भर्खरै :

कामदारवर्गका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न जोड

कामदारवर्गका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न जोड

भक्तपुर, २४ चैत । प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले पोका पारिएको तयारी खानेकुरा स्वास्थ्यलाई हानिकारक हुने भएकोले नानी–बाबुहरूलाई त्यस्ता खानेकुराबाट टाढा राख्नुपर्ने र यसबारे डाक्टर–स्वास्थ्यकर्मी र अभिभावकहरूबिच छलफल चालु राख्नुपर्ने बताउनुभयो ।
जाँड–रक्सी खानेको आयु छोटो हुनेभएकोले अम्मली पदार्थ सेवन नगर्न उहाँले सचेत गराउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “नयाँ पुस्ता सबै विदेश पठाइए देश के होला ? अहिले नै काठमाडौँका पुराना चोक, बस्तीमा स्थानीय रिक्त भएका छन् ।”
“प्रभात इङ्गलिस सेकेन्डरी स्कूलले कामदार वर्गका छोराछोरीलाई कम शुल्कमा राम्रो शिक्षा दिइरहेको हुँदा संलग्न सबैलाई धन्यवाद दिन चाहन्छु । विद्यार्थीहरूको सानो कक्षादेखि जग बलियो बनाउनु जरूरी छ”, उहाँले भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले प्रभात सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित प्रभात इङ्गलिस सेकेन्डरी स्कूल कामदार जनताको साझा विद्यालय भएको र विद्यालयले कम शुल्कमा गुणस्तरीय शिक्षा दिइरहेको बताउनुभयो ।
१५ वर्षमुनिका विद्यार्थीहरूलाई नेपालभाषा, नेपाली, अङ्ग्रेजीबाहेक अन्य भाषासमेतको तालिम दिनेतर्फ विद्यालयले तयारी गरिरहेको उहाँले जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीको निर्देशनमा कार्यकर्ताहरू ६० वर्षदेखि विद्यालय स्थापना गरी कामदारवर्गको सेवामा लाग्नुभएको हो । सोही सिलसिलामा ४२ वर्ष अगाडि यो विद्यालय स्थापना भएको हो ।”
पोषणविद् डा. अरूणा उप्रेतीले भन्नुभयो, “नेवारको खानेकुरा स्वस्थकर छ । चिसो पेय पदार्थ र पोका पािरएको तयारी खानेकुराले कलेजो, मुटु, मिर्गौलालाई हानी गर्छ । यस्तो पत्रु खानेकुरा केटाकेटीलाई खुवाइए २५–३० वर्षमै मधुमेह र उच्च रक्तचापको बिरामी हुनेछ ।”
इन्जिनियर रामविन्दु श्रेष्ठले किशारोवस्थामा पाएको शिक्षा जीवनको पछिसम्म स्मरणमा रहने धारणा राख्दै श्रमलाई सम्मान गर्ने शिक्षा आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मानिसमा साथअनुसारको संस्कृतिको विकास हुन्छ । खराब सङ्गत भए जीवन बर्बाद हुन्छ ।”
ख्वप अस्पतालका निमित्त निर्देशक डा. मजेशप्रताप मल्लले ख्वप अस्पतालले बीमाका बिरामीलाई सेवा दिएबापतको १६ करोड रूपैयाँ सरकारबाट प्राप्त हुन बाँकी भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरका जनताको मायाले अस्पतालमा विशेषज्ञ डाक्टरहरूको सेवा बढिरहेको छ ।”
डा. विवेक बासुकलाले भन्नुभयो, “प्रभातमा अध्ययन गरेको जगकै कारण हाडजोर्नी चिरफार गर्ने डाक्टर बन्न पाएको छु† यसको निम्ति विद्यालयलाई आभार प्रकट गर्दछु ।”
विद्यालयका प्रिन्सिपल बदनकेशरी प्रजापतिले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिहरू देखाएका थिए ।

One response to “कामदारवर्गका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न जोड”

  1. Ram Bindu Shrestha says:

    Thank you Prabhat English School and Majdoor Dainik

Leave a Reply

Your email address will not be published. Required fields are marked *