भर्खरै :

भागबन्डा नमिले ठाकठुक र मिलेपछि थामथुम !

सत्ताको भागबन्डा र आर्थिक लेनदेन नमिलुञ्जेल ठाकठुक र मिलेपछि थामथुम गर्ने शासक र ठुला दलका नेताहरूको चरित्रकला देखेर नेपाली जनता वाक्कदिक्क भएका छन् । देशको विकास गरेर जनताको जीवनस्तर उठाउने, देशलाई आत्मनिर्भर बनाउनेभन्दा हरेक क्षेत्रमा विदेशीको मुख ताक्ने शासकहरूको प्रवृत्तिले गर्दा शासक दलका मन्त्री, सांसद, सरकारी निकाय उच्चपदस्थ व्यक्तिहरू विभिन्न अनियमित काण्डमा मुछिएका छन्; मुछिरहेको समाचार प्रकाशमा आइरहेको छ । ठुला र शासक दलका नेता तथा उच्चपदस्थ व्यक्तिहरू भ्रष्टाचार र अनियमिततामा फसेको घटनाक्रमले तिनीहरू देश र जनताप्रति प्रतिबद्ध नभएको र देश र जनताको सेवामा चासो नभएको थाहा हुन्छ । आयस्रोत बढाएर आत्मनिर्भर बनाउनुभन्दा जसरी भए पनि देशको सम्पत्तिमा रजाइँ गरेर देशलाई खोक्रो बनाउने काम चाल पाइकन या नपाइकन शासकहरूले गरिरहेका छन् । नेता, मन्त्री, सांसद र उच्चपदस्थ व्यक्तिहरूको आय आर्जनमा परिवर्तन गर्न अघि सरेर देश डुबाउने, देश डुबाउन सघाउने ती भ्रष्टमतिका व्यक्तिहरूलाई समाजमा उदाङ्गो पार्नुपर्छ । तिनीहरूको संरक्षण गर्ने दलका नेताहरूको विरोध गर्नुपर्छ ।
देशमा गलत कार्य गरेर बिगार्ने, गलत राजनीति गरेर समाज र जनता भड्काउने, देश र जनताको पक्षमा होइन दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न तँछाडमछाड गर्ने प्रवृत्ति अन्त्य गर्न देशमा स्वच्छ राजनीतिको आवश्यकता छ; सिद्धान्त र विचारको राजनीति आवश्यक छ । सत्ता र शक्तिको लागि जुनसुकै बेला जुनसुकै दलसँग मिल्ने र स्वार्थ पूरा नहुने भएपछि बाझाबाझ गर्ने या छुट्ने राजनीतिक चरित्र बोकेका सत्तासीन दलका नेताहरूले देशको मुहार फेर्दैनन्; देशलाई आत्मनिर्भर बनाउँदैनन् । यही कारण आज देशको राजनीतिमा भाँडभैलो भइरहेको छ । सरकार टिकाउन र फेरि ढाल्न भइरहेको ठुला दलका नेताहरूको भेटघाटले सरकार टिक्ने या नटिक्ने विषयमा शङ्का उब्जाएको छ ।
सत्तामा सामेल हुन पाएपछि एकाएक ठीक हुने र सत्ता बाहिर रहेपछि बेठीक हुने नेताहरूको अस्थिर मन, अस्थिर विचार र अस्थिर अडानले शासकहरूमा विश्वासको सङ्कट देखिएको हो; तिनीहरूको राजनीतिक चरित्रमा दाग लागेको हो । गणतन्त्रलाई संस्थागत गर्दै प्रजातन्त्रलाई जीवनपद्वतिको रूपमा विकास गर्नुको सट्टा प्रजातन्त्र र गणतन्त्रकै बदनाम गर्न प्रजातन्त्रवादी गणतन्त्रवादी र सङ्घीयतावादीहरू लागिरहेका छन् । नकच्चरोलाई लाज हुँदैन भनेझैँ आफ्नो राजनीतिक चरित्र छोडेर इज्जत र प्रतिष्ठामा आघात पु¥याएर राजनीति गर्ने ती शासक र ठुला दलका नेताहरूप्रति जनताले विश्वास गर्ने कुनै आधार देखिएको छैन । दल ठुलो बनाउन एकले अर्काको खुट्टा तान्ने, भड्काउने, लोभलालच देखाउने, झूटो कुरा फलाकेर जनतालाई अन्योल बनाउने काममा शासकहरू लागेका छन् । देश र जनताको सेवा गर्न प्रतिस्पर्धा गर्नुपर्ने शासकहरू भड्काउने र भ्रम फैलाउनेतर्फ लाग्ने नेताहरू कसरी स्वच्छ छविका हुन्छन् ? उनीहरू देश र जनताका सही नेता कसरी हुन्छन् ? अवसरवादी, जालीफटाहा, साम्प्रदायिक भावना फैलाउने सङ्कीर्ण विचारमा सीमित नेताहरूको विचार नै परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।
शासकहरू सत्तामुखी र पैसामुखी राजनीतिमा केन्द्रित भएको कारण सर्वसाधारण नेपाली जनताले मात्र होइन सहयोग गर्ने विदेशी दातृ राष्ट्रहरूले पनि नेपाल सरकारलाई विश्वास गर्न छोडेका छन् । शनिबार प्रकाशित ‘कान्तिपुर’ दैनिकमा ‘बोले जति लगानी किन आउँदैन ?’ भन्ने शीर्षकको समाचार प्रकाशित भयो । समाचारमा पहिलो लगानी सम्मेलन २०१७ मा साढे १४ खर्ब लगानीको आशय व्यक्त गरिएकोमा ३ खर्ब ३५ करोड ४० लाख भित्रिएको उल्लेख छ । दोस्रो लगानी सम्मेलन २०१९ मा १७ खर्ब रूपैयाँ प्रतिबद्धता गरिएकोमा १ अर्ब १८ करोड रूपैयाँ भित्रिएको समाचारमा उल्लेख छ । के यो सरकारले दातृ राष्ट्रहरूलाई विश्वास दिलाउन नसकेको होइन ? यसरी शासक दलका नेताहरूमा देश विदेशबाटै विश्वासको खाडल गहिरिँदै गएको छ । गरेका प्रतिबद्धता लागु नगर्ने, भएको काममा व्यापक चुहावट हुने, विकासभन्दा बाँडीचुँडी खाने, बाँडीचुँडी खान पाए । हजोको शत्रु आज नभई नहुने मित्र हुने घटनाक्रमले पनि शासकहरू जनताको माझमा घृणित बनेका हुन् । यो देशको लागि दुर्भाग्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *