गणतान्त्रिक सरकारहरूको सफलता खोइ ?
- बैशाख ११, २०८२
भक्तपुर २४, चैत । चाँगुनारायण नगरपालिका वडा नं ५, छालिङस्थित ‘राहुलगाउँ गुसिटार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति’ को वार्षिक साधारणसभा शनिबार छालिङ वेगविनायक मन्दिर परिसरमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपाली भूमि कालापानीमा आफ्नो सेना राखेर लिम्पियाधुरा, लिपुलेकलगायत नेपालको ६० हजार हेक्टरभन्दा बढी भूमि मिच्ने भारतीय विस्तारवादलाई शासक दलहरूले कोसी, गण्डक, महाकालीलगायतका नदीनाला बुझाएको हुँदा नेपाली जनताले सोको विरोध गर्नु जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।
“चीन र भारतमा जमिन र जनसङ्ख्या धेरै छ । १ अर्ब ४२ करोड जनता भएको भारतमा ३ करोड बसोबास गर्ने सहर बनाउँदा फरक पर्दैन । तर, ३ करोडमात्रै जनसङ्ख्या भएको नेपालको काठमाडौँ उपत्यकामा १ करोड मान्छे थुपार्नु उपयुक्त हुन्न । एकैठाउँमा धेरै मान्छे राख्दा हरियाली घट्छ । मानिसको बस्ती वरिपरि पानी, खेती गर्ने जमिन र रुखबिरुवा पनि हुनुपर्छ । शासक दलहरूको अकर्मन्यताको कारण अहिले काठमाडौँवासीले खाद्यान्न र तरकारी समेत भारतबाट ल्याएर खानुपरेको छ” उहाँले उल्लेख गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, शासक दलहरूले काठमाडौँलाई कङ्क्रिटको जङ्गलमा परिणत गरे । सिमेन्टले ‘रोडन’ भन्ने ग्यास निकाल्छ जसले अक्सिजन खान्छ । यसकारण झ्याल ढोका बन्द भएको कोठामा अक्सिजन पुग्दैन । जनसङ्ख्या बढेपछि धुलो, धुवाँको समस्या पनि बढ्दो छ । धुलो, धुवाँले मानिसलाई दिनको २ बट्टा चुरोट खाए बराबरको असर गर्छ । एक खिल्ली चुरोटले मानिसको ११ मिनेट आयु घटाउँछ । यसकारण, देशको सन्तुलित विकास गर्न सिंहदरवारको सेवा सुविधा गाउँगाउँमा पु¥याउनु पर्छ । जनताले आ–आफ्नो जिल्लामा मात्रै जग्गा किनबेच गरेर बस्न पाउने बन्दोबस्त संविधान संशोधन गरेर लेख्नु जरुरी छ ।”
“नेपालको तराईमा हावा, हुरी, घाम झेलेको हजारौँ वर्ष पुरानो बलिया सालका काठ छन् । शासक दलका नेताहरूले नेपालको सक्कली सालको काठ भारत पठाएर विदेशमा छिटो हुर्काइएका कमसल काठ ल्याउँदै छन् । नेपालको चारकोसे झाडी सखाप पारियो । नेपालको हरियो वन तस्करको धन भइरहेको छ” उहाँले भन्नुभयो ।
“०७३ सालमा वाइडबडी जहाज किन्न कर्मचारी कल्याण कोष र नागरिक लगानी कोषको खर्बौँ रूपैयाँ लगानी गरिएको थियो । वाइडबडीमा सुरुमा ८, १० अर्ब भ्रष्टाचार भएको सार्वजनिक भयो । पछि लेखा समितिले साढे ४ अर्ब भ्रष्टाचार भएको जनायो । अख्तियारले १ अर्ब भ्रष्टाचार भयो भनेर ३२ जना नेपालीलाई मुद्दा हालेको छ । ८ जना विदेशी नागरिक पनि वाइडबडी भ्रष्टाचारमा संलग्न छन् । नेपाली र विदेशी मिलेर देश लुटे ।” सांसद सुवालले चिन्ता व्यक्त गर्नुभयो ।
अतिथि सुवालले एक विदेशीले लेखेको ‘कुकुल्यान्ड’ भन्ने किताबमा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालले अजय सुमार्गीसँग मिलेर एनसेलमा खबौँ भ्रष्टाचार गरेको उल्लेख गर्दै भ्रष्टाचारी कारबाही गरिए सिंहदरबारमा बस्ने कोही पनि नबच्ने बताउनुभयो ।
“नेपालमा राणाले १०४ वर्षसम्म जनतालाई अँध्यारोमा राखे, राणा प्रम चन्द्रशमशेरले त्रिचन्द्र कलेजको जग हाल्दा ‘मैले आफ्नै खुट्टामा बन्चरो हाने’ भनेका थिए । हामीले जनताका छोराछोरीलाई पढाउनुपर्छ भनेर ख्वप कलेज स्थापना ग¥यौँ । आज ख्वप कलेजमा ७७ जिल्लाका विद्यार्थीहरू पढ्दै छन् । हामीले विश्वविद्यालय खोलेर डाक्टर पनि सस्तोमा पढाउँछौँ भन्दा निजी क्षेत्रसँग कमिसन खान पल्केका सरकारहरूले स्वीकृति दिएनन् ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
उहाँले नेपाली युवा बेलायती, अमेरिकी, फ्रान्सेली, रुसी, युक्रेनको सेनामा भर्ती भएर लड्दै र मर्दै गरेको बारे सचेत पार्दै सरकारले नेपाली युवालाई अर्काको देशमा जान नपर्ने गरी यहीँ रोजगारीको बन्दोबस्त गर्नु जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “लोडसेडिङको बेला सर्वसाधारण जनताका छोराछोरीले पढ्नलाई बिजुली पाएनन् तर उद्योगपतिहरूको कारखाना चलाउन सरकारले चौविसै घण्टा बिजुली दियो । आज ती उद्योगपतिहरूले ३० अर्ब रुपैयाँ बिजुलीको महशुल बुझाएका छैनन् । सरकारले सो रकम उठाएर जनतालाई सस्तोमा बिजुली दिनुपर्छ ।”
उहाँले शासक दलहरू जनताप्रति समर्पित रहनु जरुरी रहेको बताउनुभयो । भारतमा आफ्नै बडीगार्डले इन्दिरा गान्धीलाई गोली हानेर मारेको इतिहासबाट शासक दलका नेताहरूले पाठ सिक्नु जरुरी रहेको पनि उहाँले औँल्याउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “रुसमा फेब्रअरी क्रान्तिमा राजालाई निकालेर पुँजीपति सरकारमा गयो । त्यसपछि १९१७ को अक्टोबरमा लेनिनको नेतृत्वमा समाजवादी क्रान्ति भयो । नेपालमा ४६ सालमा राजालाई कमजोर बनाएर शासक दलहरू सरकारमा गएर देश र जनताको पक्षमा ३५ वर्षसम्म केही गरेनन् । शासक दलका नेताहरूले क्रान्ति होइन भ्रष्टाचार गरे । ०७ सालमा भएको क्रान्तिपछि ०१७ सालमा प्रतिगमन भयो, ०४६ सालको परिवर्तनपछि ६१ साल माघ १९ गते ज्ञानेन्द्रले प्रतिगमन गरेजस्तै शासक दलका नेताहरूले देश र जनताको पक्षमा काम नगरे फेरि प्रतिगमन हुनसक्छ । यसकारण, सरकारमा जाने शासक दलहरूलाई जनताले खबरदारी गरिरहनु जरुरी छ ।”
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका उपाध्यक्ष एवम् चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने काममा उपभोक्ता समिति सक्रियताका साथ लागेकोमा धन्यवाद व्यक्त गर्दै बेलाबेलामा जनताको स्वास्थ्य जाँच गर्न स्वास्थ्य शिविरहरू पनि सञ्चालन गर्नु आवश्यक रहेको औँल्याउनुभयो ।
उहाँले बहुविवाह, अनमेल विवाह, बालविवाहजस्ता कुरीतिहरूबाट अझै समाज जकडिएको हुँदा जनता जागरुक हुनु जरुरी रहेको उल्लेख गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा पनि जनता सचेत हुनु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभाका सांसद गीता काफ्लेले नेपाल मजदुर किसान पार्टी संसद्मा भागबन्डा खान संलग्न नभएको उल्लेख गर्दै देश र जनताको पक्षमा कानुन निर्माण गर्न लागिपरेको बताउनुभयो । उहाँले कामदार जनता अगाडि नबढेसम्म देश उँभो नलाग्ने बारे जनता सचेत हुनु जरुरी रहेको बताउनुभयो ।
आयोजक समितिका उपाध्यक्ष मञ्जु तोर्लाङ्गेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा हरिभक्त फोजुले उपभोक्ता समितिको वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो भने गणेशलाल फोजूले पनि बोल्नुभएको थियो । राहुलगाउँ गुसिटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले तेलकोट जङ्गलभित्रबाट मुलाकोट गढीमा स्वच्छ पानी लिफ्ट गरी राहुलगाउँ, गुसीटार, नगरकोटी गाउँ र तामाङगाउँका जनतालाई वितरण गरिरहेको छ ।
Leave a Reply