भर्खरै :

शासकहरूको अकर्मण्यताले गरिब जनताको दुःख ज्यूँका त्यूँ

शासकहरूको अकर्मण्यताले गरिब जनताको दुःख ज्यूँका त्यूँ

भक्तपुर, ९ फागुन । सहिद राजकुमार स्मृति पुस्तकालयको ३३ औँ वार्षिकोत्सव, सहिद स्मृति सभा, सम्मान तथा सांस्कृतिक कार्यक्रम मङ्गलबार साँझ सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले २००७, २०४६, २०६२÷६३ मा भएको जनआन्दोलनमा कैयौँ सहिदहरूले सहादत्त प्राप्त गरे पनि सहिदहरूको सपना साकार हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । सरकारमा गएका पार्टी र नेताहरूको अकर्मण्यताले गरिब जनताको दुःख ज्यूँका त्यूँका रहेको उहाँले जिकिर गर्नुभयो । कृषिप्रधान देश नेपालमा दाल, चामल र तरकारी भारतबाट आयात गरिरहनु परेको विचार व्यक्त गर्दै उहाँले देशको कृषि क्षेत्र सुधार गर्न सके खाद्य वस्तुमा आत्मनिर्भर हुने विश्वास गर्नुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका नारायणबहादुर दुवालले ठुला पार्टीहरूले भारतीय एकाधिकार पुँजीको पक्षको वकालत गरिरहेको र कामदार जनताको सरकार नआएसम्म देशले दुःख भोग्नुपर्ने बताउनुभयो । जनताको हितमा काम गर्न नसक्नेहरूको पतन अवश्यम्भावी रहेको धारणा पनि उहाँले राख्नुभयो । दत्तचित्त भएर जनताको हितमा काम गर्दै जानुपर्ने औचित्यतामाथि उहाँले प्रकाश पार्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले कम्युनिस्ट विचार र सिद्धान्तअनुसार नै नेमकिपाले काम गरिरहेको र नयाँ पुस्तालाई अग्रसर गरी देशको हितमा लाग्ने काम सरकारले गर्दै जानुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा युवा कवि दामोदर सुवालले विद्यार्थी जीवनमा पुस्तकालयमा गई अध्ययन गरेर नयाँ कुराहरूको अध्ययन गर्ने मौका मिले कविता लेख्ने प्रेरणा मिलेको जानकारी गराउनुभयो । भावी पुस्तालाई पनि अध्ययनमा रुची राखी अध्ययन गर्ने बानी बसाल्न सके जीवन सफल हुने धारणा पनि उहाँले राख्नुभयो ।
भक्तपुर नगरपालिका स्वास्थ्य समिति संयोजक डा. रत्नसुन्दर लासिवाले विश्वमा नयाँ नयाँ रोगहरू आइरहेको र यसको मुख्य कारण हिजोआजको खानपान भइरहेको परिवर्तनले हो भन्नुभयो । समयमै रोगको निदानको लागि प्रयास गरेमा सम्भावित समस्याको समयमै निराकरण हुने कुरामा चनाखो हुनुपर्ने विचार उहाँले राख्नुभयो । ख्वप अस्पतालमा विभिन्न विशेषज्ञ सेवाहरू दिइरहेको र थप्ने क्रममा रहेको जानकारी पनि उहाँले राख्नुभयो ।
सहिद राजकुमार सुवालका सुपुत्री एवं नर्स रचना सुवालले सरकारमा धेरै पार्टीहरू भए तापनि सहिदप्रतिको सम्मान सही अर्थमा हुन नसकेको विचार राख्नुभयो ।
पुस्तकालयका अध्यक्ष कृष्णप्रसाद सुवालले जनतालाई राणा शासनकालमा साक्षर बनाउन खोज्दा जनअपराध र कैद गर्ने गरेको धारणा राख्दै विचारलाई कुण्ठित बनाउन नहुने आवश्यकताबारे प्रकाश पार्नुभयो ।
प्रतिवेदनसहित वार्षिक कार्ययोजना प्रस्तुत गरिएको उक्त कार्यक्रममा पुस्तकालयका कार्य समिति सचिव रामप्रसाद कोजुले स्वागत, सदस्य शिवकृष्ण कोजुले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमबाट जनपक्षीय सहित्यकार युवा कवि दामोदर सुवाललाई अतिथि प्रेम सुवालले दोसल्ला एवं सम्मानपत्रका साथ सम्मान गर्नुभएको थियो । पुस्तकालयका रविना सुवालले पनि बोल्नुभएको थियो । समारोहमा सांस्कृतिक कार्यक्रमहरू पनि देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *