भर्खरै :

शैक्षिक क्षेत्र पनि भ्रष्टाचारबाट अछुटो छैन

शैक्षिक क्षेत्र पनि भ्रष्टाचारबाट अछुटो छैन

भक्तपुर ५ फागुन । गणेश माध्यमिक विद्यालय भार्वाचोको ४० औँ वार्षिकोत्सव तथा भवन समुद्घाटन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले देशको शैक्षिक क्षेत्र पनि भ्रष्टाचारबाट अछुटो नभएको चर्चा गर्दै शिक्षकको नियुक्ति, सरुवा बढुवालगायतका क्षेत्रमा भ्रष्टाचार व्याप्त भएकोले आज शिक्षा क्षेत्र कमजोर भएको बताउनुभयो ।
माध्यमिक तहसम्म सञ्चालन भएका विद्यालयमा मावि दरबन्दी एउटा पनि नहुनुबाट सरकार शिक्षा क्षेत्रबाट पन्छिएको पुष्टि भएको उल्लेख गर्दै सरकारी विद्यालयको स्तरोन्नतिको लागि स्थानीय तह र समुदायसँगको सहकार्य आवश्यक भएको बताउनुभयो ।
कामदारवर्गका छोराछोरी पढ्ने विद्यालयका अभिभावकहरू बिहानैदेखि काममा जानुपर्ने भएकाले सरकारले बिहान र साँझको समयमा समेत शिशु कक्षाहरू सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
स्थानीय जनताले अभिभावकीय भूमिका निभाएका सरकारी विद्यालय राम्रो हुने उदाहरण गणेश माविले देखाएको बताउँदै उहाँले असल र देशभक्त नागरिक तयार गर्न शिक्षकहरू लागिपर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले पञ्चायती व्यवस्थाको अन्त्य भए तापनि पञ्चायती प्रवृत्ति र शैली गणतान्त्रिक सरकारमा देखिरहेको चर्चा गर्दै सरकारमा गएका पार्टीका नेता कार्यकर्ताहरूको लगानी भएका निजी कलेज र विद्यालयहरू बिलाउने डरले सरकारी विद्यालयप्रतिको चासो हराएको बताउनुभयो ।
कर्णाली प्रदेशका विद्यालयहरू विद्यार्थीून्य हुँदै गएको समाचारले देशलाई युवाविहीन मात्र नभई बालबालिकाविहीन पनि बनाइरहेको चर्चा गर्नुभयो ।
उहाँले एमाले, काङ्ग्रेस र माओवादीको अकर्मण्यताको कारण देशले दुर्गति भोग्नुपरेको बताउँदै नयाँ पुस्तामार्फत सचेतना पैmलाउन सङ्घर्ष गर्न आवश्यक छ भन्नुभयो ।
वाग्मती प्रदेशका सांसद सृजना सैजूले द्वैध शिक्षा नीति रहेसम्म दुई किसिमको शिक्षा रहने बताउँदै कामदार वर्गका छोराछोरी पढ्ने विद्यालयलाई राज्यले अपहेलित गरिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले शिक्षा विधेयकले शिक्षकको मौलिक राजनैतिक अधिकार खोस्न लागेको चर्चा गर्दै अन्याय अत्याचारविरुद्ध बोल्न र देशभक्तिपूर्ण विचार राख्न पाउनुपर्छ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खर्बुजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा श्यामकृष्ण खत्री, हिमालयश्वरलाल मूल, रोसराज तुईतुईले पनि विचार राख्नुभयो ।
विद्यालयका प्रधानाध्यापक गणेशराम थुसाले विद्यालयका प्रतिवेदन प्रस्तुत गर्नुभयो भने लक्ष्मीसुन्दर सुवाल र सुशीला न्याइच्याईले पनि बोल्नुभयो ।
कार्यक्रममा विद्यालयलाई आर्थिक भौतिक सहयोग गर्ने महानुभाव तथा शिक्षकशिक्षिकाहरूलाई सम्मान गरिएको थियो । उत्कृष्ट खेलाडी तथा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । सांंस्कृतिक कार्यक्रम पनि देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *