अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
प्रदेशसभाको बजेटबारे सङ्घीय बजेटको अनिश्चयको कारण सङ्घ र प्रदेशको बजेट ‘बन्द गल्ली’मा फसेको स्थिति बताइन्छ । सङ्घीय बजेट नै आउँदो बजेट दुई खर्बमा घट्ने सम्भावना बनिरहेको बेला प्रदेश बजेटको निम्ति केन्द्रीय सरकार लाचार स्थितिमा पुगेको एक सूत्रले बताउँछ ।
तर, प्रदेश बजेटबारे प्रदेशसभा र सरकारले आफ्नै आम्दानी अथवा आर्थिक स्रोतबारे सोच्नुपर्नेबारे केही नसुनेको हुँदा पर्यवेक्षकहरू पनि आश्चर्यमा छन् । प्रदेश बजेटको निम्ति आफ्नै आर्थिक स्रोत भएमा स्रोतअनुसार बजेट बन्न सक्थ्यो । तर, प्रदेश सरकारको महत्वाकाङ्क्षी बजेटको खर्चको अनुमान गरिसक्दा प्रदेश सरकारको लगानी र उत्पादन नदेखिँदा सम्भावित कर र सङ्घीय अनुदान सहयोगलाई मुख्य आयस्रोत बनाउँदा र सङ्घीय सरकारले आफ्नो आर्थिक लाचारी देखाउँदा प्रदेश सरकार फर्कने बाटो बिराएको र फर्कने बाटो पहिल्याउन असफल भएको देखिन्छ ।
आफ्नै खुट्टामा उभिने बजेट प्रदेशले कल्पना गरेको भए सायद यो अप्ठेरोमा पर्ने थिएन । प्रदेश सरकारहरू बनाउनुभन्दा पहिले प्रदेश सरकारका दाबेदार प्रदेशसभाका सदस्यहरू र सम्बन्धित राजनीतिक दलहरूले सङ्घीय सरकारले लाचारी देखाए पनि आ–आफ्नो आयस्रोतमै भर परी प्रदेशलाई अगाडि लानेबारे बढी समय खर्चेको भए सम्भवतः यो सकसमा पर्ने थिएन ।
प्रदेश बजेट अन्योलमा परेपछि प्रदेशको भरमा परेका स्थानीय नगरपालिका, गाउँपालिका र कमजोर आयस्रोतका पालिकाहरूसमेत विलखबन्दमा पर्नु स्वाभाविक हो ।
सङ्घीय सरकारको अर्थमन्त्री वा केन्द्रीय सरकारको अर्थमन्त्री विदेसीसँग गुहारमा लागेको झन्डै एक वर्ष भयो । विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली बैङ्कसँग ऋण लिएर देशलाई थप ऋण पासोमा राख्ने उपाय देखायो भने आश्चर्य मान्नुपर्ने छैन ।
प्रदेशले दिइएको बजेट पनि खर्च गर्न सकिरहेको थिएन भने थप बजेटले के तलब, भत्ता र यातायात खर्च बढाउने होला भन्ने अड्कल पहिले काटेको देखिन्छ । पालिकाहरूमध्ये केही मेयरहरू वर्षमा दर्जनौँपटक राजधानी जान्छन् । प्रदेश मुख्यमन्त्रीहरू काठमाडौँमा भवन बनाएर काठमाडौँबाटै प्रदेश चलाउने हो कि ! जिज्ञासुहरू अचम्ममा परेका थिए ।
XXX
आमा समूहको सफलता
नगरपालिका वा गाउँपालिकाहरूमा ‘आमा समूह’ को बैठकहरू हेर्दा राम्रो र सकारात्मक गतिविधि हुने सम्भावना देखापर्दै छ । जसरी आज महिला स्वास्थ्यबारे आवश्यक चासो, तालिम र उपचारसम्बन्धी गतिविधि भइरहेको सुनिन्छ, त्यसरी नै ‘आमा समूह’ ले ‘नागरिक शास्त्र’ को तालिम र कक्षा सञ्चालन बरोबर गराउन पाए नागरिक अधिकार र कर्तव्यप्रति नेपालका महिला जगतमा ठुलो प्रगति देखापर्ने थियो ।
वन संरक्षणमा जसरी महिलाहरूले राम्रो प्रदर्शन गरे त्यसरी नै ‘आमा समूह’ ले नागरिक भावनाअन्तर्गत संविधान, एकात्मक र सङ्घीय सरकार र मन्त्रीमण्डलीय सरकार, संसद्, न्यायपालिकाको अधिकार र कर्तव्यबारे पनि राम्रो जानकारी पाउने थिए ।
सानो तर उपलब्धि कम समयमै धेरै देखिने, आवाज सानो तर सफलताको स्वर ठुलो देखिने ‘नागरिक शिक्षा’ बाट ‘आमा समूह’ अगाडि बढ्ने सम्भावना छ ।
Leave a Reply