सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
नेपालको संविधान २०७२ ले नेपाल धर्म निरपेक्ष देश रहनेछ भन्ने घोषणा भए तापनि मधेसलगायत विभिन्न ठाउँमा धर्मको नाममा हिंसात्मक घटनाहरू समय समयमा हुने गरेको देखिन्छ ।
नेपालको संविधानअनुसार हरेक नेपालीले नेपालको सार्वभौमिकता र भूअखण्डतामा आँच नपुग्ने गरी आ–आफ्नो धर्म र संस्कृतिअनुसार क्रियाकलापहरू गर्न पाइन्छ । एउटा पक्षको धार्मिक गतिविधिबाट अर्काको धर्ममा खलल पु¥याउने गतिविधिहरू गर्ने र गराउन लगाउने दुवै पक्ष कानुनीरूपमा अपराधी नै हो । यस्ता गतिविधिहरू गर्न एकले अर्काेलाई उक्साउनु हुँदैन ।
तराईका विभिन्न जिल्लामा हिन्दू र मुस्लिम समुदायका मान्छेहरू बसोबास गर्ने गर्दछन् । एकले अर्काेलाई आवश्यक परेको खण्डमा सहयोग गर्ने गर्दछन् । दुवै समुदायका मान्छेहरूबिच आपसी सद्भाव हुनुका साथै एकले अर्काको धार्मिक गतिविधिहरूमा शुभकामना आदानप्रदान गर्नुका साथै प्रसाद ग्रहण गर्ने गर्दछन् । तर, धर्मको नाममा एकले अर्काेलाई ज्यान मार्नेलगायतका विभिन्न हिंसात्मक गतिविधिहरूमा अग्रसर भएको देखिन्छ ।
हाम्रो छिमेकी देश भारतको इतिहास हामी सबैलाई राम्ररी थाहा छ । त्यहाँ धार्मिक द्वन्द्व हुँदा लाखौँ भारतीय नागरिकले अकालमा ज्यान गुमाउनुप¥यो । हिन्दू बाहुल्यता भएको ठाउँमा मुसलमानहरू असुरक्षित र मुसलमान बाहुल्यता हुने ठाउँमा हिन्दूहरू असुरक्षित हुन्थे । अन्ततः सिङ्गो भारत धार्मिक द्वन्द्वको कारण दुई भागमा विभाजित भयो । अहिले पनि भारतमा धर्मको नाममा समय समयमा विभिन्न हिंसात्मक गतिविधिहरू हुने गरेको देखिन्छ ।
नेपाल एक सार्वभौमसत्ता सम्पन्न देश हो । नेपालमा पनि केही प्रतिक्रियावादीहरूले धार्मिक नाराहरू अघि सारेर यहाँ पनि अस्थिरता ल्याउन खोज्दै छन् । त्यस्ता प्रतिक्रियावादीहरूलाई समयमै पहिचान गरी कडाभन्दा कडा सजाय दिनुका साथै बहिष्कार गर्नु आवश्यक छ । नत्र धर्मको नाममा अनाहकमा ज्यान गुमाउनुका साथै अनावश्यक क्षति भोग्नुपर्ने हुन्छ । यदि समयमा हामी सचेत भएनौँ भने भारतको इतिहास नेपालमा दोहरिन नसक्ला भन्न सकिँदैन ।
गत असोज महिनाको दसैँमा दुर्गा पूजाको समयमा मूर्ति सेलाउने क्रममा सर्लाही जिल्लाको मलङ्गवामा पनि धार्मिक हिंसा भड्कँदा त्यहाँको शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले अनिश्चितकालीन कफर््यु आदेश जारी ग¥यो । त्यहाँको अवस्था सामान्य नबन्दै जङ्गलमा लागेको डढेलोजस्तै तराईका मुख्य मुख्य सहरहरूमा धार्मिक हिंसा भड्कने गतिविधिहरू हुन थाल्यो । वीरगञ्ज, नेपालगञ्ज, भैरहवालगायतका विभिन्न ठुलाठुला सहरहरूमा स्थानीय राजनीतिक दलहरूको सक्रियतामा सद्भाव ¥याली भयो । अन्ततः ती ठाउँहरूको जनजीवन सामान्य बन्दै गयो ।
फागुन २ गते सम्पन्न श्रीपञ्चमीमा सरस्वतीको मूर्ति सेलाउने क्रममा रौतहटमा इसनाथ नगरपालिकामा हिंसा भड्कँदा स्थानीय प्रशासनले कडा सुरक्षा निगरानी गर्नुका साथै शान्ति सुव्यवस्था कायम राख्न फागुन ३ गतेदेखि कफर््यु लगायो । अन्ततः फागुन ७ गेको सर्वदलीय सहमतिपश्चात् सम्यक एवम् शान्ति पूर्ण तरिकाले मूर्ति सेलायो । रौतहटको समस्या समाधान भए पनि वीरगञ्जमा धार्मिक हिंसा नभड्कोस् भने फागुन ७ गतेदेखि अर्काै सूचना नहुञ्जेलसम्मका लागि स्थानीय प्रशासनले कफर््यु आदेश जारी गरेको छ ।
तराईमा हुने गरेको धार्मिक हिंसा र सामाजिक सद्भावमा खलल पुग्दा अन्ततः समाधान हुने बाटो भनेको राजनीतिक दलहरूको माध्यमबाट नै समाधान भएको देखिन्छ । राजनीति भनेको इमानदारीपूर्वक देश र जनताको सेवा गर्नु हो । तर, यहाँका ठुला तथा शासक दलहरूले राजनीतिलाई कमाइखाने भाँडो बनाउनुका साथै सरकारमा सहभागी हुने र पुस्तौँ पुग्ने गरी पैसा कमाउने साधनको रूपमा उपयोग गरेको देखिन्छ ।
शासक दलहरूले आफ्ना कार्यकर्ताहरूलाई समय समयमा प्रशिक्षण दिएका भए उनीहरू धर्म र जातको पछाडि लाग्नुभन्दा देश र जनतालाई प्राथमिकता क्रममा राखेर अगाडि बढ्थे । यहाँका कतिपय विश्लेषक र सचेत जनताले विश्लेषण गर्ने गरेका छन् कि यहाँका शान्ति सुव्यवस्थामा खलल पुग्नु भनेको राजनीतिक अपरिपक्वता हो किनभने अहिलेसम्म भएका जति पनि हिंसात्मक गतिविधिहरू जस्तै धार्मिक हिंसा, जातीय र क्षेत्रीय द्वन्द्व हुँदा राजनीतिक तवरबाटै समाधान भएको देखिन्छ ।
राजनीतिक दलका नेताहरूमााथि जनताले ठुलो आशा र भरोसा राखेका हुन्छन् । प्रहरी प्रशासनबाट समाधान हुन नसक्ने समस्याहरू राजनीतिक पहलबाट समाधान भएको देखिन्छ । त्यसै यहाँका राजनीतिक दलहरूले आफ्नो सत्ता स्वार्र्थ पूरा गर्नको लागि वर्गीय कुराभन्दा जातीय र क्षेत्रीयजस्तै हिन्दू समुदायमा हिन्दूहरूको पक्षमा र मुस्लिम समुदायमा मुसलमानहरूको पक्षमा पहाडी समुदायका पहाडिहरूको र मधेसी समुदायमा मधेसीहरूको बखान गरी नै रहेको छ भने यहाँ जहिले पनि द्वन्द्व भइ नै रहन्छ । समय गतिशिल भएकोले नयाँ पुस्ताले यस्ता कुराहरूको बारेमा गहन अध्ययन र छलफल गर्नेछ । यसले पाखण्डी राजनीतिक दल र त्यसका नेताहरूलाई तह लगाउनेछ ।
Leave a Reply