के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
विभिन्न देशका सेनामा भर्ना भएका नेपाली युवाहरू लडाइँमा मारिएका सूचनाहरू आइरहेका छन् । बेलायती उपनिवेशवादीहरूले नेपाललाई कमजोर पार्न र आफ्नो तर्फबाट अरू देशमा आक्रमण गराउन तत्कालीन शासकहरूले नेपाली युवाहरूलाई बेलायती साम्राज्यवादलाई सुम्पने कालो टीको लाएका थिए । त्यसमा शाह, राणा, नेपाली काङ्ग्रेस, एमाले, भारतमा बसेर जनयुद्ध गरेको एमाओवादी र अन्य पुँजीवादी सरकारमा सहभागी समाजवादी दलका नेताहरू पनि जिम्मेवार छन् ।
२००७ सालपछि २०१५ सालसम्मका नेपाली काङ्ग्रेसका सरकारहरू पनि यसमा जिम्मेवार छन् । पछि भारतसँग पनि बेलायतसँग भएकै गोर्खा भर्तीको सिलसिलाको कारण भारतीय स्वतन्त्र सरकार बेलायतकै उपनिवेशवादी अपुतालीको दाबेदार देखियो । यसमा भारतको चलाकीभन्दा बेलायती उपनिवेशवादले भारतको स्वतन्त्रतापछि पनि भविष्यको भारतलाई आफ्नो हितमा प्रयोग गर्ने मनसाय देखिन्छ, जो आजसम्म देखिएकै छ ।
रूसी अक्टोबर क्रान्तिपछि लेनिनले साम्राज्यवादी जार शासकले छिमेकी र विदेशीहरूसँग गरिएका सबै सन्धिसम्झौताहरू खारेज गरेका थिए । भारतीय नेताहरू त्यसरी गर्न जानेनन् वा बेलायतले भारतलाई पूर्व उपनिवेशको सम्बन्धबाट छुटकारा दिन चाहेन ।
जसरी बेलायती उपनिवेशवादीहरूले भारतीय स्वतन्त्रता आन्दोलनको विरोधमा प्रयोग गरे त्यसरी नै ‘स्वतन्त्र’ भारतको नेहरू सरकारले तेलंगानाको किसान आन्दोलन (१९४७ देखि ५२) लाई निर्ममतापूर्वक दबायो ।
बेलायती साम्राज्यवादीहरूले मलेसिया, इन्डोनेसिया, हङकङ, चीनको अफिम युद्ध, साइप्रस, इटाली र अर्जेन्टिना (फोकल्यान्ड) को टापुमाथिको आक्रमणमा प्रयोग गरे । बेलायती साम्राज्यवादले जस्तै भारतमा अन्य देश र भारतसँग स्वतन्त्र हुन चाहने प्रान्तहरूमा पनि गोर्खा सेना प्रयोग भएको थियो ।
तर, आज रूसी सेनामा व्यक्तिगत स्वतन्त्रतालाई प्रयोग गरी वा सिद्धान्तको आधारमा युक्रेन र अमेरिकी साम्राज्यवाद वा नाटोको विरोधमा वीरगति पाएका युवाहरूप्रति हेर्ने दृष्टिकोण फरक देखिन्छ । सचेत परिवार र काठमाडौँ पुग्न सक्ने परिवारहरूले आफ्ना मागहरू राख्न भ्याए भने त्यस्तो स्थिति नभएका परिवारहरूबारे सरकार किन अगुवाइ गर्दैन ?
म्यानपावर कम्पनीको नाममा लाखौँ रूपैयाँ गरिब जनताका परिवारहरूलाई शोषण गर्न मुख खोल्ने सरकार इराक, सिरिया, अफगानिस्तान, लिवियामा अमेरिकी साम्राज्यवादको पक्षमा प्रयोग भएको परिवारबारे मौन रहेको छ । ती युवाहरू संरा अमेरिकाबाट प्रयोग गर्न कसरी सफल भए ? के यसबारे संरा अमेरिकाको ‘अमेरिकी निजी सेना’ बारे भित्रभित्र सम्झौता भएको थियो ?
पासपोर्ट काण्ड र सुडान काण्ड सँगसँगै विदेशमा अमेरिकी साम्राज्यवादको पिछलग्गूको रूपमा नेपाललाई लाने कुन सरकार हो, प्रस्ट पार्नु आवश्यक छ । यस्तो गम्भीर मामलामा सरकार चुप लाग्नु अक्षम्य अपराध साबित हुनेछ ।
अमेरिका र नाटोको कठपुतली जेलेन्स्की सरकारको विरोधमा रुसको तर्फबाट लड्दा गौरव अनुभव गर्ने युवाहरू सैद्धान्तिक र राजनैतिकरूपले प्रस्ट छ । रूसबाट फर्केका एक नेपाली युवाको भनाइमा रूसले तत्काल युक्रेनलाई पाठ सिकाउन सक्थ्यो । तर, रूसले युक्रेनमा धेरै जनताको हताहत हुने कारण संयमका साथ प्रतिरोधमात्रै गर्दै छ । रूस संयुक्त राष्ट्र सङ्घको स्थायी समितिको सदस्यको कर्तव्य निभाउँदै छ । संरा अमेरिका र बेलायतको निम्ति यो एक नैतिक हाँक हो !
Leave a Reply