भर्खरै :

भक्तपुरमा अन्तरनगर महिला कबड्डी प्रतियोगिता उद्घाटन

भक्तपुरमा अन्तरनगर महिला कबड्डी प्रतियोगिता उद्घाटन

भक्तपुर, २९ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले फागुन २९ देखि चैत ३ गतेसम्म सञ्चालन हुने अन्तरनगर महिला कबड्डी प्रतियोगिताको मङ्गलबार एक समारोहबिच समुद्घाटन गर्नुभयो ।
भक्तपुरको सहिद स्मृति खेलमैदानमा भएको समारोहमा अतिथि बिजुक्छेँले खेलकुद महिलाहरूलाई शारीरिक र मानसिकरूपले बलियो बनाउने सशक्त माध्यम भएको बताउनुभयो ।
खेलकुदमा सहभागी महिलाहरू अरुभन्दा तुलनात्मकरूपमा सभ्य, अनुशासित र निडर हुने उल्लेख गर्दै उहाँले खेलकुद स्वास्थ्य र तन्दुरुस्तीको निम्ति भएको बताउनुभयो ।
खेलकुदको नियमअनुसार खेलाडीहरूले उत्साहपूर्वक प्रतियोगितामा सहभागी हुन आग्रह गर्दै अध्यक्ष बिजुक्छेँले खेलमा हार जित स्वाभाविक भएको र खेलाडीहरूबिच आपसी मित्रता कायम गर्ने अवसर पनि भएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले विभिन्न नगरपालिकाबाट सहभागी खेलाडीहरूलाई भक्तपुर नपामा स्वागत गर्दै खेलकुदको माध्यमबाट देशका विभिन्न नपासँग सुमधुर सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना भएको बताउनुभयो ।
जनप्रतिनिधि र खेलाडीहरूसँग अनुभव आदानप्रदान गर्ने राम्रो अवसर हुने बताउँदै उहाँले खेलाडीको प्रतिभा प्रदर्शन गर्ने अवसरको रूपमा प्रतियोगितालाई उपयोग गर्न खेलाडीहरूलाई मार्गनिर्देश गर्नुभयो ।
भक्तपुर नपाले खेलकुदलाई पनि प्राथमिकतामा राख्दै हरेक नागरिकलाई खेलकुद र शारीरिक अभ्यासमा सहभागी गराउने प्रयास चालु राखेको स्पष्ट गर्दै भक्तपुर नपाले नियमित खेलकुद प्रशिक्षणको पनि आयोजना गर्दै आएको बताउनुभयो ।
वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले अन्तरनगर खेलकुद प्रतियोगिता आयोजनाले देशका विभिन्न नगरपालिकाका खेलाडी र नगरवासीहरूबिच मैत्रीपूर्ण सम्बन्ध, आपसी सद्भाव विकास हुने बताउँदै देशलाई स्वस्थ बनाउन त्यहाँका नागरिकहरू मानसिक र शारीरिकरूपमा स्वस्थ हुनुपर्ने धारणा राख्नुभयो ।
खेलकुदलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्छ भन्दै उहाँले देश हाँक्नेहरूसँग अनुशासन नहुँदा नेपाली जनताले अप्ठेरो अवस्था महसुस गरिरहेको बताउनुभयो । शासकहरूले खेलाडीहरूको देशप्रेम र अनुशासनबाट पनि केही पाठ सिक्नुपर्ने बताउँदै उहाँले नयाँ पुस्ताले आ–आफ्नो तर्फबाट अनुशासनको प्रदर्शन गर्नुपर्छ भन्नुभयो ।
नेपाल कबड्डी सङ्घका अध्यक्ष तुलसा थापाले महिला कबड्डी आयोजनाले भक्तपुर नपाप्रति आभार प्रकट गर्दै गाउँगाउँमा पूर्वजहरूले खेल्ने कबड्डी खेल अन्तर्राष्ट्रिय क्षेत्रमा पनि तीव्रगतिले विकास हुँदै आएको बताउनुभयो ।
खेलकुद विकासमा तीनवटै तहका सरकारहरूमाझ समन्वय आवश्यक भएको बताउँदै उहाँले नेपालका खेलाडीहरूलाई विदेश पलायन हुनबाट रोक्न नेपालमै रोजगारीको सुनिश्चितता गर्नुपर्ने धारणा राख्नुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तरनगर महिला कबड्डी प्रतियोगितामा १५ वटा नगरपालिका सहभागी रहेको बताउनुभयो । उहाँले प्रतियोगितामा प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रो हुनेलाई रु. १ लाख, तेस्रो र चौथो हुनेलाई रु. ५०–५० हजार नगद पुरस्कारको व्यवस्था गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले खेलकुदको प्रवद्र्धन र संवद्र्धन गर्न भक्तपुर नपाले प्रत्येक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको चर्चा गर्दै खेलकुदले देशको भूगोल, पहिचान, सांस्कृतिक रहनसहन र जीवनशैलीलाई पनि जोड्ने काम गर्ने बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा निर्णायकको तर्फबाट राष्ट्रिय निर्णायक दिलिपनारायण श्रेष्ठ र खेलाडीहरूको तर्फबाट भक्तपुर नगरपालिकाका राष्ट्रिय महिला कबड्डी खेलाडी पूजा दुवालले अन्तरनगर महिला कबड्डी प्रतियोगिता २०८० को खेल अखिल नेपाल कबड्डी सङ्घको नियमअनुसार अनुशासित र मर्यादित ढङ्गले सम्पन्न गर्ने शपथ लिनुभयो ।
प्रतियोगिताको उद्घाटनअघि भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट ¥यालीसहित नगर परिक्रमा गरी सहिद स्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो । ¥यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, पूर्वजनप्रतिनिधिहरू, कर्मचारीहरू, स्वयम्सेवक, खेलाडी तथा विभिन्न विद्यालयहरूका विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो ।
अन्तरनगर महिला कबड्डी प्रतियोगिताअन्तर्गत पहिलो खेल भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिकाबिच भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *