने कम्युनिस्टको सिद्धान्त र विचारअनुसार के गरिरहेको छ ? माओवादी पार्टी र सरकारले के गरिरहेका छन् ? पुँजीवादी सरकारको नेतृत्व गरेर के समाजमा आमूल परिवर्तन हुन्छ ? आफ्ना पार्टीका नेताहरू मन्त्री, सांसद हुँदैमा, आफ्ना नेता कार्यकर्तालाई उच्चपदस्थ पदमा पु¥याउँदैमा समाजवाद स्थापना हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *