भर्खरै :

राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुरमा प्रभातफेरी कार्यक्रम

राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुरमा प्रभातफेरी कार्यक्रम

भक्तपुर, २० चैत । ‘सहकारीमा सुशासन : प्रविधि र एकीकरण’ भन्ने नाराका साथ ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. भक्तपुरको आयोजनामा मङ्गलबार भक्तपुरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भयो ।
भक्तपुरको टौमढीमा आयोजना गरिएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारीमार्फत भक्तपुरलाई उदाहरणीय बनाउने कोसिस सहकारीकर्मीहरूले गर्नुपर्ने धारणा राख्नुभयो ।
सहकारी दिवसको अवसरमा शुभकामना दिँदै प्रमुख प्रजापतिले भक्तपुरका सहकारी संस्थाहरू तुलनात्मकरूपमा व्यवस्थित रहेको उल्लेख गर्दै सहकारीमा खराब मानिसहरूको प्रवेशप्रति अत्यन्त सचेत हुन जरुरी रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकामा बहुउद्देश्यीय सहकारी संस्थाहरूलाई सञ्चालनमा रोक लगाउँदै आएको चर्चा गर्दै उहाँले समाजमा असल र खराब व्यक्ति भएजस्तै सहकारीमा पनि त्यसको प्रभाव पर्ने हुँदा सहकारीहरूले राम्रो र व्यवस्थित सहकारीको रूपमा विकास गर्ने कोशिस गर्नुपर्ने बताउनुभयो ।
सहकारीको सिद्धान्तलाई आत्मसात गर्दै सहकारीका सबै सदस्यहरूको साझा हितको निम्ति काम गर्नेतर्फ सहकारी संस्थाले जोड दिनुपर्ने भन्दै उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी बढाएर व्यापक जनताको हितमा काम गर्न सहकारीहरू अग्रसर हुनुपर्ने बताउनुभयो ।
नेपालको जलस्रोतमा भारतको एकाधिकार कायम रहेसँगै जलस्रोतको माध्यमबाट भारत नेपालको सम्पूर्ण अर्थतन्त्र कब्जा गर्न खोज्दै छ भन्दै उहाँले नेपाल हरेक विषयमा भारतनिर्भर हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सरकारले आर्थिक विकासको लागि सहकारी एकीकरण भन्दै सहकारी संस्थाहरू गाभ्ने (मर्ज) नीति गलत भएको बताउँदै सहकारीलाई लेनदेन गर्ने संस्था नभई सामाजिक संस्थाको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
सङ्घका सचिव तथा नगर समन्वय उपसमितिका संयोजक जगन्नाथ प्रजापतिले सहकारी दिवस मनाउनुको उद्देश्यबारे प्रस्ट पार्दै सहकारीमा सुशासन कायम गर्ने नीतिअनुरूप भक्तपुरका चारवटै नगरपालिकामा सहकारी दिवस कार्यक्रम आयोजना भएको बताउनुभयो ।
प्रभातफेरी कार्यक्रम भनपा वडा नं. १ दूधपाटी र कमलविनायक गरी दुई ठाउँबाट सुरु भएको ¥याली टौमढीमा पुगी सभामा परिणत भएको थियो ।

मध्यपुरमा पनि सहकारी दिवस
मध्यपुर । मध्यपुरको नगदेशमा मङ्गलबार ६७ औँ सहकारी दिवस मनाइयो । मध्यपुर नगरपालिकाको आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रमपूर्व बोडेको चार दोबाटोबाट सुरु भएको ¥याली नगदेशको छ्वास टोलमा टुङ्गिएको थियो ।
कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले ६७ वटा बेलुन उडाइ कार्यक्रमको उद्घाटन गर्दै मध्यपुरका सम्पूर्ण सहकारीलाई सूचिकृत गर्ने र सहकारीको समन्वय समिति बनाउने जानकारी दिनुभयो । उपप्रमुख विजयकृष्ण श्रेष्ठले विभिन्न सहकारीले बचतकर्ताको बचत हिनामिना गरेकाले सहकारी सूचना केन्द्र स्थापना गर्ने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य नगरपालिकाका कार्यकारी प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *