नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
(सन् २०२३ सेप्टेम्बर २२ मा ब्राजिलको रियो दि जेनेरियो सङ्घीय विश्वविद्यालयमा आयोजित गोष्ठीमा प्रस्तुत मन्तव्यको अंश)
मृत्यु हुनुभन्दा ठीकअघि सिलसिलेवार लेखहरू लेखेर माक्र्सवादी विद्वान समिर अमिनले मूलतः दुई मुद्दा उठाइरहे । वित्तीय विश्वव्यापीकरण अथवा विश्वव्यापी वित्तीय पुँजीको तानाशाही सत्तासामु घुँडा टेक्न चीनले गरेको अस्वीकार पहिलो मुद्दा थियो । ‘पाँचौँ इन्टरनेसनल’ को निर्माण गर्नुपर्ने आवश्यकताबोध दोस्रो मुद्दा थियो । हामी दुई सँगै चीन गएका थियौँ र माथिका दुवै मुद्दाप्रतिको समिरको व्यग्रता म अझै पनि झलझली सम्झिन्छु । एक दिन उहाँले मलाई निद्राबाट ब्युँझाउनुभयो र तत्काल आफ्नो कोठामा बोलाउनुभयो । त्यहाँ उहाँले एउटा चिनियाँ टेलिभिजनलाई अन्तर्वार्ता दिँदै हुनुहुन्थ्यो । उहाँले मलाई पनि बोल्न भन्नुभयो र चिनियाँ जनतालाई मस्कोमा बस्दाको मेरो अनुभव सुनाउन लगाउनुभयो । एक पत्रकारको रूपमा मैले सोभियत सङ्घको पतन देखेको थिएँ† त्यहाँ पुँजीवादी उत्पादन सम्बन्ध एवम् वितरण जसरी पुनःस्थापना भयो, त्यसको म प्रत्यक्षदर्शी थिएँ । समिरले मलाई यी सबै कुरा खुलस्त राख्न भन्नुभयो । आफ्नै खालको विकासक्रममा अघि बढ्दै जाँदा पेइचिङले पनि पुँजीवादतिर मोडिने निर्णय लिने त होइन भन्ने डर थियो उहाँलाई । त्यसकारण, उहाँ चिनियाँहरूलाई पहिले नै (प्रतिरोधी) ‘खोप’ लगाइदिन चाहनुहुन्थ्यो ।
समिरलाई चिनियाँ सत्ता समाजवादी हो भन्ने लाग्थेन । प्रतिष्ठित पेचिङ विश्वविद्यालयमा मन्तव्य दिँदै उहाँले भन्नुभयो, “म चीन समाजवादी हो भन्दिन र पुँजीवादी हो पनि भन्दिन ।” राज्य पुँजीवादको बाटो हुँदै राज्य समाजवाद र अन्त्यमा समाजवादसम्म पुग्ने बाटो निकाल्न सकिन्छ कि भन्ने कहिलेकसो उहाँ सोच्नुहुन्थ्यो र चीनबाट आशा पनि गर्नुहुन्थ्यो ।
चीनले वित्तीय विश्वव्यापीकरण र त्यसको पदानुक्रमी संरचनालाई पूरै अँगाल्ने हो भने उसले विकराल समस्याहरू झेल्नुपर्नेछ । उसले तीव्रगतिमा झाङ्गिँदै गएको उग्र–साम्राज्यवादी प्रणाली पनि लागु गर्नुपर्नेछ । उग्र–साम्राज्यवाद कस्तो हुन्छ भन्ने कुरा हामी सबैले अहिले युक्रेनमा देखिरहेका छौँ । आज पश्चिमा जगतका सबै देशहरू आफ्ना सबैभन्दा आधारभूत राष्ट्रिय स्वार्थकै विपरीत गएर व्यवहार गर्दै छन् । यसमा सायद टर्की अपवाद हो भने हङ्गेरीलाई सीमित अर्थमा अपवाद भन्न मिल्छ । टर्की आधा पश्चिमा हो भने आधा सीमान्त (पेरिफेरि) को देश हो । तर, ऊ साम्राज्यवादविरोधी देश भने होइन । तैपनि, पश्चिमा साम्राज्यवादी कित्तामा विशिष्ट स्थान हासिल गर्ने लेनदेनमा उसले धेरै हदसम्म स्वाधीनता गुमाएको छ । यद्यपि, उसका सबै नीतिमा यो कुरा झल्किन्न ।
उग्र–साम्राज्यवादको उदयले पश्चिमा देशहरू फगत प्याधामा झरेका छन् भने विशाल अन्तर्राष्ट्रिय वित्तीय पुँजीले सबै प्रजातान्त्रिक सङ्घसंस्थामा नियन्त्रण जमाउन पुगेको छ र ती देशका राष्ट्रिय एवम् लोकतान्त्रिक आन्तर्य च्यातचुत पारेर नाङ्गेझार पारेको छ । प्रमुख पुँजीवादी देशहरूमा अझै पनि बुर्जुआ लोकतन्त्रको अवशेष बाँकी छ तर यो लोकतन्त्र झन्झन् खोक्रो बन्दै छ ।
२० औँ शताब्दीभरि समाजवादमा अनेक तोडमोड भए, कति ठाउँमा समाजवाद पराजित भयो । तैपनि, समाजवादको बाटो कसरी खोल्ने ? यो एउटा खुला प्रश्न हो । यो बाटो खोल्नको निम्ति द्रुतरूपमा विकसित भइरहेको स्वेच्छाचारी पश्चिमा पुँजीवादलाई थप बलियो हुन दिनुहुन्न । किनभने, आधुनिक प्रविधिको तागतले नै उसले आफूलाई बलशाली बनाउने सम्भावना छ । समाजवादको बाटो खोल्नका लागि यो सम्भावनाको ढोका बन्द गर्नु उत्तिकै जरुरी छ ।
यो ढोका बन्द गर्ने सम्भावना पनि छ । युगोस्लाभिया र मध्यपूर्वका जनताको प्रतिकारले तथा युरोप र ल्याटिन अमेरिकाका सामाजिक सङ्घर्षहरूले, विश्व राजनीतिमा रुसको पुनःआगमनले तथा चीनको आश्यचर्यजनक आर्थिक उदयले यो नौलो सम्भावना देखिएको हो ।
त्यसकारण, पूर्व–पश्चिम–उत्तर–दक्षिण जुनसुकै महादेशको किन नहोस् प्रत्येक क्रान्तिकारी माक्र्सवादी साम्राज्यवादी हस्तक्षेपविरुद्ध दृढतापूर्वक उभिनुपर्छ । पश्चिमा साम्राज्यवादले फलाक्दै आएको मानवतावाद र ‘लोकतन्त्र’ को चमक हेरेर कुनै पनि क्रान्तिकारीले बाटो बिराउनुहुँदैन । कुनै पनि साम्राज्यवादी हस्तक्षेपले कहीँकतै लोकतन्त्र आएको छैन बरु यसखाले हस्तक्षेप गरिएका देशहरूमा सामाजिक र राष्ट्रिय विपत्तिमात्र निम्तिएका छन् । साम्राज्यवादी युद्ध र आर्थिक प्रतिबन्धको विरोधमा उभिनु आजका प्रत्येक सचेत र जुझारु वामपन्थीको परम कर्तव्य हो ।
यसको अर्थ साम्राज्यवादले हमला गरेका सर्बिया, अफगानिस्तान, इराक, इरान, रुस वा चीनका सरकारलाई आँखा चिम्लेर समर्थन गर्नुपर्छ भनेको होइन । बरु पश्चिमा साम्राज्यवादले पूरै पृथ्वीमाथि दबदबा कायम ग¥यो भने मानव सभ्यता र मानव जातिको अस्तित्व नै धरापमा पर्ने कुरा नबुझी हुन्न भनेको मात्र हो ।
आज ब्रिक्सको उदयसँगै संसार बहुध्रुवीय बन्दै छ । डलर कमजोर बन्दै जाँदा नयाँ, प्रजातान्त्रिक विश्व व्यवस्थाको बाटो खुल्दै छ । विश्वले ठुलो र ऐतिहासिक फड्को मार्दै छ । तर, नयाँ विश्व व्यवस्थाका लागि यो आवश्यक सर्त हो, पर्याप्त सर्त भने होइन । पश्चिमा जगतलाई पराजित गरेर उसको ठाउँमा अर्को शक्तिलाई थपना गर्नु नै हाम्रो लक्ष्य बन्नु हुँदैन । बरु, समस्त मानव जातिलाई मानव इतिहासमै पहिलोचोटि देखापरेका विकराल समस्याहरूको सामना गर्नसक्ने नौलो सभ्यतातर्फ लैजानु हाम्रो मुख्य सवाल हुनुपर्छ । यी समस्याहरूको मुख्य कारण हामीले नै विकास गरेको उत्पादक शक्ति र प्रविधि हो । यिनलाई नियन्त्रण नगरेको खण्डमा मानव जातिको अस्तित्व नै सङ्कटमा पर्नेछ ।
जाग्दै गरेका बहुमत मानिसलाई हराउनलाई पश्चिमा शासकहरूसँग कुनै साधन छैन । तर, विश्व प्रभुत्वको लगाम गुम्न नदिन तिनीहरू आम नरसंहारको माध्यमबाट मानव जातिलाई नै नष्ट गर्ने नीतिमा अघि बढ्न सक्छन् । रुस र चीनविरुद्ध दुस्साहसी नीति लिनुभित्र यही खतरा लुकेको छ ।
युद्धको खतरा त्यो हदसम्म पुगेन भने पनि जलवायु सङ्कट तीव्रतर हुँदै छ । पश्चिमा देश अथवा उदाउँदा विश्व शक्तिले हाम्रो अस्तित्वको लामो इतिहासमा मानव जातिसामु देखापरेको सबैभन्दा चरम खतराको सामना गर्न पाइला चालेको देखिन्न । जलवायु सङ्कटको खतरा आणविक द्वन्द्वको खतराभन्दा पनि सङ्गीन छ ।
आणविक युद्ध हुनसक्छ वा नहुन पनि सक्छ । तर, जलवायु परिवर्तन निश्चय नै हुँदै छ । यो अनुमानको कुरा होइन । यो परिवर्तन मानव जातिले झेल्न सक्नेछैन । तिनीहरूले यसलाई रोक्नैपर्छ । तर, यसलाई रोक्नको लागि अर्को समाज व्यवस्था वा अर्कै सभ्यताको खाँचो पर्छ । यसको अर्थ हामीले अर्को विश्वयुद्धको सङ्कट टा¥यौँ नै भने पनि हामीले आफूलाई वातावरणीय विनाशबिच पाउने जोखिम छ । उत्तर र दक्षिण तथा पूर्व र पश्चिमबिचको तन्किँदो गतिरोध र द्वन्द्वका कारण वातावरणको विनाश चर्किनेछ । सय वर्षअघि रोजा लक्जेम्बर्गले ‘समाजवाद वा बर्बरता’ भनी उद्घोष गरेकोमा आज हामीले भन्नुपरेको छ :
‘समाजवाद वा विलोपन’
जलवायु परिवर्तनविरुद्ध हाम्रो सङ्घर्षमा हामी समाजवादका लागि लड्दै छौँ । समाजवाद प्राप्तिको हाम्रो सङ्घर्षमा हामी पृथ्वीलाई जोगाउनको निम्ति लड्दै छौँ ।
मानव जातिले भोगिरहेको कुनै पनि विकराल समस्यालाई अब राष्ट्रिय वा क्षेत्रीय तहमा सम्बोधन गर्न सकिन्न । यसकारण, अहिले नयाँ इन्टरनेसनलको टड्कारो खाँचो परेको हो ।
मैले माथि उल्लेख गरेका समस्या र यसैखाले अन्य मुद्दालाई वर्चस्वशाली पश्चिमा शक्तिको विरोधमा उभिएका देशहरू एक्लैले हल गर्न सक्दैनन् । यसै पनि यीमध्ये धेरै देश रुढीवादी वा अनुदारवादी छन् । तिनीहरू पश्चिमाहरूले आफ्नो देश छोडेर गइदिए हुन्थ्यो र आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगरे हुन्थ्यो भन्ने मात्र चाहन्छन् । यो असम्भव कामना हो किनभने पुँजीवादको चरित्र नै साम्राज्यवादी हुन्छ । जसरी सोचे पनि मानव जाति नै ठोक्किन पुगेका यी विशाल चुनौतीका पहाडहरूलाई केही देशकै भरमा छिचोल्न सकिन्न । यसका लागि दुवै उत्तर र दक्षिण गोलाद्र्धका बहुसङ्ख्यक जनताको सचेत परिचालन आवश्यक छ । त्यस्तै, पश्चिमा देशका कामदार जनता र दक्षिणी गोलाद्र्धका उत्पीडित जातिको एकता तथा विश्वभरिका जनताको परिचालन पनि उत्तिकै आवश्यक छ ।
यो एकताको अर्थ सामाजिक–आर्थिक, भूराजनीतिक र पर्यावरणीय समस्याहरूलाई राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापीरूपमा योजनाबद्ध तथा प्रजातान्त्रिक तवरले नियन्त्रित अर्थतन्त्रको दिशामा लगेर एकैबाजि सम्बोधन गर्नु हो । हाम्रो रणनीतिक उद्देश्य यस्तो हुनुपर्छ । आजभोलि पर्यावरणीय समस्यालाई छोडी सामाजिक समस्यालाई मात्र सम्बोधन गर्न, भूराजनीतिक समस्यामात्र छोडी सामाजिक समस्यालाई मात्र सम्बोधन गर्न अथवा सामाजिक समस्या छोडी भूराजनीतिक समस्या हल गर्न सकिन्न । हामीसँग त्यो सहुलियत छैन । विविध कारणले हामीलाई आज पाँचौँ इन्टरनेसनलको आवश्यकता छ । नयाँ समाजवादी अभियानका आधारमा विश्वका विभिन्न भेगलाई गोलबद्ध पार्न पाँचौँ इन्टरनेसनल चाहिन्छ । यस्तो एकताबिना युद्ध अनिवार्य बन्न जानेछ । पुँजीवाद, साम्राज्यवाद, पश्चिमा निरङ्कुशतन्त्र, जलवायु परिवर्तन तथा प्रकृतिको ¥हासविरोधी सङ्घर्षहरूलाई जोडेर हामीले एकसूत्रमा बाँध्नैपर्छ । जस्तो, विभिन्न देशको असमान अवस्थालाई ध्यानै नदिई हामी जीवाश्म इन्धनको प्रयोगलाई एकैबाजि बन्द गर्न सक्दैनौँ । यस्ता धेरै उदाहरण हुनसक्छन् । जेहोस्, उन्नति र योजना निर्माण सँगसँगै जानुपर्छ ।
२० औँ शताब्दीको अनुभव मनन गर्ने हो भने हामीले उत्पादक शक्तिलाई राज्यको स्वामित्वमा ल्याएर मात्र पुग्दैन । हामीले आत्म व्यवस्थापनका विधिहरूको व्यापक प्रयोगबाट सामाजिक स्वामित्व तथा नियन्त्रणको अभ्यास गर्नुपर्छ । समाजवादको अर्थ राजकीय स्वामित्व होइन, बरु सबै तह र तप्काका जनताले सत्ताको अभ्यास गर्नु हो । उत्पादक शक्तिको अविच्छिन्न विकासको यात्राबारे पुनःविचार गर्नु पनि समाजवादको निहितार्थ हो । पाँचौँ इन्टरनेसनलको वैकल्पिक सङ्क्रमणकालीन कार्यक्रम कस्तो हुनुपर्ला भनेर मैले अर्कै लेखमा केही प्रारम्भिक सवाल उठाएको छु ।
(एमआर अनलाइन)
अनुवाद : सम्यक
Leave a Reply