भर्खरै :

नगर प्रमुखद्वारा ५७ जना अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण

नगर प्रमुखद्वारा ५७ जना अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण

भक्तपुर, २१ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर क्षेत्रभित्र अध्ययनरत आमा बुबा नभएका अनाथ बालबालिकाहरूलाई सोमबार एक कार्यक्रमबिच शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।
उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले नगरभित्र अध्ययनरत १० वटा विद्यालयका ५७ जना विद्यार्थीहरूलाई विद्यार्थीहरूको तहअनुसार ब्याग, क्यालकुलेटर, पेन्सिललगायतका शैक्षिक सामग्रीहरू वितरण गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख प्रजापतिले अनाथ बालबालिकाको भविष्य शिक्षकहरूको मेहनतमा भरपर्ने बताउँदै विद्यार्थीहरूलाई अनुशासित, इमानदार र देशभक्तको पाठ कुराहरू सिकाउने काम विद्यालय तहदेखि नै गर्नुपर्ने बताउनुभयो ।
समाजको सेवा गर्ने विषयबारे पनि विद्यार्थीहरूलाई प्रशिक्षित गर्नुपर्ने धारणा राख्दै उहाँले कमजोर र पिछडिएका बालबालिकाहरूलाई विशेष प्राथमिकतामा राखी शिक्षकहरूले अध्यापन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले अभिभावकविहीन बालबालिकाहरूको मानसिक विकासको लागि शिक्षा अपरिहार्य विषय भएको उल्लेख गर्दै शिक्षकशिक्षिकाले पथप्रदर्शकको भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् कार्यपालिका सदस्य रोशनमैँया सुवालले भक्तपुर नपाले प्रत्येक वर्ष अभिभावकविहीन विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै आएको बताउँदै यसबाट विद्यार्थीहरूलाई शिक्षा आर्जनमा केही सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने कार्यपालिका सदस्य छोरीमैँया सुजखूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *