भर्खरै :

विश्व क्रान्तिकारी महिलाहरूको जीवनीबारे अध्ययन गोष्ठी

विश्व क्रान्तिकारी महिलाहरूको जीवनीबारे अध्ययन गोष्ठी

भक्तपुर, २३ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार विश्व क्रान्तिकारी महिलाहरूको जीवनीबारे अध्ययन गोष्ठी भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वका क्रान्तिकारी महिलाहरूको जीवनी अध्ययनबाट कामदारवर्गका महिलाहरूलाई राजनीतिकरूपमा सक्रिय हुन उत्साह र प्रेरणा मिल्ने बताउनुभयो ।
क्रान्तिकारी महिलाहरूको जीवनी अध्ययनबाट नेपालको कामदार वर्गीय आन्दोलनमा समेत सहयोग मिल्ने उल्लेख गर्दै उहाँले क्रान्तिकारी महिलाहरूको पुस्तक अध्ययनले समाजमा व्याप्त शोषण, अन्याय, अत्याचारविरुद्ध लड्न हौसला मिल्ने बताउनुभयो ।
कामदारवर्गका महिलाहरूलाई सङ्गठित पार्नु आवश्यक भएको बताउँदै उहाँले महिलाहरूको सहयोगबिना पुरुषहरूको सफलता सम्भव नहुने धारणा व्यक्त गर्नुभयो ।
समाजवाद र पुँजीवादबिचको भेदबारे प्रस्ट पार्दै उहाँले समाजवादी व्यवस्थामा महिलाहरूले व्यक्तित्व विकासमा समान अवसर पाउने र यो व्यवस्था कामदारवर्गको लागि उपयुक्त व्यवस्था भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै क्रान्तिकारी महिलाहरूको जीवनी अध्ययनबाट महिलाहरूलाई थप सचेत र सङ्गठित हुने अवसर प्राप्त हुने बताउनुभयो ।
कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण समितिका संयोजक रोशनमैंया सुवालले रोजा लक्जमवर्ग, कार्यपालिका सदस्यद्वय छोरीमैंया सुजखूले जेनी माक्र्स र रञ्जना त्वातीले क्रुप्सकाया, वडा सदस्य मन्जुमैंया लाखाले क्लारा जेटकिन, सुमित्रा शिल्पकारले जोया कस्मोडेमेन्स्काया, तारा शाक्यले शियाङ चिङ, विष्णुकेशरी दुवालले अलेक्जान्ड्रा कोलोन्ताइको सङ्क्षिप्त जीवनी अध्ययनबारे बताउनुभयो ।
वडा नं. ७ का वडा सदस्य हेरा ख्याजुले पनि बोल्नुभएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका महिला कर्मचारीहरू, आमा समूहका प्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेविकाहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *