भर्खरै :

“स्वास्थ्यकर्मीहरूले जनताको सेवालाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ” : अध्यक्ष बिजुक्छेँ

“स्वास्थ्यकर्मीहरूले जनताको सेवालाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ” : अध्यक्ष बिजुक्छेँ

काभ्रे, १७ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ख्वप अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूबिच भेटघाट तथा नववर्ष २०८१ को उपलक्ष्यमा शुभकामना कार्यक्रम शनिबार काभ्रेको नगरकोटमा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले पुँजीवादी व्यवस्थामा गरिब जनताको भलो नहुने स्पष्ट पार्दै सरकारले ७ वटै प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनाउनुपर्ने र हरेक जिल्लाबाट एक जना छात्रालाई सरकारले छात्रवृत्ति प्रदान गरी एमबीबीएस पढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “क्युवाली डाक्टरहरू ६० वटा देशमा तीस हजारभन्दा बढी सेवारत छन् । नेपालका डाक्टर र स्वास्थ्यकर्मीहरू पैसाको लागि बिदेसिनु विडम्बनाको कुरा हो ।”
उहाँले स्वास्थ्यकर्मीहरूले जनताको सेवालाई प्रमुख प्र्राथमिकतामा राख्नुपर्ने र बिरामीहरूप्रति नम्र र शिष्ट भई स्वास्थ्य सेवा दिनुपर्ने सुझाव दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरूले निर्वाचन घोषणापत्रमा व्यक्त गरेका प्रतिबद्धताहरू पूरा गर्दै १०० शय्याको अस्पताल, वडा वडामा स्वास्थ्य सेवा तथा आयुर्वेदिक स्वास्थ्य सेवा विस्तार गरिरहेको बताउनुभयो ।
ख्वप अस्पतालबाट उपलब्ध सेवाहरूमा थप गर्दै प्रभावकारी सेवा प्रदान गर्नेतर्फ अस्पतालमा कार्यरत सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “निजी अस्पतालहरू व्यापार गर्ने थलो हुँदै गएको हुँदा सामुदायिक अस्पतालको सेवा प्रभावकारी बनाउनु अहिलेको आवश्यकता हो । जनताको राय सुझावलाई आत्मसात गर्दै आगामी दिनमा ख्वप अस्पतालले विशेषज्ञ सुविधाहरू थप गर्दै लगिने छ । ख्वप अस्पतालबाट प्रवाह गरेका सेवा सुविधाबारे जानकारी लिन विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू अवलोकनमा आइरहेको हुँदा देशकै ७५३ स्थानीय तहका लागि उदाहरणीय बनाउन स्वास्थ्यकर्मीहरू लाग्नु आवश्यक छ ।”
भनपाका उपप्रमुख रजनी जोशीले ख्वप अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले स्वच्छ मन र इमानदारीपूर्वक नगरवासीहरूको सेवा गर्नुपर्नेमा जोड दिँदै सबैको साथ र सहयोगबाट स्वच्छ, सुसंस्कृत र सभ्य समाज निर्माण गर्न सकिने उल्लेख गर्नुभयो ।
उहाँले सरसफाइ र पर्यावरणको सम्बन्ध जोडिएका जात्रा चाडपर्व र त्यसको महत्वबारे प्रस्ट पार्नुभयो ।
वाग्मती प्रदेशका सभासद् सृजना सैंजुले कुनै पनि पेसा राजनीतिसँग अलग नहुने धारणा राख्दै अग्रज पुस्ताले भक्तपुरको दीर्घकालीन सोचका साथ अगाडि सारेको ज्वलन्त उदाहरण ख्वप अस्पताल भएको र त्यसलाई पूरा गर्नु आजको पुस्ताको दायित्व हो भन्नुभयो ।
उहाँले निकृष्ट राजनीति भनेको पदको लोभमा फस्नु हो भन्दै अहिले वाग्मती प्रदेशलगायतमा सत्तामा पुग्नेहरू पदको लोभ र हानथापमा पर्नु दुर्भाग्यको कुरा हो भन्नुभयो ।
उहाँले प्यालेस्टिनी जनतालाई दुःखको बेलामा समेत चिकित्सकहरूले सेवाभावले आप्mनो ज्यानको ख्याल नगरी कार्य गर्नु उदाहरणीय भएको चर्चा गर्दै चिकित्सकहरूले उच्च नैतिकताका साथ कार्यक्षेत्रमा इमानदारीपूर्वक कार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारी, ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ल, इन्टरनल मेडिसिनका डा. अमर प्रजापति र डा. रत्नसुन्दर लासिवाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *