भर्खरै :

विद्युत्मा नेपाल आत्मनिर्भर हुनुपर्छ

विद्युत्मा नेपाल आत्मनिर्भर हुनुपर्छ

काठमाडौँ, १७ पुस । सरकारले एकातिर देशको गाउँ–गाउँ र बस्ती–बस्तीमा विद्युत् (बिजुली) पु¥याउन सकिरहेको छैन भने अर्कोतिर आपूर्ति भइरहेको ठाउँमा बेलाबखत लोडसेडिङ भइरहेको छ । जलस्रोतको धनी देशमा देशभर विद्युत् पु¥याउन नसक्नु सरकारको कमजोरी हो । नेपालीको गाउँघरको उज्यालो नहेरी भारतलाई विद्युत् निर्यात गर्नु सरकारको अर्को कमजोरी हो । नेपाल सरकार महँगोमा विद्युत् आयात गर्छ र सस्तोमा निर्यात गर्छ । यो पनि सरकारको कमजोरी हो । सरकारले नेपाललाई विद्युत् नपुग्दै भारतमा बेच्नु हुँदैनथ्यो । सरकारको यही कमजोरीकै कारण या सरकारले नेपालको लागि आवश्यक विद्युत् उत्पादन नगर्दा लोडसेडिङ गर्नुपर्ने समस्या देखिएको हो । चैत १६ गतेको ‘नयाँ पत्रिका’ मा ‘भारतले दिउँसो १२ घण्टा मात्रै विद्युत् दिने, सोमबारदेखि रातमा लोडसेडिङ’ हुनसक्छ र सोही दिनको ‘नागरिक’ दैनिकमा ‘औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ’ शीर्षकको समाचार छापियो ।
सुख्खा मौसममा नदीनालामा पानीको बहाब घट्दै जाने हुँदा या कम मात्रै पानी पर्ने हुँदा विद्युत् उत्पादन कम हुन्छ । यो समस्या बुझेरै सरकारले देशको लागि पर्याप्त विद्युत् उत्पादन गर्नुपर्ने हो । अरुको भरमा सधँै विद्युत् आपूर्ति हुन्छ भन्ने निश्चित हुँदैन । भारतले १२ घण्टा मात्रै (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) विद्युत् आयात गर्न मिल्ने गरी नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको खबर प्रकाशमा आयो । यसको असर नेपालको औद्योगिक क्षेत्रमा पर्ने चर्चा परिचर्चा पनि सुरु भयो । यसअघि सरकारले औद्योगिक क्षेत्रमा लोडसेडिङ अन्त्य भएको घोषणा गरेको थियो । औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति नहुनु भनेको उद्योगको उत्पादन बन्द हुनु हो । उत्पादन बन्द हुँदा सामान आपूर्ति हुँदैन, उद्योग घाटामा पर्छ या बन्द हुन्छ र विदेशबाट सामान आयात गर्नुपर्ने हुन्छ । यसले स्वदेशी रकम बिदेसिन्छ र नेपालको अर्थतन्त्र कमजोर हुन्छ । नेपाललाई नपुग्दै भारतमा विदेशीलाई विद्युत् निर्यात गरेपछि के नेपालको गाउँठाउँ अन्धकार हुँदैन ?
नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित सांसदहरूले नेपाललाई नपुग्दै भारतलाई विद्युत् निर्यात गर्न नहुने कुरा संसदमा उठाएका थिए । नेमकिपाको यो आवाजलाई शासकहरूले वास्ता गरेनन् । परिणामतः लोडसेडिङको कारण उद्योग बन्द हुने कुरा आयो । सरकारले विद्युत् उत्पादन पनि नगर्ने, अनि उत्पादित उद्योग विदेशमा बेचेर गाउँ बस्तीमा कसरी उज्यालो हुन्छ ? देशमा उद्योगधन्दाहरू कसरी चल्छ ? भारतले कुनै बेला विद्युत् स्वीकृति नदिन पनि सक्छ । यसकारण, विद्युत्मा नेपाल आत्मनिर्भर हुनुपर्छ । त्यसको लागि पर्याप्त विद्युत् उत्पादन गर्नुपर्ने हुन्छ । ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंह भन्छन्, “भारतले दिउँसोको समयमा विद्युत् दिने गरी स्वीकृति पठाइसकेको छ । त्यसले दिउँसोको विद्युत् मागलाई सम्बोधन गर्न सहज हुनेछ ।”
शासक दलहरूको घोषणापत्र हेर्दा नेपालको हरेक गाउँ र बस्तीमा पर्याप्त बिजुली पुग्नुपर्ने थियो । गाउँ बस्ती झिलीमिली हुनुपर्ने थियो । घर परिवारदेखि देशको विभिन्न स्थानमा रहेका साना–ठुला उद्योग सञ्चालन गर्ने गरी विद्युत्को समस्या नहुनुपर्ने थियो । रासायनिक मल कारखाना पनि विद्युत्बाटै सञ्चालन गर्ने गरी विद्युत् उत्पादन गर्नुपथ्र्यो । अरू देशमा लोडसेडिङ भन्ने नै थाहा हुँदैनथ्यो । तर, नेपालमा दिनको १८ घण्टासम्म लोडसेडिङ भयो । त्यसबेला देश नै अन्धकारमयजस्तो भएको थियो । नेपाललाई पनि लोडसेडिङमुक्त बनाउनुपर्छ । लोडसेडिङमुक्त देश बनाउन पर्याप्त विद्युत् उत्पादन गर्नुपर्छ । उत्पादित विद्युत् नेपालमै वितरण गर्नुपर्छ । नेपाललाई आवश्यक नभएको बेला विदेशमा विद्युत् निर्यात गर्नु अन्यथा होइन । नेपाल लोडसेडिङमुक्त देश कहिले होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *